Logo
Logo

सरकारमा हुँदा आफन्त रोज्ने, आन्दोलन गर्दा कार्यकर्ता खोज्ने


1.5k
Shares

काठमाडौं । सरकारमा हुँदा राजनीतिक नियुक्ति आफन्तलाई दिलाएकी नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सरकारबाट बाहिरिएपछि भने पार्टी बनाउन र वर्तमान सरकार विरोधी आन्दोलन चर्काउन प्रचण्डकै पथ पछ्याएकी छिन् ।

सरकारमा रहँदा कार्यकर्तालाई उपेक्षित गर्दै आफन्तलाई अवसर प्रदान गर्न उद्दत माओवादी नेतृ भुसाल सरकारबाट बाहिरिएर सडकमा पुगेपछि भने कार्यकर्ताको आवश्यकता बोध गर्दै वर्तमान सरकारविरुद्ध आन्दोलनमा खट्न निर्देशन दिँदै आएकी छिन् ।

वासुदेव मिश्र र भरत आचार्य

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री रहेकी भुसालले आफ्ना नजिकका आफन्त वासुदेव मिश्र र भरत आचार्यलाई राजनीतिक नियुक्ति दिलाएको आरोप छ । उनले कांग्रेस नेतृत्वको आफू सहभागी सरकारका पालामा आफ्नै ज्वाइँलाई श्रीलंकाको राजदूत नियुक्त गरेकी थिइन् । आफ्नो पारिवारिक नाता पर्ने भरत आचार्यलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेकी थिइन् ।

माओवादीप्रति कुनै निकटता नभएका यी दुबै जना भुसालको नातेदार भएकाले राजनीति नियुक्ति प्राप्त गर्न सफल भएका हुन्। भुसालका बहिनी ज्वाइँ रहेका मिश्रको सबै परिवार बेलायतका स्थायी बासिन्दा हुन््। उनका सबै परिवार बेलायतमै रहेका छन् ।

उनीे नेपालका लागि श्रीलंकाको राजदूत नियुक्त हुँदा गैर नेपालीलाई नियुक्ति दिन लागिएको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी समेत परेको थियो। सबै परिवार बेलायती नागरिक रहेका मिश्र भने आफूले नेपाली नागरिकता नत्यागेको प्रष्टीकरण दिएका थिए । माओवादी नेतृ भुसालका आफ्नै ज्वाइँ भएकाले चौतर्फी विरोधका बाबजुद पनि उनीे श्रीलंकाको राजदूत नियुक्त हुन सफल भएका थिए ।

अर्का विद्युत प्राधिकरणको बोर्ड सदस्य भएका आचार्य पनि नेतृ भुसालको पारिवारिक नातेदार भएरै नियुक्त पाएका हुन्। उनको पनि पार्टीमा कुनै योगदान नभएको माओवादी स्रोत बताउँछ। तत्कालीन उर्जा मन्त्री भुसालले २०७९ को निर्वाचन लगत्तै सरकारबाट बाहिरिँदै गर्दा मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई सञ्चालक समिति सदस्य नियुक्त गरेकी थिइन् ।

एमाले कांग्रेसको सत्ता गठबन्धन पछि बनेको केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले अघिल्लोे सरकारले नियुक्त गरेका विद्युत प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्दा आचार्यलाई भने पदमा यथावत राखेको थियो ।

अघिल्लो सरकारले नियुक्त गरेका सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई ओली सरकारका उर्जा मन्त्री दिपक खड्काले मन्त्रीस्तरीय निर्णयबाट गत साउन १८ गते बर्खास्त गरेको थियो। यद्यपि सर्वोच्चको अन्तरिम आदेश पछि यी सदस्यद्वय पदमा पुनर्बहाली भएका थिए ।

यता सञ्चालक समिति सदस्य नियुक्त भएका आचार्य भने ओली सरकारकै पक्षमा लागेर आफ्नो पद सुरक्षित गराएका थिए । नेपाली कांग्रेस निकट राजनीतिक पृष्ठभूमि भएका उनले कांग्रेसँगै पुनः निकटता कायम गराएपछि उनको पद सुरक्षित रहेको प्राधिकरण स्रोत बताउँछ ।

देउवा सरकारको पालमा नियुक्त भएका मिश्र करिब तीन वर्ष श्रीलंकाको राजदूत भएर फिर्ता भएका छन् । आफ्नै दिदी सासु रहेकी भुसालको कृपाले नियुक्ति पाएका उनी माओवादीसँग नेतृ भुसालसँगको पारिवारिक सम्बन्धबाहेक अरु कुनै पनि निकटता नरहेको माओवादी नेताहरु बताउँछन् ।

माओवादी उपाध्यक्ष भुसाल सत्तामा हुँदा आफन्तलाई लाभका पदमा अवसर दिन अध्यक्ष प्रचण्डलाई निरन्तर दबाब दिँदै आएकी थिइन्। पार्टीमा निरन्तर लागेका नेताहरु अवसरबाट बञ्चित हुँदा भुसालले भने आफसहित पार्टीमा कुनै साइनो नभएका आसेपासेलाई अवसर दिलाएको भन्दै एक माओवादीमा व्यापक असन्तुष्टि थियो ।

प्रतिक्रिया दिनुहोस्