Logo
Logo

जबजको जपले मात्रै समाजवादी क्रान्ति सम्भव छैन


2.3k
Shares


देश बनाउने भन्ने कुरा त्यति सजिलो छैन । एकै रात एकै वर्षमा देश बन्ने कुरा पनि होइन । देश बनाउन ‘भिजन’ चाहिन्छ, त्यो भन्दा बढी नागरिकको विश्वास । २००७ सालदेखि अहिलेसम्म देश बनाउनकै लागि नागरिकले संघर्ष गरे, बलिदानी दिए । आन्दोलनकै बलमा धेरै राजनीतिक परिवर्तन भए ।

देश बनाउँछु भन्ने धेरै नेता जन्मिए । आखिर देश किन बनेन त, यस प्रश्नको उत्तर हाम्रा नेताहरूले आफूभित्रै खोज्नुपर्छ । २००७ सालदेखि अहिलेसम्म ७० वर्षमा धेरै नेता जन्मिए । देश बनाउँछु भन्नेहरूले पटक पटक शासन गरे । सत्तरी वर्ष अगाडिको हाम्रो छिमेकी चीन, भारत कस्तो थियो, अहिले कस्तो भयो । सिंगापुर, मलेसिया, दक्षिण कोरियालगायतका देशको कुरै छाडौँ । ती देश नेपालभन्दा धेरै पिछडिएका थिए, आज ती देश आर्थिक समृद्धिको बाटोमा अग्रसर भइसके ।

हामी भने झन्झन् पछाडि पर्दै गएका छौँ । जननेता मदन भण्डारी भन्ने गर्थे– ‘कुराले चिउरा भिज्दैन’ तर तिनका उत्तराधिकारी पटक पटक प्रधानमन्त्री भए, आकाश पाताल जोड्ने भाषण गरे, उनको भाषण सुन्दा देश त बनिसक्यो जस्तो लाग्छ, तर नागरिकको अवस्था हेर्दा देश त बनेकै रहेनछ । बरु नेता बने, तिनका बिचौलिया कार्यकर्ता बने । तिनीहरूले नै देश बरबाद बनाए । त्यसविरुद्ध नयाँ पुस्ता फेरि उठ्दैछन्, जाग्दैछन् ।

विश्व इतिहास नेताहरूलाई मात्र थाहा भएको कुरा होइन, त्यो भन्दा बढी जानकार २१औँ शताब्दीका युवाहरू छन् । हाम्रा नेताहरू मार्क्स, एंगेल्स, लेनिन, माओवादको चर्चा खुबै गर्छन्, तर ती महान् व्यक्तिहरू आज पनि इतिहासमा किन पूजनीय छन् भन्ने कुरा हाम्रा नेताहरूले मनन गरेर पनि तिनको आचरण र विचार अनुसरण गर्न सकेका छैनन् ।

आफूलाई महान् मार्क्सवादी भन्ने तर व्यवहारमा चरम अवसरवादी भएकै कारण नेपालमा मार्क्सवाद असफल भएको हो । एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीले मार्क्सवादको सिर्जनात्मक प्रयोग भनेर जनताको बहुदलीय जनवाद अर्थात् जबज प्रतिपादन गरे ।

लोकतान्त्रिक अभ्यासबाट पनि कम्युनिस्टहरू सत्तामा पुग्छन् भन्ने उनको सोच थियो । उनको सोचअनुसार एमाले पटक पटक सत्तामा त पुग्यो, तर जबजको मर्म बुझ्न सकेन । जबजलाई केवल सत्तामा पुग्ने भर्याङ मात्र बनाइयो ।

पाँचौँ महाधिवेशनदेखि १०औँ महाधिवेशनसम्म प्रमुख शत्रु भनिएका नेपाली कांग्रेसको भर्याङबाट एमाले सत्तामा त उक्लिएको छ, तर कताबाट हामफाल्ने हो केही थाहा छैन ।

जबजको उद्देश्य वर्गीय शत्रुसँग गठबन्धन गरेर भए पनि सत्तामा पुग्ने र नांगिएर झ्यालबाट हामफाल्ने भन्ने पक्कै पनि होइन होला । तर, विचारमा स्खलित भएपछि जबजको नाममा जे पनि स्वीकार्य हुँदो रहेछ । यो नै विसर्जनवादको यात्रा हो । यो यात्रालाई नरोक्ने हो भने ‘जबज’को जप गरेर मात्रै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिँदैन ।

समाजवादी क्रान्ति सफल पार्नका लागि प्रधान शुत्रका विरुद्ध मोर्चाबन्दी नगरेसम्म गन्तव्यमा पुग्न सकिँदैन । ‘जबज’ एउटा विचार हो । त्यो विचारलाई फुल्ने वातावरण बनाउन पार्टीभित्र झांगिएको चरम अवसरवादलाई उन्मूलन गर्नै पर्छ । भुत्ते बन्दै गएको कार्यकर्ता पङ्क्तिलाई वैचारिक संघर्षमा ढाल्नैपर्छ । सरकारमा कति पटक पुग्यो, कति पटक प्रधानमन्त्री बन्यो भन्ने कुरा कम्युनिष्ट आन्दोलनमा गौण कुरा हो । मुख्य कुरा त सरकारमा पुगेर आम जनताको पक्षमा के काम ग¥यो भन्ने नै हो ।

२०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा आम सचेत नागरिकमा एकखालको आशा पलाएको थियो । आम नागरिकले यो गठबन्धनलाई अनुमोदन गरेर दुईतिहाइ मत पनि दिएका थिए । वास्तवमा भन्ने हो भने जबजको राजनीतिक र आर्थिक कार्यक्रम लागू गर्ने त्यो स्वर्णिम अवसर थियो । दुर्भाग्य, विदेशीको षड्यन्त्रमा त्यो गठबन्धन मात्र टुटेन, एमाले र्नै विभाजन हुन पुग्यो ।

हुँदाहुँदा एमालेका लागि माओवादी र एकीकृत समाजवादी आज प्रधान शत्रु बनेको छ, भने नेपाली कांग्रेस मित्रशक्ति । सैद्धान्तिक र वैचारिक रुपमा यो कुरा नै गलत हो । यसको फैसला नहुँदासम्म बाटो बिराएको नेपाली कम्युनिष्ट आन्दोलन ठाउँमा फर्किने छाँटकाँट छैन । मार्क्सवादको कुरा गरेर जबजको माला लगाएर जनतालाई कति ढाँट्ने ?

प्रतिक्रिया दिनुहोस्