गत असारमा एकीकृत समाजवादीले १०औँ महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि भर्खरै निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरेको छ । दुई चरणमा मनोनीत गरिएका केन्द्रीय सदस्यलाई मतदाता बनाएर पदाधिकारी निर्वाचन गराएपछि महाधिवेशन हलको म्यान्डेट विपरीत भएको भन्दै विरोध पनि भएको छ । यद्यपि, सहमति जुट्न नसकेपछि प्रतिस्पर्धाबाट पदाधिकारी चयन गर्नु उत्तम उपाय भएको नेतृत्वले दाबी गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालकै सचिवालयबाट मतदानको बेला आचारसंहिता विपरीत ‘चिर्कटो’ बाँडेर निर्वाचन प्रभावित गरेको आरोप पनि केन्द्रीय सदस्यहरूले लगाएका छन् । अध्यक्ष नेपालले केन्द्रीय समिति बैठकमै उक्त प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्दा केन्द्रीय कमिटी बैठकले महाधिवेशनकै झल्को दिएको थियो ।
निर्वाचित नयाँ नेतृत्वको आगामी रणनीति, पार्टीभित्रको असन्तुष्टि, अन्य कम्युनिष्ट पार्टीसँगको एकता, सरकारको कार्यशैली र भविष्यबारे एकीकृत समाजवादीका नवनिर्वाचित उपमहासचिव एवं संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश–
एकीकृत समाजवादीको १०औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीलाई कसरी अगाडि बढाउँछ ?
हामीले १०औँ महाधिवेशनबाट नीति र विचारमा एकरूपता कायम गरेका छौँ । नेपाली विशेषताको समाजवादी मोडल कस्तो हुने, कुन–कुन क्षेत्रमा के गर्ने भन्ने स्पष्ट दृष्टिकोण बनाउँछौँ । त्यसलाई छलफलका लागि देशभरका कार्यकर्तामाझ लान्छौँ । र, ठोस, स्पष्ट दृष्टिकोण बनाउँछौँ । दोस्रो, संगठन निर्माणमा हामी केन्द्रित हुने छौँ । ०८४ को निर्वाचनमा हामी एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्छौँ भन्ने दृष्टिकोणसहित वडा तहसम्मै हामी संगठन निर्माण गर्ने छौँ । प्रदेश र जिल्ला अधिवेशनको कामसमेत हामी गर्ने छौँ । महाधिवेशनबाट पारित भएका राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रमलगायत सबै दस्ताबेज र पार्टीका निर्णयहरू जनतामाझ लिएर जाने छौँ । राष्ट्रिय मुद्दाका साथै जनताका एजेन्डा सशक्त रुपमा उठान गरेर जाने छौँ । स्थानीय स्तरमा देखिएका समस्यालाई पनि हामी गम्भीरतापूर्वक लिएर समाधानको बाटोमा अघि बढ्छौँ । संसदमा पनि राष्ट्रिय मुद्दा, जनताका एजेन्डा र सरकारका गलत काम र निर्णयविरुद्ध सशक्त आवाज उठाउँछौँ ।
पार्टीभित्र थुप्रै खालका असन्तुष्टि देखिएका छन् । ती असन्तुष्टिलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
स्वाभाविक रुपमा असन्तुष्टि देखिएको छ । ती असन्तुष्टिलाई सम्बोधन गर्नका लागि सातै प्रदेशमा छुट्टाछुट्टै संयन्त्र बनाइएको छ । कोशी प्रदेशमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेस प्रदेशमा उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमती प्रदेशमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेशमा उपमहासचिव मेटमणि चौधरी, कर्णाली प्रदेशमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भानुभक्त जोशीलाई संयोजनको जिम्मेवारी दिइएको छ । हामी असन्तुष्टिलाई सम्बोधन गर्ने काम गर्छौँ । हामीले आयोगहरू गठनको तयारी पनि गरिरहेका छौँ । केन्द्रीय कमिटीमा नसमेटिनुभएका पूर्व केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यमा आकांक्षा राख्नुभएका असन्तुष्टि कमरेडहरूलाई आयोगमा समेट्ने तयारी छ । केन्द्रीय निकाय र विभागमा पनि नेताहरूलाई समेट्ने काम हुन्छ । तात्तालो भएका कारण विवाद छताछुल्ल देखिएको छ । केही दिनभित्र हामीले आयोग र विभाग बनाइसकेपछि एक खालको सम्बोधन हुन्छ । त्यसपछि प्रदेश र जिल्ला अधिवेशनमा गएपछि पार्टीले रफ्तार लिन्छ ।
शीर्ष नेताहरूले मनोनीत गरेका केन्द्रीय सदस्यबाट पदाधिकारी निर्वाचित गराउँदा महाधिवेशनकै अवमूल्यन भएन ?
महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवलाई केन्द्रीय कमिटीलाई पूर्णता दिने अधिकार दिएको थियो । उहाँहरूले मापदण्डविना केन्द्रीय कमिटीमा ल्याउनुभएको होइन । मधेसी, जनजाति, थारु, मुस्लिमलगायत सबै क्लस्टरबाट समावेशीका साथै २० प्रतिशत युवा, ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराएका छौँ । निश्चित मापदण्ड, निश्चित आधार, निश्चित योग्यताका आधारमा केन्द्रीय सदस्य चयन गरिएको छ । हामीले सकेसम्म सर्वसम्मत ग¥यौँ । अध्यक्ष, सम्मानित नेता, महासचिव, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्षमा सहमति भयो । अन्य पदमा आकांक्षी धेरै हुँदा सहमति हुन नसकेपछि केन्द्रीय सदस्यले स्वविवेक प्रयोग गरी पदाधिकारी निर्वाचित भएको हो ।
प्यानल र ‘चिर्कटो’ वितरणले गुट–उपगुटलाई प्रश्रय दिँदैन ?
जुनसुकै पार्टीमा स्वार्थ समूह हुन्छन् । स्वार्थ समूहका साथीहरूले कुनैमा कसको, कुनैमा कसको नाम राखेर बाँड्नुभयो । चिटमा नाम राखिएका कमरेडहरू पनि हार्नुभएको छ । नाम नभएको कमरेडहरू पनि जित्नुभएको छ । त्यो चिटले खास अर्थ राखेको छैन । निर्वाचनमा सामान्य चिट बनाउने र भोट माग्ने काम सामान्य नै हो । भोट दिनुस् भनेर अनुरोध गर्ने कुरा ठूलो होइन । तर, नेतृत्वबाटै चिट बाँड्ने काम भयो भन्ने कुरा गलत हो । न अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल वा महासचिव घनश्याम भुसाल कसैबाट पनि चिट बाँड्ने काम भएको छैन ।
निर्वाचन आयोगका प्रमुख माधव पौडेलले नै पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि भएको त स्विकार्नुभयो नि ?
कन्फ्लिक्ट उत्पन्न गराउने हिसाबले केही मानिसले भए÷नभएको विषय उठाउन खोजेका छन् । चिर्कटो बाँडेको हल्ला गराइदिने, असन्तुष्टि बढेको हल्ला गराइदिने काम गलत मानसिकता भएकाहरूले गर्न सक्छन् । नेतृत्वबाट त्यस्तो भएको छैन ।
‘चिर्कटो’ प्रकरणको छानबिन गर्ने निर्णय भएको हो ?
छानबिन गर्ने भनेरै निर्णय त भएको छैन । केन्द्रीय कमिटी बैठकमा अध्यक्षले यस विषयमा ध्यान आकर्षित भएको छ भनेर बोल्नुभएको चाहिँ हो । स्थायी कमिटी बैठकमा पनि सामान्य कुरा उठेको थियो । अध्यक्षले रुसबाट फर्केपछि उजुरी हेरौँला भन्नुभएको छ । गलत मानिसलाई नियमन गर्ने कुरा भएको छ ।
रामकुमार झाँक्रीजस्तो ‘पब्लिक फिगर’लाई एकीकृत समाजवादीमा हराउने काम भयो किन ?
