Logo
Logo

 वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया


189
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे ।

अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ, झुटो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनुपर्छ, विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो, गर्न मिल्दैन ।’

सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिब बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू ऐन, नियम बमोजिम चल्नुपर्छ, जवाफदेही बन्नुपर्छ, ऐन, नियम विपरित जाने कम्पनीहरूले दण्ड सजाय भोग्नुपर्छ ।’

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोल अनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमा पारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राखेका थिए ।

साथै, उनीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमा प्रतिको आकर्षण बढाउन सचेत अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चार माध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्