काठमाडौं । वैदिक चिन्तनको स्रोत र नेपाली संस्कार हामीले मनाउने चाडपर्व, धर्म, संस्कृति परम्पराको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दै छन् । जसमध्य एक प्रकृति पूजा पनि हो । प्रकृतिलाई सम्मान, संरक्षण अनि माया चाहिने रैछ भनि अहिलेका विभिन्न घटना, विपदले जनाएको छ ।
धार्मिकरुपमा पूजाको दुइवटा सिद्धान्तछन् । एक आत्मिय/अध्यात्म र अर्को प्राकृतिक । आत्मिय अर्थात अध्यात्म सिद्धान्तमा शरीर मरेपनि आत्म मर्दैन भन्ने विश्वास गरिन्छ । त्यसैले पितृहरुलाई तिथि मानेर पूजा गर्ने चलन छ । नैवेद चढाउँने, फूलपाती चढाउँउने र धूपबत्ती बाल्ने चलन पनि छ । बौद्ध धर्मावलम्बीहरुले गुम्बाहरुमा पितृको नाममा बत्ती बाल्ने चलन छ । त्यस्तै, पृथ्वीमा जति धर्महरु छन्, ती सबैमा पितृलाई आदर गरि सम्मान गरिन्छ ।
पुजा गर्न विधिहरु फरक होला, माध्यम फरक होलान्, त्यो बेग्लै कुरा हो तर आत्मपुजाबाटै धर्मको उत्पत्ति भएको पाइन्छ । प्रकृति पूजाको अर्थ प्रकृतिलाई सम्मान गर्नु, प्रकृतिको महत्वलाई पुजाद्वारा उल्लेखित गर्नु अनि मानव जीवन र प्रकृतिबीचको सम्बन्ध अपरिहार्य हो भनेर बुझ्नु ।
जुन प्रकृतिले मानवलाई जिउन, बस्न, खाना, पिउन र बाँच्न दिएको छ त्यही प्रकृतिलाई आज सुविधा वा विकासको नाममा तहन–नहस गरिँदैछ । त्यसकै फलस्वरूप जलवायु परिवर्तन बाढी, पहिरो, प्राकृतिक विपद वा प्रकोपहरु बढी रहेको छ ।
परापूर्वकालदेखि नै खोला, नाला, पोखरी, कुण्ड पूजा गरिएको पाइन्छ । यो पनि एक प्रकृति पूजाको उदाहरण हो । आज विभिन्न बहानाहरुमा खोला, नाला, वन, रुख, विरुवा सबै मासिदै छ । जसको कारण विपदहरु व्योहिरो रहेका छाैँ ।
अब बुझौँ के हो प्रकृति पूजा ?
प्राकृतिक सिद्धान्तमा प्रकृतिको पूजा गरिन्छ । प्रकृतिलाई मान्यता दिइएको पाइन्छ । गुरुङ, राई, लिम्बू, तामाङ, मगर, थारु लगायत केही जातजाति प्रकृतिको पूजा गर्ने चलन छ । वनपाखा, खोलानाला, सिमसार, भूमि, अग्नि, सूर्य र रूखबिरुवाको पूजा गर्ने चलन छ । हिन्दु जाति पनि प्रकृतिलाई उत्तिकै मानेको पाइन्छ ।
शिलाको पूजा गर्छन्, वर पीपलको पूजा गर्छन् । जनावरलाई पूजा गर्छन् । आत्मिय÷अध्यात्म र प्राकृतिक दुवै सिद्धान्त अंगिकार गरेको पाइन्छ । बोन धर्ममार्गी चाहिँ पूरै प्रकृतिको पूजा गर्छन् । पशुपन्छीको प्रभावबाटै बोन धर्म सुरु भयो । तामाङ, गुरुङ, शेर्पा जातिको वर्ष नै जीवजन्तुको नामबाट हुन्छ ।
महिनाका तिथि र दैनिक, घडी, पला पशुपन्छीको क्रियाकलापको आधारमा सञ्चालित हुन्छन् । उदाहरणको लागि असोजमा सुँगुरको प्रजनन् हुन्छ । कात्तिक महिनामा मुसाले अन्न बटुल्छ । उज्यालो हुने बेलामा बाघ घडी मानिन्छ । किनकि उज्यालो हुने बेलामा बाघले सिकार गर्न छाड्छ । त्यसैगरी १२ महिना पनि जीवजन्तुको नामबाट सुरु हुन्छ । मुसावर्ग, गाईवर्ग, बाघवर्ग, बिरालोवर्ग, गरुडवर्ग, सर्पवर्ग, घोडावर्ग, भेडावर्ग, बाँदरवर्ग, चरावर्ग, कुकुरवर्ग र सुँगुरवर्ग हुन्छन् । तामाङ, गुरुङ, शेर्पा र मगर जातिमा ल्होसारमा वर्ग फेरिन्छ । त्यो दिन धुमधामसँग नयाँ वर्ष मनाइन्छ ।