सुझबुझपूर्ण निर्णय गर्न सक्ने केन्द्रीय सदस्यले पदाधिकारी र पोलिटब्युरोको निर्वाचनमा मतदान गर्नुभएको हो । यो पार्टीलाई सशक्त बनाउन खटिएका नेताहरूले मतदान गर्नुभएको छ । उहाँहरूले सोचविचार गरेरै निर्णय लिनुभएको हो । कहिले यो पार्टी बन्दैन भन्ने, कहिले खरानी पानी भन्ने, कहिले किन यो पसल थापेको भन्ने, कहिले के भन्ने गरेपछि केन्द्रीय सदस्यहरूलाई मन पर्ने कुरा भएन । आफ्नो पार्टीलाई गाली गर्ने अनि अरू पार्टीका नेतालाई राम्रो भनेपछि समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले चुनाव जिताइदिँदैनन् । केन्द्रीय सदस्यले पार्टीलाई बुस्टर गर्ने खालको पदाधिकारी खोज्छन्, त्यही क्रममा जयन्तीदेवी राईलाई रोजेका हुन भन्ने बुझ्न गाह्रो छैन । रामकुमारी आफ्नै कारणले पदाधिकारीमा हार्नुभएको छ । पोलिटब्युरोमा त उहाँ जित्नुभएको छ । जयन्ती राई पनि ५५ सालकै जिल्ला विकास समिति भोजपुरको उपसभापति भएको नेता हो । जुन बेला जिल्ला विकास समिति कार्यकारिणी थियो । कम्युनिष्ट आन्दोलनमा जयन्ती राईको ठूलो योगदान छ । उहाँ हराउनुपर्ने नेता होइन भन्ने बुझेरै केन्द्रीय सदस्यहरूले पपुलर मतले जिताउनुभएको हो । मतदाताको अधिकारलाई हामीले सम्मान गर्नुपर्छ ।
अब पार्टीमा गुट, उपगुट चाहिँ धेरै बन्ने भए ?
पदाधिकारी निर्वाचनमा गुट, उपगुटका कुनै गन्ध आएनन् । प्यानलबाजी गरेर खडा भएको भए अहिलेको हिसाबले परिणाम आउँदैन थियो । त्यसकारण पार्टीमा गुटबन्दी हुन्छ कि भन्ने आशंका गर्नुपर्दैन । पार्टी एकढिक्का भएर आफ्नो मिसनमा अगाडि बढ्छ ।
जनसङ्गठनहरूले पनि प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । नयाँ नेतृत्व आएपछि जनसङ्गठनहरू अब सक्रिय हुन्छन् ?
अध्यक्ष कमरेड रुसबाट फर्केपछि स्थायी कमिटी बैठकमा केन्द्र, प्रदेश, स्थानीय तहदेखि जनसङ्गठनसम्मका समस्या, सम्भावना र रणनीतिबारे छलफल गरेर ठोस निष्कर्ष निकाल्छौँ । त्यो निष्कर्षलाई कडाइका साथ कार्यान्वयन गराउने छौँ ।
एकीकृत समाजवादीले अन्य कम्युनिष्ट पार्टीसँग एकताको कुरालाई इन्कार पनि गरेन, एकताको ठोस प्रस्ताव पनि ल्याएन किन ?
पार्टी एकता अहिले कोहीसँग पनि हुँदैन । स्थानीय तहको उपनिर्वाचनमा पनि हामी एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छौँ । फेरि पनि पार्टी एकता र विभाजनको कुरा त चलिनै रहन्छ । भोलिका दिनमा हामीले समाजवादी मोर्चालाई सक्रिय बनाउने कुरा गरेका छौँ । मोर्चामार्फत सहकार्य गर्दै जाने क्रममा भविष्यमा एकता हुन पनि सक्छ ।
सत्ताको भ¥याङ मात्रै बनेको समाजवादी मोर्चाको औचित्य अझै छ र ?
विगतमा पक्कै केही कमजोरी भएकै हुन् । कम्युनिष्ट पार्टीले विगतबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । अहिले मोर्चाले जनतामा जाने कार्यक्रम तय गर्दै छ । कार्यदलले योजना र कार्यक्रम तयार पारेपछि शीर्ष तहमा छलफल गरेर सार्वजनिक गर्छौँ । साझा कार्यक्रमका साथ मोर्चाका आबद्ध दलहरू जनतामा जान्छौँ ।
मोर्चामार्फत जनतामा जाने कि पार्टीको कार्यक्रम लिएर जनतामा जाने भन्ने होला नि ?
