Logo
Logo

भावी प्रधानन्यायाधीशका लागि ८ जनाको नाम संवैधानिक परिषद्‌मा पठाइयो


10.4k
Shares

काठमाडौं । आगामी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ८ न्यायाधीशको सूची न्याय परिषद्ले संवैधानिक परिषद्‌मा पठाएको छ ।

संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदका लागि योग्य हुने उल्लेख छ ।

व्यवस्थाअनुसार परिषद्ले गत बिहीबार ८ न्यायाधीशको नाम पठाएको हो । उक्त सूची संवैधानिक परिषद्मा आइपुगेको र बैठक बोलाउने तयारी भइरहेको छ ।

तीमध्ये एकजनालाई संवैधानिक परिषद्को बैठकले सिफारिस गर्नेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट अवकाश पाउँदै छन् । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

तीन वर्ष कार्यावधि पुगेका न्यायाधीशहरूमा प्रकाशमान सिंह राउतको नाम सबैभन्दा अगाडि छ । त्यसपछि न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छन् ।

प्रतिक्रिया दिनुहोस्