Logo
Logo

रवि लामिछाने जेल जाने संकेत !


34.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी थालेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा नाम जोडिएका रविलाई पनि अभियुक्त बनाउँदै कास्की प्रहरीले मुद्दा चलाउने तयारी गरेको हो ।

सहकारी ठगी प्रकरणमा संलग्न अन्य सञ्चालक–पूर्वसञ्चालकविरुद्ध मुद्दा चलिसकेको छ ।  तर, रवि तत्कालीन गृहमन्त्री भएका कारण उनीविरुद्ध लामो समयसम्म प्रहरीले अनुसन्धान गर्न सकेको थिएन । जाहेरी परेको केही समयमै रवि गृहमन्त्री भएपछि अनुसन्धान नै प्रभावित बन्यो ।

जो माथि अनुसन्धान हुनुपर्ने उनै प्रहरीलाई आदेश दिने पदमा आसीन भएकाले रविमाथि अनुसन्धान रोकियो । त्यसबेला तत्कालीन माओवादी केन्द्र, एमाले र रास्वपासहितको गठबन्धन सरकारले रविलाई बचाउ गरेको भन्दै कांग्रेसले दुई महिना प्रतिनिधिसभा नै अवरुद्ध गर्याे ।

सहकारी ठगीमा रविको संलग्नता रहेको प्रमाण छ भन्दै कांग्रेसले अनेक प्रश्न गर्याे । त्यसपछि संसदीय समितिमै प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उपस्थित गराउँदै रविले आफ्नो नामबाहेक केही नभएको दाबी गरे । 

रविको यस्तो दाबीलाई बल पुग्ने गरी प्रहरी प्रमुख कुँवरले पनि उनको नाममा ठगीका कुनै प्रमाण नदेखिएको भन्दै ठाडो उजुरीबाहेक केही नभएको बयान दिए । २०८० चैत १४ गते नेपाल प्रहरीका आईजीपी कुँवरले सहकारी अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको दावी गर्दै क्लिन चिट दिएका थिए ।

उनले भनेका थिए– ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन,अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

गत असार १७ गते संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भयो । असार २८ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि रवि गृहमन्त्रीबाट बाहिरिए । रवि गृहमन्त्रीबाट हटेको एक साता नबित्दै जिल्ला प्रहरी कार्यालय कास्की रविविरुद्धको फाइल खोल्यो ।

गत साउन २ गतेबाटै जिल्ला प्रहरी कार्यालय कास्कीले पूरक जाहेरीमा अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले केही दिनअघि मात्रै रविसहित रास्वपाका सहमहामन्त्री विपिन आचार्य, पूर्वडीआईजी समेत रहेका छविलाल जोशी बञ्जाडे र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग कागजी बयान समेत लिएको छ ।

प्रहरीले गोर्खा मिडियासँगै नेचर हब्र्स र नेचर नेष्ट इन्टरनेशनल कम्पनीको कार्यालयबाट केही कागज समेत लिएको छ । सूर्यदर्शन सहकारीको कुल एक अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ । त्यसमध्ये पाँच करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा आएको खुलेको छ ।

यता, रविले भने सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । तर, उनी एमडी रहेको संस्थामा सहकारीको करोडौं रकम गएको छ भने केही रकम रविकै नाममा समेत गएको छ । यस विषयमा सहकारी रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति पनि छानबिन गरिरहेको छ । समितिले यही भदौ ७ गते रविको १० घण्टा लामो बयान समेत लिएको छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्मा  नेतृत्वको टोलीले काठमाडौं आएर गत १० गते रविको बयान लियो । सहकारीका पीडित बचतकर्ताले २०८० साउनमै सहकारीका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले १९ जनालाई अभियुक्त बनाउँदै दर्ता गरेको मुद्दा जिल्ला अदालत कास्कीमा हाल विचाराधीन छ ।

सहकारीका सञ्चालक र पूर्वसञ्चालकसहित ६ जना पक्राउ गरी पुर्पक्ष निम्ति थुनामा छन् । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई ‘जीबी’ भने अझै फरार छन् । उनी मलेसियामा रहेको खुलेको छ । उनीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध सङ्गठन इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरिसकेको छ । तर, मलेसिया सरकारको असहयोगका कारण उनी पक्राउ पर्न सकेका छैनन् । 

सहकारी ठगी प्रकरणमा एउटै संस्था र व्यक्तिले राजनीतिक परिस्थिति फेरिएपछि बोली र व्यवहार पनि फेर्ने विषय रोचक बन्न पुगेको छ । रविको सहकारी ठगीमा संलग्नता नरहेको दाबी गर्ने एमाले पछिल्लो समय रविविरुद्ध अनुसन्धानलाई तीव्र बनाएको छ भने प्रहरी नेतृत्व पनि यसमा खुलेरै लागेको छ ।

प्रहरीले संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आउनासाथ मुद्दा दर्ता गर्ने तयारी थालेको छ । समितिको प्रतिवेदन कस्तो आउला र प्रहरी रविविरुद्ध कसरी मुद्दा अगाडि बढाउला भन्ने चाहिँ आगामी दिनले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्