बुटवल । परिवर्तित राजनीतिक परिस्थितिमा पनि लोकतान्त्रिक शासकहरूको व्यवहार परिवर्तन नहुँदा आम नागरिकमा निराशा र आक्रोश बढ्दो छ । राज्य सञ्चालनमा हालीमुहाली गर्दै आएका राजनीतिक नेतृत्वको सोच र शैली पञ्चायतकालीन राजा महाराजभन्दा कम छैन ।
जसका कारण राजनीतिक परिर्वनको अनुभूति नागरिकले गर्न पाएका छैनन् । उल्टै पाइला पाइलामा सास्ती भोग्नु परेको छ । गत मंगलबार भगवती जात्रा हेर्न पाल्पा आएका नागरिकले राष्ट्रपतिका कारण अनाहकमा सास्ती भोग्नुप¥यो । राष्ट्रपतिको सवारीका लागि जात्रा हेर्न आएका सर्वसाधारणले दुःख पाए । यस्तो दुःख त राजा आउँदा पनि पाएका थिएनन् ।
देश बनाउन नेतामा नैतिकता, साहस र इमान्दारीता चाहिन्छ । तर, हाम्रा ठूला दलका जिम्मेवार नेताहरूमा समेत त्यो छनक देखिएन । संघीय लोकतान्त्रिक गणतन्त्र आएको धेरै समय बितिसक्यो । तर, देश र जनताको अवस्था भने दिन प्रतिदिन झन जटील बन्दै गएको छ । यथार्थमा नेतृत्वमा पुगेका प्राय सबै दलका नेता शासन सत्ता चलाउन असफल भएका कारण युवामा जनआक्रोश बढ्दो छ ।
मुलुकलाई सिंगापुर र स्वीटजरल्याण्ड बनाउँछु भन्ने नेताहरू जनताका नजरबाट हरेक सवालमा गिरेका छन् । उनीहरूबाट भ्रष्टाचार, बेथितिबाहेक देश सुधार्ने काम भएको देखिँदैन । जसका कारण नेताहरु बदनाम भएका छन् ।
टुँडिखेलमा हुटिङ
गतहप्ता काठमाडौंको टुँडिखेलमा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू लक्षित नाराबाजी भयो । टँुडिखेलमा गौरा पर्वको अवसरमा गत भदौ १० गते कार्यक्रममा सहभागी यूवा समूहले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्ध नाराबाजी गरेका थिए ।
यस्तो कार्य गर्नु शोभनीय होइन । तर, यसलाई गहिरो गरी विश्लेषण गर्ने हो भने जनआक्रोशले परिर्वतन खोजेको संकेत वा नेताहरू राम्रैगरी सच्चिन र सुध्र्रिन पर्ने संकेतका रुपमा लिन सकिन्छ ।
यो घटनापछि नेताहरूमा त्रास बढेकोले सुरक्षा सतर्कता पनि बढाइएको छ । जसका कारण नाराबाजी गर्ने र फेसबुकमा सामान्य स्टाटस लेखेकै बहानामा युवाहरूलाई नियन्त्रण गर्ने, छोड्ने प्रवृत्ति पनि देखापरेको छ । असन्तुष्ट युवाहरूले माइतीघरमा दिनहुँ नाराबाजी जारी राखेका छन् ।
जनताले परिणाममुखी काम र डेलिभरी खोजिरहेका छन् । यदि, अब सरकार चलाउनेहरूले राम्रो गरी परिणामुखी काम गर्न सकेनन् भने ठूला भीडमा नाराबाजी मात्र होइन, मञ्चमा नै पुग्न सक्ने संकेत देखिन्छ । शीर्ष नेतृत्वको कार्यशैली जनमुखी नहँुदा युवामा आक्रोस बढ्दो छ । मुलुकमा कतिपय नेता र कर्मचारीमा ‘मै खाउँ, मै लगाउँ’ भन्ने प्रवृत्ति हुर्केको छ । विगतमा पनि नेताले मञ्चमै थप्पड नखाएका भने होइनन् ।
शीर्ष नेतृत्व जनताका समस्याप्रति बेखवर जस्तै छ । सदनमा पनि नेता मन्त्रीका आ–आफ्नै समस्या, भ्रष्टाचार, बेथिति ढाकछोपका छलफल, आरोप प्रत्यारोप बढी हुने गरेको छ । आम नागरिकको समस्याप्रति खासै चासो रहेको देखिदैन । जताततै अस्तब्यस्त, अराजकता ब्याप्त छ । त्यसकारण जनतामा निरासा झनै चुलिदै गएको मात्र छैन, कतिपय युवाहरू भ्रष्टाचारमा आरोपी र बदनाम नेताहरूलाई आक्रमण गर्ने मुडमा देखिन्छन् ।
पाल्पामा सास्ती
