टुँडिखेल नेपालको मुटु हो जहाँ सामान्य मानिसहरू टहल्नेदेखि आराम गर्नेमात्र गर्दैनन् बेलाबखत आफूलाई मन नपर्ने कुरा पनि पोख्छन् । टुँडिखेलमा राजनीतिक दलका नेताहरूको भाषण पनि हुने गर्छ, जहाँ उनीहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको भरपुर उपयोग गर्छन् ।
१० भाद्रमा सार्वजनिक कार्यक्रममा देशका प्रधानमन्त्री केपी शर्मा ओली र रेटिङ प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा युवाहरूबाट नाराबाजी भयो । उनीहरूले ‘केपी चोर देश छोड र देउवा चोर देश छोड’ को नारा लगाए ।
नारा लगाउने युवाहरुविरुद्ध मञ्चबाटै ओली र देउवा दुवैले ‘चुप लाग’ भन्दै आक्रोश पोखे । बल प्रयोग गर्न आदेश दिए । प्रहरीले आदेशको पालना गरेर युवामाथि लाठी बजा¥यो । तर, ती युवाले आक्रोश पोखेका थिए । त्यो आक्रोश लाखौँ युवाहरूको मात्र होइन, दुःख कष्ट पाएका आम नागरिकहरूको हो भन्ने कुरा ओली र देउवाले भुले । असन्तुष्ट पोख्ने मामिलामा अहिलेका युवाभन्दा उग्र राजनीतिक पृष्ठभूमिबाट आएकाहरू हुन् ओली र देउवा दुवै ।
उनीहरूले आफ्नो विगत बिर्सिएका छन् । युवा छँदा ओली र देउवा दुवैमा उग्र जोस थियो । दुवै व्यवस्थाविरुद्ध थिए । आज ओली र देउवा साँघुरो गल्लीको कोठाबाट महलमा पुगेका छन् । एकजना बालकोको बार्दलीमा र अर्का बुढानीलकण्ठको विशाल हबेलीमा बसेर राजनीतिक गोटी चाल्छन् । विगतमा के थिए ओली र देउवा के भए अहिले । के सपना देखाएका थिए के गरे अहिले ? उनीहरू सत्तामा रहँदा देशको अवस्था झन् झन् बिग्रिएको छ ।
ओली र देउवा देशको अवस्था निकै राम्रो रहेको दाबी गर्छन् । उनीहरू युवाको आक्रोशलाई विरोधीको षड्यन्त्र ठान्छन् । देशको आर्थिक र राजनीतिक परिस्थिति भयावह छ । भित्र भित्र खोक्रो बनिसकेको छ ।
ओली त बङ्गलादेश र श्रीलङ्काको जस्तै आफूहरू भाग्नुपर्ने अवस्था आउने सम्भावना नरहेको दाबी गर्छन् । युवाहरूको आक्रोश यसरी नै बढेमा देउवाले बुढानीलकण्ठ र ओलीले बालकोट मात्र होइन देश नै छाड्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । ओलीले त आफ्ना कार्यकर्तालाई प्रतिकारमा उत्रन तयार हुनसमेत निर्देशन दिएका छन् । यहीँबाट थाहा हुन्छ उनमा कति डर रहेछ ।
बंगलादेशमा शेख हसिना र श्रीलंकामा राजापाक्षे परिवार नै देश छाड्न बाध्य भए । यो पाठ सिक्न त के सुन्न पनि चाहँदैनन् ओली र देउवा । देशको अवस्था बिग्रँदै जाँदा व्यवस्थाप्रति नै वितृष्णा बढेको छ ।
युवाहरू देशमा टिक्न नसक्ने भइसके । नेताहरू जिद्धि गर्दै देश ठिक अवस्थामा रहेको दाबी गर्छन् । अर्थतन्त्र निकै बिग्रिएको छ । विदेशी मुद्राको सञ्चिती २० खर्बभन्दा बढी भइरहेको छ नेपाल राष्ट्र बैङ्कमा तर यो रकम चलाउने अवस्था छैन । कोही पनि लगानीकर्ता जोखिम मोल्न चाहँदैन । पानी नै पानीको देश तर जनतालाई पिउने पानी छैन भनेजस्तै आर्थिक रुपमा काकाकुल अवस्था छ देशमा ।
दशैं आउनुभन्दा तीन महिना अघि कालाबजारी सक्रिय भए यसपटक । बजारमा चिनी, चना, केराऊ जस्ता दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । हरेक सामानको मूल्य चर्को छ । खाद्य सामाग्रीमा करको बहानामा जनताको ढाड सेकिएको छ ।
चामलको भाउ बढेको छ । सर्वसाधारणले विगतका वर्षहरूमा जस्तै दसैँ मान्न कठिन भइसकेको छ । देशमा परम्परादेखि चलिआएको संस्कृतिप्रति वितृष्णा जगाउने गरी दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धिले आक्रोश बढाएको छ ।
एकातर्फ सामान्य जनताको ढाड सेकिएको छ अर्कोतर्फ औँलाले गन्न सकिने कालोबजारीमा समेत मुछिएका उद्योगीलाई कर छुट र विद्युत् महसुल तिनुनपर्ने अवस्था सृजना गरिएको छ । एनसेलले १६ अर्ब नवीकरण शुल्क तिर्नुपर्नेमा पछि तिर्नेगरी ओली नेतृत्वको क्याबिनेटबाट निर्णय गराउन सकेको छ ।
