Logo
Logo

गायक भीम लिम्बूलाई ‘जुरी सम्मान’


2.3k
Shares

काठमाडौं । गायक भीम लिम्बू सेनेहाङ ‘जुरी अवार्ड’बाट सम्मानीत भएका छन् । हरितालिका तीजको अवसरमा आयोजित ‘११औँ छायाँछवि तीज म्युजिक अवार्ड-२०८१’मा भीमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गर्ने भीम लगायतलाई ‘जुरी अवार्ड’बाट सम्मानीत गरिएको हो ।

एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक भीमको हालैमात्र ‘खुल्यो है खुल्यो’ गीतको भिडियो दर्शक तथा श्रोतामाझ आएको थियो । ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’जस्ता चर्चित गीतका गायक भीमले गाएका लिम्बू भाषाका केही गीतहरु पनि लोकप्रिय छन् ।

पछिल्लो समय कार्यक्रममा व्यस्त रहँदै आएका भीम विभिन्न अवार्ड र इभेन्टहरुमा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएका छन् । सोही क्रममा तीज म्युजिक अवार्डको निर्णायकको भूमिका निर्वाह गरेका भीमले भने, ‘विधा जेसुकै भएपनि गीतसंगीत भनेको एउटै हो । चाहे त्यो तीज गीत होस् वा लोकदोहोरी नै किन नहोस् । चलचित्र र आधुनिक गीत पनि एउटै हो ।’

उक्त कार्यक्रममा भीम लिम्बूसहित गीतकार कृष्णादेबी आचार्य रोशनी, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा निर्णायक रहेका थिए । छायाँछवि क्रियशनद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा मौलिक तीज गीत विधातर्फ ‘गम्कीदे मादलु’ बोलको गीतबाट एलिना चौहानले ‘उत्कृष्ट तीज गायिका’को अवार्ड पाएकी थिइन् भने ‘उत्कृष्ट तीज गीत’को अवार्ड शोभा पाण्डेले हात पारेकी थिइन् ।

कार्यक्रममा चर्चित मोडल स्व. दिपाशा बिसीको स्मृतिमा स्थापित ‘दिपाशा स्मृति पुरस्कार’ मोडल अञ्जु निरौलालाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी नगद ११ हजार रहेको छ ।

कार्यक्रममा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोकगायिका सञ्जु न्यौपानेलाई ‘छायाँछबि तीज नारी सम्मान’द्धारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्