Logo
Logo

प्रधानन्यायाधीशमा राजनीतिक चासो


567
Shares

काठमाडौं । सर्वोच्च अदालतमा १२ वर्षपछि को प्रधानन्यायाधीश हुने भन्ने विषयमा जोडघटाउ नमिल्दा न्यायाधीश नियुक्तिमा असर परेको छ । हालै न्यायाधीश रिक्त हुनुभन्दा एक महिना पहिला नै सिफारिस गर्न आदेश दिएपछि यही जोडघटाउले समस्या उत्पन्न गर्दा नियुक्तिमा असर परेको हो । न्यायाधीशद्वय हरि फुयाँल र विनोद शर्माको इजलासले उक्त आदेश दिएको आदेश पनि लत्याइएको छ ।

सर्वोच्च अदालतमा ४ जना न्यायाधीश रिक्त छन् । संविधानअनुसार सर्वोच्च अदालतमा २१ जना न्यायाधीश हुनुपर्नेमा १७ जना मात्र छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ घर जान एक महिना पनि बाँकी छैन । सर्वोच्चको आदेशअनुसार उनको ठाउँमा पनि अर्को नाम सिफारिस गरेर घर जानुपर्छ । अहिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नेभन्दा पनि २०९३ माघ पछिको प्रधानन्यायाधीश नियुक्ति गर्ने कुरासँग जोडिएकाले न्यायाधीश नियुक्ति सकसपूर्ण बन्दै गएको छ ।

हाल प्रधानन्यायाधीश हुने तरखरमा रहेका र सपना प्रधान मल्लपछि प्रधानन्यायाधीशको रोलक्रममा रहेका कुमार रेग्मीबाहेक आफूलाई लोकतान्त्रिक पृष्ठभूमि बताउने व्यक्ति प्रधानन्यायाधीशको रोलक्रममा छैनन । हरि फुयाँल, नहकुल सुवेदी र टेकप्रसाद ढुंगाना अर्कै पृष्ठभूमिका व्यक्ति भएकाले त्यसपछिको प्रधानन्यायाधीश को भन्ने कुराले न्यायाधीश नियुक्ति पेचिलो बन्दै गएको स्रोतको दाबी छ ।

नेपाली कांग्रेसको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयकुमार चौरसिया रहेकाले उक्त पार्टीका शीर्ष नेताहरू न्यायाधीश होइन प्रधानन्यायाधीश नियुक्त गर्नुपर्छ भन्ने लबिइङमा छन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा तत्कालीन महान्यायाधिवक्ता समेत रहेका दिलमणि पोखरेललाई प्रधानन्यायाधीशको रोलक्रममा राखेर सर्वोच्च अदालत पठाउन खोजिएको थियो । तर, रोकिएपछि अहिले उनी पनि लबिङमै लागिरहेका छन् ।

अहिले सर्वोच्चको न्यायाधीशमा आउन खोजेका उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला रोलक्रममा अगाडि परेर आएभने तीन महिना प्रधानन्यायाधीश हुन पाउँछन् । दिलमणिले २ वर्ष बढी प्रधानन्यायाधीश चलाउन पाउँथे ।

नेकपा एमालेनिकट वकिलमा ईश्वरी भट्टराई न्यायाधीश बन्ने सम्भावना रहेको छ । त्यसैले नृप र दिलमणिलाई टक्कर दिन सक्ने कांग्रेसनिकट कानुन व्यवसायीको खोजी सुरू भएको छ । सर्वोच्चको न्यायाधीशको चर्चामा रहेकाहरू विजयप्रसाद मिश्र, केदार कार्की, मोहन इङनाम, खम्बबहादुर खाती, मेघराज पोखरेल, अरूण पौडेललगायत भए पनि इङनामले न्यायाधीशमा खासै रुची देखाएका छैनन् ।

कानुनमन्त्रीनिकट स्रोतका अनुसार डेमोक्र्याटबाट प्रधानन्यायाधीश हुने चर्चामा रहेका व्यक्ति अरूण पौडेल हुन् । उनलाई सर्वोच्चमा पठाइयो भने दुई वर्ष बढी प्रधानन्यायाधीश हुने मन्त्रीनिकट स्रोतको दाबी छ । नेपाली कांग्रेसका शीर्ष नेताहरू न्यायाधीश मात्र होइन, सर्वोच्च अदालतको प्रधानन्यायाधीश नै हुने गरी रोलक्रममा पठाउने व्यक्तिको खोजीमा लागेका छन् ।

सर्वोच्चमा रहेका न्यायधीशहरू हरि फूयाल, कुमार रेग्मीको फैसला सर्वस्वीकार्य हुन सकिरहेको छैन । उनीहरूले गरेका फैसलामा पुनरावेदन हुने तथा असन्तुष्टि उत्पन्न हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्