विद्युत् प्राधिकरणको महसुल २२ अर्ब नतिर्ने उद्योगीको लाइन काट्दा सरकारबाट निर्णय गराएर जोड्न बाध्य पारिएको छ । सरकार जनताको नभई जनता चुस्नेहरूको भएको छ । यसले भित्र–भित्र गुम्सिएको ज्वालामुखी विस्फोट हुने अवस्थामा पुगेको छ । यो कुनै पनि बेला विस्फोट हुनसक्छ ।
नेताहरूलाई बहुमतको दम्भ छ । विगतमा केपी ओलीले बहुमतको दम्भले मनोमानी गरे । उनले दुई तिहाइको सरकार बचाउन सकेनन् । प्रचण्ड र माधव नेपाललाई पेलेर तानासाही गतिविधि गरे । देशमा राजनीतिक अस्थिरताको नयाँ शृङ्खला ओलीले चलाए । उनले दुई पटक संसद् विघटन गरे । बहुमतको सरकार बनेपछि आर्थिक गतिविधि निकै बढेको थियो ।
राजापाक्षेले श्रीलंकामा दशकौं लामो हिंसात्मक द्वन्द्व अन्त गरे । शेख हसिनासँग बंगलादेश स्थापना गर्ने शेख मुजिबर रहमानको विरासत मात्र थिएन, बंगलादेशको आर्थिक वृद्धि दिलाउने श्रेय पनि पाए । तर, जनताको भावना नबुझी काम गर्दाको परिणामले असन्तुष्टिको ज्वालामुखी एकाएक विस्फोट भयो । यो हालत नेपालमा पनि आउने संकेतहरू देखिइसकेको छ ।
लगानीकर्ताहरू उत्साही भएका थिए । तर, ओलीले आफ्नै बहुमतको सरकार भष्मासुर शैलीमा सिध्याए । देशमा नयाँ संविधान बनेपछि नेकपा एक्लैको बहुमतको पहिलो सरकार नै बनेको थियो । न त बहुमतको सरकार टिक्यो न त नेकपा नै ।
त्यसपछि राजनीतिक अस्थिरता चलिरह्यो । पहिलो र दोस्रो दलको टकराबको फाइदा अन्य दल र व्यक्तिले लिइरहे । असन्तुष्टिको भुङ्ग्रोबाट रवि लामिछाने सहरी क्षेत्रमा र देश टुक्राउने एजेन्डाबाट सीके राउत जस्ता पात्र उदाए ।
बालेन साह, हर्क साम्पाङ जस्ता पात्रहरु पनि असन्तुष्टिको कुण्डबाट निस्किएका पात्र हुन् । यो क्रम चलि नै रहेको छ । तैपनि ओली र देउवाको चेत खुलेको छैन । प्रचण्ड र शेखर कोइराला जस्ता नेता भने झस्किएका छन् । उनीहरूले बँगलादेशको जस्तै घटना घट्नसक्ने सार्वजनिक रुपमा बोलिरहेका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि प्रत्यक्ष सत्ता चलाइरहँदा राजसंस्था नै अन्त हुने कल्पना गरेका थिएनन् । तर, असन्तुष्टिको ज्वालामुखी फुट्दा उनको सत्ता त के व्यवस्था नै टिकेन । २४० वर्ष लामो इतिहास बोकेको शाहवंशीय राजसंस्था अन्त भयो । अहिले सत्ताको तर मारिरहेकाहरूले ओली र देउवालाई धरातलीय यथार्थबारे सही सूचना दिइरहेका छैनन् जसरी तत्कालीन राजाका वरिपरि बस्नेहरूले गलत सूचना दिएर राजालाई दलदलमा हाल्दै लगेका थिए । ओली र देउवाको हालत यस्तै छ ।
प्रचण्डले ओलीलाई बङ्गलादेशबाट पाठ सिक्न भन्दा ओलीले उल्टै प्रचण्डलाई सिक्न भन्दै जवाफ फर्काएका छन् । उखान र टुक्कामा रम्ने र आसेपासेलाई मख्ख पार्ने गरिरहँदा ओलीको जनतासँग दूरी बढ्दै गएको छ । देउवा पनि त्यही हालतमा छन् । जनतासँग नेता नजोडिँदा के हुन्छ भन्ने बङ्गलादेश र श्रीलंकाले देखाइसकेको छ ।
राजापाक्षेले श्रीलंकामा दशकौं लामो हिंसात्मक द्वन्द्व अन्त गरेका थिए । शेख हसिनासँग बंगलादेश स्थापना गर्ने शेख मुजिबर रहमानको विरासत मात्र थिएन, बङ्गलादेशलाई दोहोरो अंकको आर्थिक वृद्धि दिलाउने श्रेय प्राप्त थियो । तर, जनताको भावना नबुझी काम गर्दाको परिणामले असन्तुष्टिको ज्वालामुखी एकाएक विस्फोट भयो । त्यहाँको सेनाले भाग्नका लागि केही मिनेट मात्र बाँकी रहेको सूचना दिएर देश छाड्न लगायो । यो हालत नेपालमा पनि आउने सङ्केतहरू देखिइसकेको छ ।
यसलाई रोक्ने हो भने नेताहरूको बुद्धिको बिर्को बेलैमा खुल्नुपर्छ । नत्र भाग्नका लागि एक घण्टा पनि बाँकी नरहने अवस्था हुनसक्छ । बंगलादेशको पछिल्लो घटना नेपालीहरूका लागि ठूलो शिक्षा हो । आशा गरौँ,त्यस्तो अवस्था नआओस् ।