काठमाडौं । माओवादी र कांगे्रसको संयुक्त सरकार भएको बेला करिब करिब टुंगो लागेको नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी) नियुक्ति प्रकृया यो सरकारलाई निल्नु न ओकल्नु भएको छ । एमडी नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा दरखास्त आह्वान खुलाएकोमा १७ जनाले आवेदन दिएर तीन जनाको नाम खामबन्दी भएको अवस्थामा अझै केही समय नियुक्ति नहुने भएको हो ।
तत्कालीत सञ्चार सचिव रामकृष्ण सुवेदी नेतृत्वको सिफारिस समितिले सर्टलिष्टमा तीन जनाको नाम खामबन्दी गरिसकेको छ । एमडी छान्न गठित सिफारिस समितिले डा. विमल आचार्य, अनिलकुमार झा र संगीता पहाडी (अर्याल) को नाम छानेर खामबन्दी गरेको थियो । तर, नयाँ सरकार गठनसँगै विचौलिया र ठेकेदारको चलखेल ह्वात्तै बढेपछि सञ्चार मन्त्रालयले ती नामहरू मन्त्रिपरिषद् बैठकले लैजान सकेको छैन ।
स्रोतका अनुसार नेपाली सेना र टेलिकमको ठेक्कापट्टामा सक्रिय ठेकेदार लोकेन्द्र कार्कीले टेलिकमकै निमित्त प्रवन्ध निर्देशक संगीता पहाडीलाई एमडी बनाउन ठूलो लविङ गरिरहेका छन् । कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका आफ्नै भाइ रहेका लोकेन्द्रले राम्रो चलखेल गरेको स्रोतको दाबी छ ।
ठेकेदार कार्कीले पछिल्लो समय बालुवाटारसम्म सम्बन्ध विस्तार गरेका छन् । उनी सेनाको ठेक्कामा पनि चलखेल गर्ने भएकाले रक्षामन्त्री मानवीर राईलाई बाइपास गरेर बालुवाटार पुग्ने गरेका छन् । त्यस्तै संगीताका श्रीमान कर्णेल विश्वबन्धु पहाडी पनि सेनाको काम भन्दा श्रीमतीलाई एमडी बनाउन राजनीतिक दलका नेताहरुको घर धाइरहेको भएपनि अहिले उनी वालुवाटारमा पनि बेलाबखत झुल्किने गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलदेखि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट विचौलियासँग समेत पहाडी पुग्ने गरेका छन् । अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा उल्लेखित तीन जनाको नाम छनौट गरिएकोमा हालको सरकारले उनीहरूमध्ये कसैलाई पनि नियुक्ति गर्न चाहिरहेको छैन । तीनै जनाले तत्कालीन प्रधानमन्त्री प्रचण्डकी पुत्री गंगा दाहालदेखि सञ्चारमन्त्री रेखा शर्मासम्म चर्को लविङ गरि अन्य १४ जनालाई प्रतिस्पर्धामै आउन दिएका थिएनन् ।
विमल आचार्य रेखा शर्माका साथी हुन् भने अनिल झा र तत्कालीन सञ्चारसचिव रामकृष्ण सुवेदीको राम्रो सम्बन्ध रहेको छ । यो विषयमा पनि मन्त्रिपरिषद बैठकमा छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार नयाँ प्रकृयामा गएर आवेदन माग गरी एमडी छनोट गर्न मिल्ने कि नमिल्ने भन्ने बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ ।
पूर्व एमडी डिल्ली अधिकारीले पनि चलखेल गरेका कारण अघिल्लो निर्णय उल्टाउन सकिने गरी यो सरकार अघि बढेको स्रोतको दाबी छ । महान्यायाधिवक्ताको कार्यालयले जवाफ पठाएपछि मात्रै एमडी नियुक्ति प्रकृया शुरु हुने मन्त्रालय स्रोतको भनाइ छ ।
स्रोतका अनुसार नयाँ सरकार गठनपछि ठेकेदार कार्कीमार्फत संगीताका श्रीमान विश्वबन्धुले महान्यायाधिवक्ता रमेश वडालसँग भेटसमेत गरिसकेका छन् । महान्यायाधिवक्ता वडाल संगीताप्रति सकारात्मक रहेका कारण नयाँ प्रकृयामा नगई पुरानै प्रकृयाबाटै एमडी नियुक्ति गर्नुपर्ने राय पठाउने सम्भावना रहेको स्रोतको दाबी छ ।