नेपालमा प्रकृति पूजाका स्वरुपहरु
भुम्या-भुमे पूजाः तामाङ, मगर, थामी समुदायमा भएका प्राचीन मौलिक संस्कृति, चाड पर्वहरुमध्ये भूम्या पर्व सांस्कृतिक सभ्यतासँग जोडिएको पर्व हो । यो चाड मुख्यगरी असार १ गतेदेखि सुरु गरेर आफ्नो भूगोल, समाज, समय अनुकुल हुने गरी मनाइन्छ । यो पर्व मूलतः भूमिकै पूजा हो । भूमिप्रति सम्मान र आदर हो ।
भौगोलिक रुपमा प्रकृतिसँगै दैनिकी चलाउने अर्थात जीवनयापन गर्ने, खोलानाला वरिपरि बसोबास गर्ने, खेतीकिसानी र बस्तुभाउले जीवन निर्वाह गर्ने जाति भएकाले जल, जमिन र जंगललाई देवताका रुपमा पूजा– आराधना गर्ने परम्परा पाइएको देखिन्छ । तामाङ, गुरुङ, शेर्पा मगर समुदायको भूमे–भूम्या पर्व मनाउने चलन छ । विपत्ति नआओस् भन्दै प्रकृतिको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।
अल्पसंख्यक तथा अति सिमान्तकृत थामी समुदायले पनि भूमे पूजा गर्दै आएको पाइन्छ र भूमे पूजा उभौलीको समयमा प्राय बैशाख पूर्णिमाको बेला मनाएको पाइएको छ ।
‘प्रसादको रूपमा चामल तथा गहुँको पिठोको पूच्युक पिरामिड आकारको बनाउने, अण्डा, बालदानी अर्थात टोटालोको फूल, छ्याङ्ग, रक्सी सगुनको रुपमा प्रयोग गर्ने परम्परा पाइएको छ । भूमे पूजामा घरमूलीद्वारा सगुन, प्रसाद, पूजा सामग्री डालोमा बोकेर झाँक्री वा गुरु आप्पासँग भूमेथान जाने र अरु परोवारका सदस्यहरु मारुनीको पहिरनसहित नाच्दै, मुरली बजाउँदै, झाँक्रीलेचाहिँ ढ्यांग्रो बजाउँदै सैबले पूम्बा सैबले भनि उच्चारण गर्दै, बल माग्दै भूमेथानतिर लाग्ने र रुखको फेदमा बसी प्रकृति पूजा गर्ने पूजामा भालेको बलि दिइ पूजा सम्पन्न गरिन्छ ।’ दोलखामा नितेशकुमार थामी बताउँछन् ।
प्राकृतिक विपत्ति नआओस्, बालीनालीमा किरा नलागोस् भनेर तामाङ, थामी र मगर समुदायले हरेक असार १ गते भूम्या पर्व मनाउने र विशेषगरी जमिनको पूजा गर्ने चलन छ । भुमे-भूम्या पर्वको अघिल्लो दिन युवा युवतीले बुकी तथा अग्ला पहाडबाट ल्याएको फूल हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते बिहान पूजा गरेपछि नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ । प्राय बैशाख पूर्णिमाको बेला मनाएको पाइन्छ ।
प्रत्येक साल असार शुक्ल पक्षमा पर्ने एकादशी अर्थात् हरिशयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवं मोक्षदायिनी हो । हिन्दू धर्मशास्त्रअनुसार यो एकादशीमा निर्जला एकादशीमा बीजारोपण गरिएको तुलसीलाई सारिने कार्य गरिन्छ ।
