Logo
Logo

नवनियुक्त प्रधानसेनापतिले लगाए महारथीको फुली


819
Shares

काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति सिग्देललाई महारथी पदको फुली लगाइदिएका हुन् ।

साथै उनले नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए । मुलुकको प्रमुख सुरक्षा संगठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक कमान्ड सम्हाल्नेछन् । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।
यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।

सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृत रथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरूप गएको साउन २५ गतेदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रधानसेनापतिबाट अवकाश हुनुभन्दा अघि एक महिना घर बिदामा बस्ने प्रावधानानुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।
यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाए ।

प्रतिक्रिया दिनुहोस्