मोर्चामार्फत पनि र पार्टीगत रुपमा पनि हामी जनतामा जान्छौँ । मोर्चाको प्रयास यसअघि पनि धेरै पटक भएको पाइन्छ । मोर्चा छदै छ भनेर पार्टी गतिविधि नगरी हामी बस्दैनौँ । पार्टीले एक्लै गर्ने कार्यक्रम र मोर्चामार्फत संयुक्त रुपमा गर्ने कार्यक्रम फरक हुन् । हामी सचेत रुपमा अगाडि बढ्छौँ ।
प्रसङ्ग बदलौँ, सरकारको गतिविधिलाई एकीकृत समाजवादीले कसरी हेर्छ ?
यो सरकार राम्रो काम गर्न भनेर बनेकै होइन । अनेकौँ काण्डलाई छोप्नका लागि रातारात बनेको सरकार हो यो । हिजोको दिनमा नराम्रो गरेको कामलाई छोप्नका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएका हुन् । यसको गतिविधि खराब नै हुन्छ । त्यसकारण यो सरकारले राम्रो गर्ला, राम्रो होला, सुशासन देला भनेर आममानिसले कल्पना नै गरेका छैनन् । सरकारको डेढ महिनाको गतिविधिले पनि यो सरकारको भविष्य बताउँछ ।
सरकारले नराम्रो काम गर्दा खबरदारी गर्ने, जनताको आवाज बुलन्द गर्ने काम प्रतिपक्ष दलको हो । तर, प्रतिपक्ष आवाज पनि कमजोर भएको छ नि ?
सरकारका गलत कामको हामीले खबरदारी गरिनै रहेका छौँ । सामाजिक विषय, जनताका समस्या पनि उठाइरहेकै छौँ । तर, त्यसको रफ्तार पक्कै बढाउनुपर्ने छ । हाम्रो प्रतिपक्षी भूमिका प्रभावकारी बनाउने छलफल भइरहेको छ ।
जनता सडकमा उत्रिँदासमेत प्रतिपक्ष दल निरीह देखिनुको कारण के हो ?
हाम्रो महाधिवेशन भर्खरै सम्पन्न भयो । हामी रणनीति तयार गर्दै छौँ । संसदमा तपाईंहरूले हाम्रो भूमिका सशक्त देख्नुहुनेछ । ईष्युहरूको लिस्ट बनाएरै हामी अगाडि बढ्ने छौँ । सरकारले कुन पुरानो काण्ड लुकाउन खोज्यो, कुन नयाँ काण्ड थपियो भन्ने विषय उजागर गर्दै जाने छौँ । यद्यपि, संसद्को अधिवेशन अन्त्यको कुरा भइरहेको छ । संसदमा मात्रै होइन, सडकमा पनि हामी सशक्त उपस्थिति देखाउने छौँ ।
कांग्रेस एमाले सत्ता गठबन्धनको आयु चाहिँ कति होला ?
काण्ड लुकाउनका लागि बनेको गठबन्धन भएकाले यसको आयु लामो हुने कुरै भएन । जबसम्म नक्कली भुटानी शरणार्थी प्रकरण राफसाफ हुँदैन, त्यतिबेलासम्म यो गठबन्धन रहने नै भयो । जब राफसाफ हुन्छ, आफ्ना हिसाबकिताब मिलान गर्छन् त्यसपछि गठबन्धन भत्किन्छ । फेरि अर्को परिस्थिति बन्छ । अहिले सत्तामा भएका प्रतिपक्षमा र प्रतिपक्षमा भएका सत्तामा पुग्छन् ।
प्रधानमन्त्री ओलीले त कांग्रेस–एमाले गठबन्धन ०८४ सम्मै जान्छ । प्रधानमन्त्रीमा आलोपालो सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमै सत्ता छाड्नु भन्दै आउनुभएको छ त ?
प्रधानमन्त्री ओली एकथोक भन्छन्, अर्कोथोक गर्छन् । ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ बताएको होइन ? प्रचण्डलाई पनि ०८४ सम्मै सत्तासमिकरण हुन्छ, त्यसपछि पनि गठबन्धन गरेर निर्वाचनमा जाने कुरा भनेको होइन ? ओलीको कुरा पत्याएकै कारण प्रचण्डले धोका पाएको हामीले बिर्सनु हुँदैन । ओलीले हिजो प्रचण्डलाई धोका दिए, भोलि देउवालाई धोका दिन्छन् । ओलीले अहिले कांग्रेससँग फाइदा लिन देउवालाई पकाउँदै छन् । फाइदा लिइसकेपछि देउवालाई ओलीले कसरी पन्छाउँछन् हेर्दै जानुहोला ।