Logo
Logo

निकुञ्जको बदेल शिकारी गर्ने पूर्वडिआइजी जोगिए


1.6k
Shares

काठमाडौं । कोशी व्यारेज नजिकको निकुञ्जबाट बँदेल चोरी सिकारी गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी र पूर्वउपसभामुखका छोरासहित १० जनालाई उन्मुक्ति दिइएको खुलेको छ । भदौ १३ गते विहान १ बजे पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जनालाई उन्मुक्ति दिइएको हो ।

पूर्वडीआईजी ज्ञानविक्रम शाह र बहालवाला सई सञ्जय न्यौपाने

सप्तरी प्रहरी प्रमुख एवं एसपी गजुसिद्धि ब्रजाचार्यले उनीहरुलाई उन्मुक्ति दिएको स्रोतले जनाएको छ । सप्तरीस्थित कञ्जनपुर प्रहरीले उनीहरुको साथबाट २२ क्यालीबरको राइफल एक वटा, म्यागजिन दुई वटा र खुर्पा एक वटा बरामद गरेको थियो ।

भदौ १२ गते राती १३ गते विहान १ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी व्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले हतियारसहित पूर्वडीआईजी शाह र सई न्यौपानेसहितलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथबाट मारिएको बँदेलसहित २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर एक थान बरामद भएपनि यसलाई गुपचुप रुपमा छाडिएको थियो ।

पूर्वडीआईजी शाहसहितलाई जोगाउन प्रहरी निरीक्षक मिश्रलाई बँदेल वेवारिसे फेला परेको प्रतिवेदन बनाइएको थियो । सो प्रतिवेदनसहित उनीहरुलाई छाडेर बदेलचाहि वन कार्यालय पठाइएको थियो ।
बँदेललाई पासो लगाएर, हातहतियारले मार्न नपाईने प्रावधान छ ।

पूर्वडिआइजी पक्राउ परेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ आकर्षित हुने भएपछि प्रहरीले मुचुल्कामै बदेललाई बेबारिसे भेटिएको बनाइएको हो । राष्ट्रिय निकुञ्ज र आरक्षमा भएको वन्यजन्तुको सिकार घटनामा निकुञ्ज विभाग र मुद्दामा तथा त्यसबाहिरको हकमा डिभिजनल वन कार्यालयले जिल्ला अदालतमा मुद्दा चलाउँछन ।

वन्यजन्तु संरक्षण ऐनअनुसार दफा २६ (३) अनुसार संरक्षित क्षेत्रभित्र पनि अनुज्ञापत्र नलिई वन्यजन्तु सिकार गरी मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्