Logo
Logo

फेसबुकमा ओली र बालेनको प्रतिष्पर्धा


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको सोख पनि अनेक छन् । प्रधानमन्त्री भएका बेला राम्रा काम गरेर आम युवाहरूको मन जित्नुपर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिस्काएर सामाजिक सञ्जालमा गाईजात्रा देखाइरहेका छन् ।

गत साताभरी यस्तै फेसबुक ‘फलो’ र ‘अनफलो’को रत्यौलीमै समय बर्बाद भयो । बालेन समर्थकहरूले ओलीको फेसबुकलाई ‘अनफलो’ गर्न आह्वान गरेपछि ओलीको फेसबुक पेजमा ‘अनफलो’को बाढी नै चल्यो । डलर तिरेर फेसबुक फलोअर्स बढाएका ओली ‘अनफलो’ अभियान चलेपछि आत्तिए ।

सचिवालय र सल्लाहकार टिमसहित केही नेतासँग अनफलो रोक्ने उपायको खोजी गरे । फलोअर्स नघटोस भनेर एमाले महासचिव शंकर पोखरेलले फेसबुकमा ओलीको पेज जबरजस्ती सेयर गर्न लागए । एमालेका अन्य नेता तथा कार्यकर्ताले ओलीको पेज शेयर गरे ।

बालश्रममा मुछिएकी एमाले सांसदको सन्दर्भमा ओली र बालेनबीच ‘फेसबुक युद्ध’ चल्यो । ओलीले आफ्ना सांसदलाई जोगाउन खोज्दा सामाजिक सञ्जालमा पोखिएको आक्रोश सडकसम्म आइपुग्यो भने अवस्था के हुन्छ ?

ओलीलाई फलो गर्न कार्यकर्तालाई निर्देशन नै दिनुपर्ने स्थिति बन्यो । वास्तवमा ओलीको यो लहड बालहठ नै थियो । फेसबुक पेज लाइक/अनलाइन गर्ने इच्छाको कुरा हो, त्यसमा जबरजस्ती चल्दैन । न त ‘फलोअर्स’ बढेर प्रधानमन्त्रीको छवी उचो हुने नै हो । प्रधानमन्त्रीले त राम्रा काम गरेर आम नागरिकको मन जित्नुपर्नेमा फेसबुकमा गुच्चा खेलेर समय बर्बाद गरे ।

तर पनि ओलीको फलोअर्स घटिरह्यो । ओली झनै आत्तिए । त्यसपछि आफुले फलो गरेको एउटा मात्रै पेज ‘ओलीबा’लाई पनि उनले अनफलो गरिदिए । दुई दिन पनि नबित्दै ओलीको फलोअर्स १ लाख घट्दा बालेको भने १ लाखभन्दा बढी फलोअर्स थपिएका थिए ।

बालेनको उदय नै सामाजिक सञ्जालबाट भएकाले त्यो सञ्जाल तोड्न गाह्रो छ । बालेन कम बोल्छन, कम लेख्छन । जे लेख्छन, त्यो अस्त्र बन्छ र लाखौँ युवाहरूले मन पराउँछन् । बालेनको लोकप्रियताले आजका युवा के चाहन्छन भन्ने बुझ्न सकिन्छ । युवाहरूको लोकप्रियतामा बालेनका अगाडि ओली फुच्चे हुन् । नेपालको राजनीतिमा पनि ओलीहरू ‘डेटएक्स्पायर’ भइसकेका छन् भने बालेनहरू उदाउँदै छन् । त्यही डरले ओलीले ‘स्पोन्सर’ गरेर भए पनि फेसबुकमा आफ्नो नक्कली फलोअर खडा गर्न खोजेका हुन् । तर, उनी असफल भए ।

यो ओली र बालेनको लोकप्रियता जाँच्ने एउटा मापक पनि हो । गत निर्वाचनमै जनताले ओलीलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तास्वार्थ र कांग्रेस सभापति शेरबहादुर देउवाको निहीत स्वार्थले ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा पु¥याइदियो । तत्कालीन नेकपाको दुई तिहाइबाट प्रधानमन्त्री बनेका ओलीले देश र जनताको पक्षमा काम गर्नुपर्नेमा असंवैधानिक रुपमा संसद विघटन गरेर प्रतिगामी कदम चालेपछि ओलीको इमेज ह्वात्तै घटेको थियो ।

अहिले बालेन र ओलीबीच चलेको ‘फेसबुक युद्ध’को सन्दर्भ बालश्रममा मुछिएकी एमाले सांसदलाई ओलीले जोगाउन खोज्दाको हो । सामाजिक सञ्जालको आक्रोश सडकसम्म आइपुग्यो भने अवस्था के हुन्छ, सायदै कमैले आँकलन गरेका होलान् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले बालश्रममा मुछिएकी एमाले सांसदबारे लेखेको फेसबुक पोस्ट उठाएको बताएपछि ओलीलाई अनफलो गर्ने अभियान चलेको हो । ओलीको फलोअर्स एक लाखभन्दा बढीले घट्न धेरै दिन लागेन । सुरुमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा अनफलो अभियानपछि केही घण्टामै ५ लाख ९० हजार मुनी आइपुग्यो । एमालेको पोलिटब्यूरो बैठकमा समेत अनफलो अभियानबारे चर्चा भएको थियो । एमाले उपमहासचिव विष्णु रिमालले एक कार्यक्रममा ओलीको पोस्टमा ५० हजार लाइक आए, एमालेले बहुमत ल्याउने बताएका थिए । केही समयमै यति धेरै फलोअर्स घट्दा ओलीलाई चिन्ता हुनु स्वभाविकै हो ।

सामाजिक सञ्जालमा बालेन भर्सेस ओलीका समर्थकबीच ‘वार’ नै चलेको छ । यसको सुरुवात बालेनले एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले १४ वर्षीया बालिकालाई आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको भन्दै उनलाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएपछि सुरु भएको हो ।

सांसद शर्माको काठमाडौंस्थित घरमा ती बालिकालाई आठ वर्षदेखि बाल श्रमिकका रूपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो । त्यसपछि बालेनले सांसद शर्माको फोटो राख्दै फेसबुकमा लेखेका थिए, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एकजना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ ।’

बालेनको उक्त स्टयाटस फेसबुकले हटाइदिएको थियो । आफ्नो फेसबुक स्टयाटस डिलिट भएपछि बालेनले लेखे, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’ त्यसपछि बालेन समर्थन झन् उग्र बनेर ओलीको फेसबुक अनफलो अभियान चलाए । जससामुख ओलीका ‘साइबर सेना’को पनि केही चलेन ।

फेसबुकमा अनफलो ट्रेन्ड बालेनको स्टाटस डिलेटपछि सुरू भएपनि यसको सुरुवात भने गौरा पर्वको बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई टुँडिखेलमा केही युवाले नाराबाजी गरेबाटै भएको थियो । सरकार र सत्तारुढ दलहरूप्रति जनआक्रोश कति छ भन्ने एउटा मापक पनि हो यो ।

प्रतिक्रिया दिनुहोस्