संस्कृतिका धनी चिनियाँहरूका चाडपर्वहरू पनि धेरै छन् । जाडो महिना सकिन लाग्दा जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुवाततिर चन्द्रमासको तिथिअनुसार उनीहरूको नयाँ वर्ष सुरु हुन्छ । वसन्त ऋतुको शुरुआततिर पर्ने भएकाले ‘छुन्–च्ये’ भन्छन्, ’छुन्’ भनेको वसन्त र ‘च्ये’ भनेको चाड ।
चिनियाँहरूको पारम्परिक नयाँ वर्षको सुरुवात पनि यहीबेला हुने भएकोले ’सिन् न्येन्’ पनि भनिन्छ । सिन् अर्थात् नयाँ र न्येन् अर्थात् वर्ष । छुन्–च्ये ज्यादै भव्य तरिकाले मनाउने गर्छन्– हाम्रा कुनै पनि उत्सवभन्दा भव्य । हामी चीन पुगेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष लाग्दाको वसन्त उत्सव हामीले पनि आफ्नै चाडझैँ निकै रमाएर मनायौँ ।
हाम्रै हिमाली संस्कृतिमा जस्तै उनीहरूको पनि बाह्रवर्षीय चक्र हुन्छ । हरेक वर्ष एउटा जनावरको नामले चिनिन्छ– मुसा, गोरु, बाघ, खरायो, ड्रेगन, सर्प, घोडा, भेंडा, बाँदर, कुखुरा, कुकूर र सुङ्गुर । हामी पुगेको वर्ष खरायो वर्ष परेको थियो । खरायो आकारका कागजका रङ्गिन बत्ती जताततै बलिरहेका थिए । पहिलो छुन्–च्ये भएकोले पनि सम्झिरहेकी थिएँ । कुन वर्षमा जन्मेका बच्चाहरूको स्वभाव कस्तो हुन्छ भनेर पनि अनुमान गर्ने चलन रहेछ ।
वसन्त चाडको वरिपरी चाड मनाउन अति उत्साहित मात्रै हैन, अत्यन्त व्यस्त पनि देखिन्थे मानिसहरू । सबैभन्दा रमाइलो त के भने हामीकहाँ दशैँ मनाएझैँ टाढा टाढा पुगेका परिवारजन पनि यो बेला घर पुग्दारहेछन् । वसन्त उत्सवलाई अति नै ठूलो मान्यता दिँदारहेछन् चिनियाँहरू । परिवारको भेटघाटमात्र होइन, पाहुना बोलाएर खुवाउने, पियाउने, रमाइलो गर्न पनि दिल खोलेरै खर्च गर्छन् । पाउनाले पनि केही न केही उपहार बोकेर जाने गर्छन् ।
वसन्त उत्सवमा चिनियाँ साथीहरूले हामीलाई पनि घरमै खान बोलाउँथे । रेष्टुराँ जाने चलन त्यति चलिसकेको थिएन । कहिले कहाँ, कहिले कहाँ खासगरी सरोजका पुराना साथीहरू कहाँ गइरहन्थ्यौँ । जुनै साथीको घरमा जाँदा पनि उत्तिकै हार्दिकता पाउँथ्यौँ । यसरी पाहुनापासा बोलाउँदा २० थरी परिकार हुनु भनेको त एकदम सामान्य रहेछ ।
पकाउन अनि खान र खुवाउनमा ज्यादै रमाउँथे । सुरुसुरुमा त छक्कै पर्थेँ । कसरी खुवाउन सकेको होला भन्ने लाग्थ्यो । अहिले कस्तो छ थाहा छैन । पाककलामा संसारभर त्यसै नाम कमाएका चाहिँ होइन रहेछन् चिनियाँहरूले भन्ने लाग्यो ।
माछामासु र सामुद्रिक परिकारकै प्रधानता हुन्थ्यो । सागपातका परिकार अलि थोरै हुन्थे । त्यो वर्ष मलाई अकुपङचर सिकाउने एकजना गुरु चाङ लाओश्र्ले बोलाएका थिए । त्यतिबेलासम्म चिनियाँहरू अहिलेजस्तो सम्पन्न भइसकेका थिएनन् । आर्थिक अवस्था त्यति सहज नहुँदा नहुँदै पनि त्यति मनकारी ढङ्गले खुवाएकोमा कृतज्ञ भयौँ । मीठा परिकार बनाउन महिलाभन्दा पुरुषहरू बढी खटेको देख्नु अर्को सुखद आश्चर्य थियो ।
एकपल्ट सरोजकी गुरुआमा च्याङले खान बोलाइन् । उनका श्रीमान त्यहाँका नामी वैज्ञानिक हुन् भन्ने थाहा थियो । हामी घरमा जाँदा गुरुमा हामीसँग कुरा गरेर बसिन्, सारा खानाको परिकार बनाउने त उनै प्रसिद्ध वैज्ञानिक थिए । ज्यादै स्वादिष्ट बिसौँथरि परिकार …। मलाई झनै अचम्म लाग्यो । आफ्नो देशमा दशैँ जस्ता चाडमा महिलाहरू थाकेर हलचल गर्न नसकुन्जेल काम गर्ने र पुरुषहरू भने तास खेलेर बस्ने गरेको सम्झिएँ ।