पछिल्लो समय ठूला दलका भातृ संघसस्थाको उपस्थिति कहिकतै भेटिदैन । जनताले देखिने र भेटिने विकास र राहत पनि पाउन नसकेका कारण टुँडिखेलको नाराबाजीपछि सरकारले शीर्ष नेतृत्वलाई सुरक्षा सतर्कता बढाएको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र केही अन्य शीर्ष नेताहरूको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो ।
यसैबीच भदौ ११ गते पाल्पा तानसेनको ऐतिहासिक भगवती जात्राको २०५औँ सस्करणको अवलोकन तथा पूजामा सरिक हुन पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षा राजा महाराजाको भन्दा पनि कडा थियो ।
जसका कारण टाढा–टाढाबाट भगवती जात्रा हेर्न पुगेका श्रद्धालु भक्तजन तानसेनभन्दा दुई किलोमिटर टाढा दक्षिण पूर्वमा हुलाङदी, बतासेडाँडा, पूर्वतिर गैरागाँउ, भुसलडाँडासम्म सवारी साधन रोकेर बृद्धबृद्धा, बालक र आम नागरिक पैदलै भगवती जात्रा अवलोकन गर्न पुगे ।
हिजो राणाकाल र पञ्चायत कालमा समेत यस्तो सास्ती थिएन भन्दै स्थानीयले आक्रोश पोखेका थिए । कतिले त भन्दै थिए, हिजो राजा आउदा पनि यस्तो हिडाइको दुःख ब्यहोर्न परेन ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राष्ट्रपतिको भ्रमणलाई सरल सहज गराउन सकेमात्र आम नागरिकको मन जित्न सकिन्छ । राजतन्त्र त्यसै फालिएको होइन, यस्तै हर्कतले गर्दा हो ।
राष्ट्रपतिको भ्रमणलाई सहज रुपमा सवारी गराउने व्यवस्था गर्न सकिन्थ्यो । तर, त्यसो हुन नसक्दा आम नागरिकमा राष्ट्रपतिप्रति नकारात्मक बिषयले बढी चर्चा पायो ।
हुन त काठमाडौँ टुँडिखेलको घटनाले गर्दा पाल्पामा राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा सतर्कता अपनाउनु परेको होला । तर, यो परिपाटी ठिक होइन् । बरु, नागरिकप्रतिको ज्यादतीले दुर्घटना निम्त्याउन सक्छ । जनताको बलिदानबाट स्थापित गणतन्त्रमा तिनै जनताले दुःख पाउनु राम्रो कुरा होइन ।
सायद, राष्ट्रप्रमुखले भगवती जात्रा अवलोकन गरेको यो पहिलो घटना होला । यसमा पाल्पालीहरूले गर्व गरेका छन् । तर, सर्वसाधारण जनतालाई दुःख दिइएकोले राष्ट्रपति आएकोमा खुसीभन्दा बढी दुःखी बनेका छन् पाल्पालीहरू ।
नेताहरुको कार्यशैलीका कारण नेपाली राजनीतिप्रति नागरिकको बुझाइ नकरात्मक बन्दै गएको छ । दलहरु प्रति बितृष्णा बढ्दो छ । तसर्थ उनीहरु उच्च नैतिक बलका साथ सच्चिन सकेनन् भने टँुडिखेलमा नाराबाजी गर्ने युवाको भीड मञ्च–मञ्च र सिहंदरबारभित्रसम्म नपुग्ला, बंगलादेशको जस्तै अवस्था नआउला भन्न सकिँदैन ।
जनता नै अजेय शक्ति हुन् भन्ने कुराको पछिल्लो उदाहरण बंगलादेशको घटना हो । आजभन्दा करिब १७ वर्ष अगाडि अर्थात ०६२÷०६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य पनि यिनै नेपाली जनताले गरेका थिए । तर, गणतन्त्रको प्रतिफल आउँदा लाखौँ युवा विदेशिन बाध्य छन् भने जो नेपालमै छन्, तिनीहरूले नेताहरूलाई सच्चिन बारम्बार आग्रह गरिरहेका छन् ।
लोकतन्त्रमा शासकको विरोध गर्न पाइन्छ । संविधानले नै शान्तिपूर्ण विरोध र भेलालाई मान्यता दिएको छ । तर, शासकहरू जनतासँग डराएकाले जनतामाझ जाँदा ठूलो संख्यामा सुुरक्षाकर्मी लिएर जाने गरेका छन् । जनताका प्रतिनिधिको सुरक्षा जनताले गर्ने हो, सुरक्षाकर्मीले होइन । त्यो वातावरण बनाउन नसक्दा कुनै दिन देशै छाडेर भाग्नुपर्ने अवस्था पनि आउन सक्छ ।