Logo
Logo

योगेश भट्टराईले बोलेको ‘हिंसा’ रेकर्डबाट नहटाएपछि माओवादीद्वारा संसद अवरोध


8.3k
Shares

काठमाडौं । १२ भदौमा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको छ ।

बुधबार सभामुख देवराज घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए ।

सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै माओवादी सांसद माधव सापकोटालाई बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

माओवादीले अवरोध जारी राखेपछि सभामुख घिमिरेले माओवादी सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए । पौडेलले विगतलाई बल्झाएर शान्ति प्रक्रिया बिथोल्न खोजेको भन्दै आपत्ति जनाए । संविधानसँग प्रतिकुल हुने शब्दले विगतमा भएको राजनीतिक आन्दोलनको अवहेलना हुने उनको भनाइ छ ।

त्यसपछि सभामुखले पुनः माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । उनले सभामुख र संसद सचिवालयले भट्टराईको भाषणबाट हिंसा शब्द नमेटाउने निर्णय पूर्वाग्रही रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्