Logo
Logo

कलिलो तामालाई सोध राणालाई


2.3k
Shares

पछिल्लो पुस्ता धेरैलाई थाहा नहुनसक्छ, नेपालको राजनीतिमा केपी शर्मा ओली जत्तिको इमानदार नेता यो देशमा जन्मिएका छैनन् भन्दा तपाईँहरू यसले के लेख्यो भनेर ट्वाँ पर्नुहोला । सादा जीवन, उच्च विचारका धनी ओलीले केका लागि पैसा कमाउनु, भएका सम्पत्ति त सरकारलाई दान दिइसके भने उनका बुबा, श्रीमतीबाहेक सन्तान पनि छैनन् ।

यस्ता योगीजस्ता नेता देशले पाउँदा पनि उनी आलोचनामुक्त हुन सकेनन् । उल्टै यो बुढेसकालमा गिरीबन्धु, यती, ओम्नी जलहरी के–के हो के–केको आरोप खेपिरहेका छन् । यो कुरा त अलि हजम भएन नि ! कसो विष्णु पौडेल कमरेड ?

पहिलोपटक प्रधानमन्त्री हुँदा ‘मैले भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्न’ भनेर हरेक मन्त्रालय, विभाग र सरकारी कार्यालयमा महान् वाणी टाँस्न लगाए । चौथोपटक प्रधानमन्त्री हुँदा पनि उनले त्यही महान् वाणी दोहो¥याइरहेका छन् । तै पनि देश र जनताका लागि केही गर्छु भन्ने हुटहुटी चलेका तिनै ओलीमाथि नानाथरि आरोप लाग्ने गरेको छ । प्रधानमन्त्रीले ‘मैले भ्रष्टाचार गर्दिनँ भन्न पनि नपाउने, हेप्नी ?

गिरिबन्धु टि स्टेटको जग्गासँग ओलीको गोरु बेचेको साइनो पनि छैन । ओलीले कानुन बनाएर उक्त जग्गा सट्टापट्टा गर्न पाउने निर्णय गर्नुभन्दा अगाडिदेखि गिरिबन्धुको जग्गा बेचबिखन भएकै हो, कसो, विश्वप्रकाशज्यू ? त्यसलाई व्यवस्थित गर्न सर्वोच्च अदालतले नै कानुन बनाएर सट्टापट्टा गर्नु भनेकै हो । त्यही आधारमा कानुन बनाएर जग्गा सट्टापट्टा गर्दा पनि फेरि त्यही सर्वोच्च अदालतको अर्को आदेशले रोक्यो । यसमा ओलीको के दोष ? ओली सर्वोच्चका प्रधानन्यायाधीश त होइनन् ।

बरु ओलीले आफू प्रधानमन्त्री भएको बेला शिवमाया तुम्वाहाम्फे र भूमिसुधार तचथा कानुनमन्त्री पद्मा अर्याललाई सर्वोच्चकै आदेशबमोजिम छिटोछिटो उक्त जग्गा सट्टापट्टा गर्ने कानुन निर्माण गर्न आदेश दिएका हुन् । यसमा कसरी नीतिगत भ्रष्टाचार भयो ? नीतिगत भ्रष्टाचारको अर्थ नबुझी अल्लारे सांसदहरुले त्यत्तिकै संसद्मा हल्ला मच्चाइरहेका छन् । नीतिगत निर्णयमा भ्रष्टाचार भए पद्मा अर्याललाई जेल हाल्नु नि, बेकारमा गिरिबन्धुमा ओलीबन्धुलाई किन बदनाम गर्नु ? १४ वर्ष जेल भ्रष्टाचार गरेर बसेका हुन् र ?

बिचौलिया दीपक मल्होत्रा को हुन्, ओलीले चिन्दैनन् । त्यति मात्र होइन, यती यती भनेर पनि संसद्भित्र र बाहिर कराएको सुनिन्छ । के हो यती भनेको, यती एयरलाइन्सको मालिक त ओली होइनन् । त्यसमा ओलीलाई किन मुछ्नु ?

गोकर्ण फरेष्ट रिसोर्ट सञ्चालन गर्न अवधि सकिन लागेको थियो । नेपाल ट्रष्टअन्तर्गतको त्यो जग्गा विधिवत् ऐन संशोधन गरेर ईश्वर पोखरेल रक्षामन्त्री हुँदा म्याद थप गरिएको हो । यसमा दोष भए ईश्वर पोखरेल दोषी हुन्, ओलीलाई किन जोड्नु ? ऐन संशोधन गरेर पनि म्याद थप्न नपाइने हेप्नी ? त्यसै वाहियात कुरा गरेर ओलीको बदनाम गर्न पाइन्छ ? कसो शंकर पोखरेल कमरेड ?