प्रत्येक साल असार शुक्ल पक्षमा पर्ने एकादशी अर्थात् हरिशयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवं मोक्षदायिनी हो । हिन्दू धर्मशास्त्रअनुसार यो एकादशीमा निर्जला एकादशीमा बीजारोपण गरिएको तुलसीलाई सारिने कार्य गरिन्छ । जसको घरमा तुलसी सारिन्छ । यसै दिनदेखि भगवान हरि अर्थात् विष्णु चार महिनाका लागि सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी या देवशयनी एकादशी पनि भनिन्छ ।
यस एकादशीमा सुतेका हरि कात्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । यस एकादशीमा पूजाअर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने विश्वास रहिआएको पाइन्छ । भविष्योक्तरा पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि भनेको उल्लेख छ ।
प्रत्येक हिन्दू धर्मावलम्बीको घरमा बनाएको मठमा तुलसीको बिरुवा सारिने काम पनि यस दिन गरिन्छ । यो एकादशीमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार पत्नी वृन्दाको सत्यमार्गका कारण जालन्धरले देवताविरुद्ध झन्झन् आफ्नो प्रभाव बढाउँदै लगेका थिए ।
भगवान् रामले समेत जालन्धरलाई पत्नीको सतीत्वका कारण युद्धमा पराजित गर्न सकेका थिएनन् । त्यही बेला विष्णुले वृन्दाको सतित्वलाई संकटमा पारेरमात्रै जालन्धरलाई पराजित गर्न सकिने कुरा विमर्श गरे । सोहीबमोजिम जालन्धर रूप धारण गरी वृन्दाको सतीत्व हरण गरे । सो कुरा वृन्दाले थाहा पाएपछि भगवान् विष्णुलाई झार हुनु परोस् भनी श्राप दिइन् । सोही श्रापको मोक्षस्वरूप विष्णुले तुलसीको रूप धारण गरे ।
यही धार्मिक किंवदन्तीअनुसार साक्षात् विष्णुको रूपमा तुलसीको बिरुवा रोपी असार शुक्ल एकादशीका दिन घरघरमा स्थापित गर्ने परम्पराको थालनी भएको विश्वास छ । घरआँगनमा तुलसीको बोट हुँदा देवताको बास हुने विश्वास छ । तुलसीको बोट नभएको घरमा यमराजका दूत सहजै पुग्ने भएकाले विष्णुधारी तुलसीको बिरुवालाई घरअगाडि मठ बनाएर रोप्ने गरिन्छ ।
हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुईवटा एकादशी पर्छन् । यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुने भए तापनि प्रत्येक साढे दुई वर्षपछि एउटा अधिकमास पर्छ र सो साल १३ महिनाको वर्ष मानिन्छ । त्यतिबेला दुईवटा एकादशी थप हुने भएकाले मलमास परेको सालमा २६ वटा एकादशी पर्न आउँछन् । प्रत्येक एकादशीको आफ्नो अलग नाम र परिचय छ भने सबैको भिन्दाभिन्दै व्रत उपवासको फल तोकिएको पाइन्छ ।
यमराजका दूतलाई रोक्नका लागि विष्णुधारी तुलसीको बिरुवा घरअगाडि मठ बनाएर रोप्ने गरिन्छ । हाम्रो देशको वैदिक दृष्टिकोणमा हरिशयनी एकादशीको ठूलो महव रहेको छ । तुलसीको पूजा हुने भएकाले हिन्दूकै महत्वपूर्ण पर्व हरिशयनी एकादशी स्वीकार्य बनेको छ । विधिपूर्वक मठमा तुलसीको बिरुवा रोप्दा जो कसैको वंशले तीनै लोकमा सुखशान्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।
