एजेन्सी । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मङ्गलबार जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताएका छन् ।
उनका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने मनिलाको पूर्वी प्रान्तमा अझै चार जना बेपत्ता छन् ।
उष्णकटिबन्धीय आँधीको प्रभावका कारण भएका डुबान, पहिरो, बिजुलीको करेन्ट लगायतका दुर्घटनामा परी अधिकाशं महिला तथा बालबालीकासहित पीडितहरूको मृत्यु भएको जनाइएको छ ।
साता व्यापीरुपमा कायम रहेको यागी आँधी र मनसुनले निम्त्याएको भारी वर्षाले फिलिपिन्सको राजधानी मनिला र द्वीपसमूहका अन्य भागमा आएको पहिरोले घर तथा गाउँहरू प्रभावित भएका छन् ।
फिलिपिन्सको मौसम विभागका अनुसार यागी मङ्गलबार उत्तरी फिलिपिन्सको इलोकोस नोर्टे प्रान्तको पश्चिमतर्फ २५ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको छ भने ८५ किलोमिटर प्रति घण्टा हावा तथा १०५ किलोमिटर प्रति घण्टाको गतिमा आँधीबेहरी बहेको छ ।
यागीले बुधबार फिलिपिन्स छोड्ने , पूर्वानुमान अवधिभर तीव्र हुने र आगामी १२ घण्टामा गम्भीर उष्णकटिबन्धीय आँधीबेहरी तथा बिहीबार टाइफुनको श्रेणीमा पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।