ओम्नी भनेको के हो ? कोरानाकालमा फास्टट्रयाकबाट चीनबाट औषधि ल्याउन कोटेशन मागिएको थियो । भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए । ओम्नीलाई टेण्डर प¥यो, सामान आयो । त्यसमा ओलीलाई किन मुछ्नु ? मुछ्नै परे भानुभक्त ढकाललाई मुछ्नु नि, ओली स्वास्थ्यमन्त्री हुन् र ओम्नीमा जोड्न ? केही काम नपाएर व्यापारीलाई विद्युत् महसुल उठाउन नदिएको आरोप छ ।

विद्युत् महसुल उठाउने, नउठाउने जिम्मा ओलीको हो कि कुलमान घिसिङको ? अनि त्यसमा पनि ओलीलाई नै दोष ? ओली विद्युत्का हाकिम हुन् र ? ‘यत्रो ९ वर्षसम्म २१ अर्ब ८८ करोड विद्युत् महसुल किन उठाइएन ? किन १६ अर्ब उद्योगीलाई छुट दिइयो ?’ भनेर त उल्टै ओली स्वयंले प्रश्न उठाएकै छन् । चोरको खुट्टा काट भन्दा उचालेजस्तै… ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ‘मैले भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्न’ भनेर हरेक मन्त्रालय र सरकारी कार्यालयमा महान् वाणी टाँस्न लगाए । चौथोपटक प्रधानमन्त्री हुँदा पनि उनले त्यही महान् वाणी दोहो¥याए । तै पनि तिनै ओलीमाथि नानाथरि आरोप लाग्ने गरेको छ । प्रधानमन्त्रीले ‘मैले भ्रष्टाचार गर्दिनँ भन्न पनि नपाउने, हेप्नी ?

नक्कली भुटानी शरणार्थीमा ओलीका पिए राजेश बज्राचार्यलाई कुनै बिचौलियाले एक करोड दिएको भनेर बयान दियो रे ? त्यो बिचौलियासँग के प्रमाण छ ? नक्कली भुटानी शरणार्थीमा जो जो संलग्न थिए, ती त जेल चलान भइसके । थप छानबिन हुन बाँकी छ । मुद्दै नटुंगिएसम्म फेरि ओलीमाथि नै लाञ्छना लगाउनु त पाप धुरीबाट कराउँछ भनेझैं हो । नभए, आरजु राणालाई सोधे भइहाल्यो नि, कलिलो तामालाई सोध राणालाई… ।

एनसेलमा त्यतिबेला बेकारको हल्ला मच्चाइयो– लाभकर छुट दिन लाग्यो भनेर ? लाभकर उठाउने काम प्रधानमन्त्रीको हो कि आन्तरिक राजस्वको ? आन्तरिक राजस्वले एउटा निर्णय गर्ने अनि मुख्यसचिव, अर्थसचिव, महालेखा परीक्षक भैसकेका जिम्मेवार व्यक्तिहरूले ओलीले खायो भनेर सडकमा हल्ला गर्ने ? ओलीले खायो कि खाएन भन्ने कुरा त अदालतको फैसला हाजिर छ, आखिर एनसेलले लाभकर तिर्याे त ? कसो सतिसलाल आचार्यज्यू ?

३३ किलो सुन काण्डको छानबिन गर्न समिति बनाएको ओलीले नै हो । प्रतिवेदन पनि बुझ्यो, तस्करलाई कारबाही गर्ने बेला सरकार ढल्यो, त्यसमा ओलीको संलग्नताको कुरा कहाँबाट आयो ? त्यो प्रतिवेदन खोजे भइहाल्यो नि, को को तस्कर हुन् तिनको भण्डाफोर त भइहाल्छ । यस्तो कुरा गर्दा दीपक मल्होत्रा किकन हाँस्छन् बडो ताजुब लाग्छ । अनि ओलीमाथि सुन तस्कर जोगाएको हल्ला कहाँबाट आयो ?

त्यस्तै, टेन्सन एकजना सांसदले दिए– उनले संसद्मै सुनको जलहरीलाई पित्तलको भने । सांसदको उक्त कुरा सुनेर दया लागेर आयो । पशुपतिमा सुनको जलहरी राख्ने निर्णय पो ओलीले गरेका हुन् । अब त्यहाँ सुनको राखियो कि पित्तलको राखियो, त्यो ओलीलाई के थाहा ? ओली कालिगड हुन् र ? फेरि मिडियाले हल्ला मच्चाए– १० किलो सुन गायब भयो भनेर…, आखिर हराएको १० किलो त त्यो टंकमणि भन्ने एकजना छट्टु छन्, तिनले पत्ता लगाएरै छाड्यो । वाहियात कुरा गरेर टाउको किकन दुःखाउनु ?

टुँडिखेलमा देउडा हेर्न जाँदा हुटिङ भयो । केही उरेन्ठेउला केटाहरुले हल्ला गरे, देउवा आउट, आउट भनेको ओलीको कानैले सुन्यो फेरि बजारमा हल्ला मच्चाइयो ओली आउट भनेर…, अनि ओलीसँग सिंगो युवापुस्ता नकारात्मक छ भनेर कसरी मूल्यांकन गर्ने ? कौवाले कान लग्यो भनेर कौवाको पछाडि दौडने होइन, पहिला आफ्नो कान छाम्नुस् । कसो रवि लामिछाने कमरेड ?

प्रतिक्रिया दिनुहोस्