सन् १९८९ को वसन्त उत्सवको कुरा हो यो । बेलुकी ढिलोसम्म बसेर टिभी हेर्दै थियौँ । टिभीमा १३८ वर्ष पुगेका बृद्धलगायत सय वर्ष नाघेका धेरै वृद्धवृद्धाले चाड मनाएको दृश्य थियो । बच्चाहरू हर्षोल्लासका साथ नाँचिरहेका थिए । आकाशमा अनेक किसिमका आतिशबाजी भइरहेका थिए । यी सब हेर्दा चीन समृद्धितिर उन्मुख भइरहेको स्पष्ट देखिन्थ्यो ।
तर, योसँगै समाजमा असन्तुष्ट मान्छेहरू पनि विस्तारै देखा पर्न थालेका थिए । आफू विदेशी भएकाले चिनियाँ समाजमा घुलमिल हुन त्यति सजिलो त थिएन । तर, केही साथीहरू भने बनेका थिए ।
तीमध्येका केही असन्तुष्ट पनि रहेछन् । ली थरका एकजना अंग्रेजीका प्रोफेसरले निकै खुलेर आफ्नो देशको बारेमा कुरा गर्थे । सांस्कृतिक क्रान्तिताका उनका डाक्टर दाइको हत्या भएको रहेछ । उनीहरूको परिवार पहिलेदेखि नै अलि हुनेखाने रहेछ र परिवारका सबै नै बुद्धीजीवी रहेछन् ।
एकदिन सांस्कृतिक क्रान्तिताका स्वतन्त्र विचार हुनेले दुःख खेप्नु परेको कुरा पनि सुनाउँदै भनेका थिए ‘तिमी त विदेशी हौ, देश फर्कन्छौ एकदिन । हामीलाई त यहीँ बस्नु छ नि । जस्तै असन्तुष्टि भए पनि उपाय छैन । तिमी त लेखक पनि हौ, बरु आफ्नो देश फर्केपछि हाम्रो दुःखका कुरा पनि लेखिदेउ !’
जवाफमा मैले केही भन्न सकिनँ । मेरो त सपनाको देश थियो चीन । आफनो देशको अवस्थाभन्दा यहाँ धेरै कुरामा राम्रो नै देखिरहेकी थिएँ । नेपालमा पढ्न छोडेकी म यहाँ आएर शिक्षा प्राप्त गर्दैथिएँ । तर, ती प्रोफेसरको आफ्नो भोगाइ थियो ।
उनको भोगाई, उनको दृष्टि, मैले आत्मसात गर्न सक्ने कुरा भएन । नेताका छोरा छोरी भ्रष्टाचारमा लागेका कुरा पनि उनले नै मलाई सुनाएका थिए । मभन्दा धेरै पाका प्रोफेसर थिए उनी । म उनलाई सम्झिरहन्छु । जबजब आफ्नै देशका नेताका छोरा छोरीहरूले गरेका भ्रष्टाचार र कुकर्महरूबारे सुन्छु, उनको सम्झना झन् धेरै हुन्छ ।
त्योबेला आफ्नै देशमा पनि उर्लिरहेको असन्तुष्टि र आन्दोलनका कुरा चिठीपत्रबाट थाहा पाइरहेकी थिएँ । आफूले उदाहरण मानेको र समृद्धितर्फ लम्किरहेकै चीनमा पनि कतिपय मान्छेमा असन्तुष्टि रहेको सुन्नु पर्दा दिक्क लाग्थ्यो ।
लेखनको माध्यमबाट आफ्नो देशले भोगेका समस्याको बारेमा त अभिव्यक्त गर्न पाइरहेकै थिएँ । आफ्नो र साथीहरूका संघर्षका कथा पनि सुनाउन पाइरहेकै थिएँ । जापानको निम्ति नियमित लेख्ने काम जारी रहेकाले मन पनि त्यति कुण्ठित थिएन । त्यहाँमाथि मेरो लेख अरु देशका साथीहरूले पनि माग्न थालेका थिए ।
नर्वेका साथी टोरीको माध्यमबाट नर्वेमा पनि एउटा लेख छापियो । यस अर्थमा म खुसी नै थिएँ । तर जिन्दगीभर आफूले लडेको लडाईँको उपलब्धि के हुने हो त भनेर मनमा प्रश्न भने उठ्न थाल्थ्यो बेलाबेलामा ।
अहिले देख्दै छु– गणतन्त्र आउँदैमा मात्र मान्छेले सुख पाउने र न्याय पाउने होइन रहेछ । नेताहरू धनी हुँदैमा देश कसरी धनी हुन सक्छ र ? तर, कर्म गर्ने त वर्तमानमै रहेर त हो ! सुकर्म होस् वा कुकर्म, फल त लाग्छ नै । सधैँ सुकर्मतिरै हाम्रो मन जाओस् ! सबैको मंगल होस् ।