भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिएका छन् ।
आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज आयोजित कार्यक्रममा उनले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
‘सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ’, मन्त्री भट्टराईले भने ।
त्यस अवसरमा उनले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छवटा महिला विद्यालयलाई सम्मान गरेका थिए । सम्मानित हुने भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौँ चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँबजारको नमूना महिला विद्यालय र बुटबलको साधना महिला विद्यालय रहेका छन् । यस्तै, ज्ञानज्योति महिला विद्यालयबाट एसइई उत्तीर्ण गरी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत ४३ वर्षीया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षासचिव डा दीपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारीलगायतले शुभकामना दिएका थिए । दिवसका अवसरमा केन्द्र परिसरमा वृक्षरोपणसमेत गरिएको थियो ।