काठमाडौं । प्रहरीले अन्र्तराष्ट्रिय अतिवादी संगठनसँग सम्पर्क रहेका भनिएका कालिकोटका महेन्द्रजंग शाह र आपराधिक गतिविधिबाट आर्जित रकम नेपाल ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहको कनेक्सनबारे अनुसन्धान शुरु गरेको छ । प्रहरीको एउटा समूहले यी दुई व्यक्तिको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
अमेरिकाबाट शंकास्पद रुपमा नेपाल ल्याइएको करिव ४० करोड रुपैयाँ अमेरिकामा अपराध गरी नेपाल भित्र्याइएको रकम भएको खुलेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार उक्त रकम ‘कम्प्यूटर ह्याक गरी ठगीजन्य क्रियाकलापबाट आर्जित’ भएकाले त्यो रकम रोकिएको थियो ।
अछामका पृथ्वीबहादुर शाह लगायतको समूहले अमेरिकाबाट विभिन्न कम्पनीका नाममा ४० करोड रुपैयाँ नेपाल भित्र्याएको थियो । वित्तीय शुद्धिकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले उक्त रकम भुक्तानी रोक्न पत्राचार गरेको थियो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले गरेको पत्राचारका आधारमा रकम रोक्का भएको थियो ।
अहिले सो प्रकृतिको अनुसन्धानमा कालिकोटमा महेन्द्रजंग शाह जोडिएका छन् । उनी मात्र होइन अर्को एक व्यक्ति दीपेन्द्र शाह र पाँचवर्ष अघि कोहलपुर इलाका प्रहरी कार्यालयको प्रमुख हुँदा खसी काण्डमा मुछिएका नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही पनि जोडिएका छन् ।
अति आतंकवादी समूहसँग सम्बन्ध रहेको भनिएका महेन्द्रजंग शाहसँग देखिएपछि उनीहरु इन्टरपोलको खोजी सूचीमा परेका छन् । आईएसआईएस जस्तो अति आतंकवादसँग सम्बन्ध रहेका शाह मलेसिया र दुबई आउजाउ गरिरहेका बेला मलेसिया घुम्न गएका शाही र शाहको भेट हुँदा इन्टरपोलको खोजी सूचीमा परेका हुन् । ‘नेपालमा पृथ्वीबहादुर शाह र महेन्द्रजंग शाहको सम्बन्धबारे पनि अनुसन्धान शुरु भएको छ’, नेपाल प्रहरीको उच्च नेतृत्वले भन्यो ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) अन्र्तगत नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरको निगरानीमा रहेका शाह सम्बन्ध देखिएका नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही अनुसन्धानमा तानिएपछि नेपाल प्रहरीमा समेत हलचल पैदा भएको छ । मलेसियामा रहेका विवादास्पद पृष्ठभूमिका र आतंकवादी क्रियाकलापसँग जोडिएका कालीकोट स्थायी घर भई हाल मलेसियामा रहेका शाहसँग मलेसियामा सँगै देखिएपछि डिएसपी शाही अनुसन्धानमा तानिएका थिए ।
एनसिबीले साउन ९ गते नेपाल प्रहरीलाई पत्रचार गरेपछि यो विषयमा प्रहरी प्रधान कार्यालयले समेत अनुसन्धान गरेको छ । साथै, उनको सबै विवरण इन्टरपोललाई पठाइदिएको छ । ‘उनीहरूको गतिविधि के कस्तो छ ? कुनै अपराधिक घटनामा संलग्न भएको जानकारी छ भने उपलब्ध गराइदिनू होला । र, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयमा जानकारी छ भने त्यो पनि उपलब्ध गराइदिनु हुन अनुरोध छ’, सिंगापुर इन्टरपोलले नेपाल प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रुपमा अनुसन्धान थालेको छ । २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि सबै विवरण पठाएको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशकामा उनीहरूको विवरण मागेको हो ।
‘आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको थियो’, स्रोतले भन्यो । महेन्द्रजंग शाह गैर–आवासीय नेपाली संघ, मलेसियाको पूर्व अध्यक्ष हुन् ।
प्रहरी स्रोतका अनुसार, लामो समयदेखि मलेसिया बस्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दीपेन्द्रबहादुर शाह माओवादी केन्द्रका स्थानीय नेता भएको स्रोतले जनाएको छ । महेन्द्र र दीपेन्द्र नजिकका नातेदार हुन् ।
दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । महेन्द्रजंग शाहले कुनैबेला थानकोटका ईन्द्रवीर महर्जनसँग ३ लाख रुपैयाँ तथा नवलपरासी बेल्डीयाका ओमबहादुर मल्लसँग १४ हजार आरएम लिएर नक्कली भिसा लगाएको विषयमा मलेसिया प्रवेशमै रोक लगाएको थियो ।