तुलसी शब्दलाई संस्कृत दर्शनमा गहिरो अर्थमा शाब्दिक व्याख्या गरिएको छ । तुलसी भत्राले ज्ञान, वैराग्य र भक्तिको केन्द्रबिन्दु हो । यसले मानव जीवनमा प्राप्त हुने विज्ञानलाई समर्पण भावमा परिणत गराउँदछ । तुलसीको मठलाई गोबर माटोले लिपपोत गरी सेता, राता, पहेंला वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिंगो गाडी पूजा गरिन्छ । यसै एकादशीदेखि चतुर्मासको व्रत सुरु हुन्छ ।
हरिबोधिनीमा सो तुलसीलाई संकल्पसमेतको अनुष्ठानमा विष्णु भगवानसँग विवाह गराइन्छ । यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ ।
प्रायः नेपालीका घरमा तुलसी र तुलसीको मठ अनिवार्यजस्तै नै देखिन्छ । मृत्युनजिकमा पुगेका व्यक्तिलाई तुलसीको मठमा राख्ने र मठमा रामनाम, हरिनाम, दामोदर आदि लेखेर मठलाई गेरुवा रङले सजाई शोभा गराई राखिने प्राचीन चलन यद्यपि छँदै छ ।
तुलसीको धार्मिक महत्वमा मात्र ध्यान नदिई यसको गुण महत्व बुझ्ने व्यक्तिले आफ्नो घरमा मठ निर्माण नगरे पनि बगैंचाको रूपमा ड्याङ बनाई तुलसी हुरर्काइ तुलसीको सेवा गरेको पाइन्छ ।
एकादशी व्रत र तुलसीको महत्व प्राचीन ग्रन्थ, वेद, रामायण, महाभारत, पुराण र नीतिशास्त्रका विविध ग्रन्थमा प्रशस्त भेटिन्छन् । जब यस्ता शास्त्र, ग्रन्थको महत्व धर्मसँग सीमित नभएर मानव जीवनलाई स्वस्थ र समुन्नत बनाउन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रकाशमा आइसकेपछि चेतनशील मानव प्राणीले तिनलाई आफ्नो जीवनचर्यामा समाहित गर्नु बुद्धिमतापूर्ण कार्य हुन आउँछ ।
वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दै छन् । काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बत्रे हुन्छ । मानिसलाई आवश्यक भक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ । जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रत निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ ।
वर–पिपल पूजाः
धर्मशास्त्रमा यी तीन बोटलाई त्रिदेवको नामले चिनिन्छ । पिपललाई विष्णु र स्वामीलाई ब्रह्मा भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । गाउँले भाषामा हामीले भन्नुपर्दा बर भनेको लक्ष्मी, पिपल भनेको विष्णु र स्वामी भनेको लोकन्ती भनेर चिन्न सक्छौं । जसले जे जस्तो तरिकाले व्याख्या गरेपनि रोप्दा बर पिपल र स्वामीसंगै रोप्ने परम्परा छ किनकि यी तीनै बृक्षलाई त्रिदेवको नामले चिनिन्छ ।
