Logo
Logo

एक्लो कर्मचारीले धानेको तनहुँको कृषि सामग्री कम्पनी


315
Shares

तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ कार्यालय प्रमुखको भरमा चलेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ ।

कम्पनीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको शर्माले बताए । दुईजना श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले बताए । ‘कुल सातजनाको दरबन्दी रहेको कार्यालयमा चारजनाको दरबन्दी खाली छ’, शर्माले भने, ‘विसं २०७६ देखि विज्ञापन रोकिँदा दरबन्दीको नयाँ कर्मचारी नआउने र भएका कर्मचारी अवकाश हुने भएकाले कार्यालय रित्तिँदै गएको हो ।’

उनका अनुसार कार्यालयमा वरिष्ठ सहायक र सहायक दुई–दुईजना गरी चार दरबन्दी रिक्त छ । एकजनाले मात्र कार्यालय सञ्चालन गर्नुपर्दा आफू कतै जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिन नपाएको उनको गुनासो छ ।

बिदामा बस्नुपर्दा वा नियमित कार्यालय प्रमुखको बैठकमा जाँदा कार्यालय कर्मचारीविहीन हुने गरेको उनले बताए । कार्यालयमा कर्मचारी पदपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पटकपटक जानकारी गराए पनि पूरा हुन नसकेको उनको भनाइ छ ।

राजन न्यौपाने सरुवा भएर नवलपुरको कावासोती गएपछि आफू एक्लैले कार्यालयमा धान्नुपर्ने अवस्था आएको उनले बताए । तनहुँ, लमजुङ र गोरखाका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको यस कार्यालयमा जनशक्ति अभावले सेवा प्रभावित हुँदै आएको छ ।

यस कम्पनीले तीन जिल्लामा दुई सय १९ वटा डिलरमार्फत किसानलाई मल बिक्री गर्दै आएको छ । ०५२ र ०७३ मा विज्ञापन भई नियुक्त भएका बाहेक हालसम्म नयाँ कर्मचारी आएका छैनन् । ०७६ मा भएको विज्ञापनउपर विवाद भई अदालतमा परेको मुद्दा हालसम्म कायमै छ ।

विज्ञापन विवादसम्बन्धी अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप जनशक्ति नियुक्ति प्रक्रिया अवरुद्ध भई दरबन्दीअनुसारको कर्मचारी कार्यालयमा व्यवस्थापन हुन नसकेको शाखा प्रबन्धक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्