काठमाडौं । पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिका विषयमा आपत्ति जनाएको छ ।
मञ्चले विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको भन्दै मन्त्री गुरुङलाई कारबाही गर्न माग गरेको हो । यस्ता प्रकारका भाषाले पूरै प्रहरी संगठनको मानमर्दन भएको मञ्चले उल्लेख गरेको छ ।
‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञामा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं,’ मञ्चद्वारा जवारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अभिव्यक्ति ‘फिर्ता लिएर’ आईजीपीसँग माफी माग्न पनि मञ्चले मन्त्री गुरुङलाई आग्रह गरेको छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्री गुरुङलाई ‘जिब्रो थुत्नुपर्ने’ शब्द कुन सन्दर्भमा बोलेको भनेर सोधेका थिए । प्रधानमन्त्री ओलीले सोधेको विषय गुरुङ आफैँले सोमबार (हिजो) राष्ट्रिय समाचार समितिको कार्यक्रममा बताएका थिए ।
गएको आइतबार पोखरामा ‘प्रेस कन्फरेन्स’मा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गर्दै आएको प्रसंगमा आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
प्रहरी महानिरीक्षक विरुद्धको उक्त अभिव्यक्तिपछि मन्त्री गुरुङको चर्को आलोचना भइरहेको छ ।