यस बारेमा वैज्ञानिक मान्यता र धर्मशास्त्रले कसरी व्याख्या गरेको छ हेरौं । वर पिपलको विवाह गर्दा हमेसा स्वामीलाई समिपमा राख्नुको अर्थ यस्तो छ । वर पिपल स्वामी समिपमा हुन आवश्यक छ किनकि ब्रह्मा, विष्णु, महेश्वर नै जगतका मालिक हुन त्यसकारण वर पिपल वर स्वामीको विवाहमा स्वामीको आफ्नै अस्तित्व हुन्छ । त्यसैकारण हरेक चौतारीमा स्वामीको आफ्नो स्थान रहेको हुन्छ ।
वरको बोटलाई दिर्घजीवी मानिएको छ । हिन्दू धर्म संस्कृतिमा बरको बोटलाई पूज्य मानिएको छ । अलग–अलग देव अनुसार फरक–फरक बोट उत्पन्न भएको देखिन्छ यस बारेमा अगाडि नै भनिसकेको छु । बरको बोटको जरामा पुजा गर्नाले फल प्राप्त हुने भनेको छ । धर्मग्रन्थमा यी दुवै बृक्षको पुजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ । वरको बोटलाई अक्षयवटको नामले प्रसिद्ध छ ।
हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्व छ । यसलाई सबै वृक्ष भन्दा शुद्ध अथवा पूजनीय मनिन्छ । यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले पनि चिनिन्छ । हिन्दु दर्शनमा लेखिएको छ कि पीपलको पत्तामा देवताको नाम हुन्छ, खास गरेर विष्णु भगवानको वास हुन्छ । शनिवारको दिन शनिदेवको साथ पिपलको पुजा गरिन्छ । भनिन्छ पिपलको पुजाले काममा सफलता मिल्छ ।
वैज्ञानिक आधार
प्राय बोटविरूवामध्ये वर, पिपल र स्वामीले अक्सिजन फाल्ने गर्छ । अक्सिजनको आपूर्ति गर्नमा यिनै तीनवटै रूखको ठुलो भूमिका रहेको बताइन्छ । रूखले अर्को महत्वपूर्ण काम रातमा अक्सिजन लिन्छ, त्यही भएर रातमा बोट बिरूवाको तल नसुत्नु भनेको छ । तर, वैज्ञानिहरूको अनुसार पीपल एकमात्र यस्तो वृक्ष हो जो जसले २४ घन्टा अक्सिजन छोडछ । त्यसैले पिपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ । त्यसैले पिपलको पुजा गरिन्छ ।
धार्मिक आधार
पीपल वृक्षको पूजा गर्नुको रोचक धार्मिक कारण पनि छ । ब्रह्माजी, मध्यमा विष्णुजी,अग्र भागमा भगवान शिवजी साक्षात रूपले विराजित हुनुहुन्छ भन्ने विश्वास हिन्दू धर्मावलम्बीहरुमा पाइन्छ । हिन्दु परम्परामा पनि वृक्षलाइ देवताको रुप मानेर पूजा गरिन्छ । यस कारणले पीपललाइ देवता मानेर पिपलको पुजा गरिन्छ । पीपलको रुखमा नियमित रुपले जल चढाउदा मनोकामना पूर्ति हुन्छ । शत्रुको नाश हुन्छ ।
सुख संपत्ति, धन–धान्य, ऐश्वर्य, सन्तान सुखको पनि प्राप्ति हुन्छ । यसको पूजाले ग्रह दोषको पनि निवारण हुन्छ । शनिवारको दिन पीपलको वृक्षको पूजा गर्दा जीवनमा आई लागेको सबै दुख दूर हुन्छ ।
यसरी तिनवटै रूखसँगै रोप्ने परम्परा सदियौँदेखि चल्दै आएको छ । अहिले नेपालमा पिपल र स्वामी मास्ने काम भइरहेको देखिन्छ । बर पिपलको आयुर्वेदमा ठूलो प्रयोग हँुदै आएको छ । यसबाट थुप्रै औषधि बनाउने गरेको पाइन्छ । हामीले धर्मशास्त्रलाई नमानेपनि यसको महत्वलाई मानेर रोप्दा लोक कल्याण हुने देखिन्छ ।
छठ पर्वः
तराई क्षेत्रमा बसोबास गर्ने नेपाली समाजमा छठ अथवा सूर्यदेव र षष्ठीमाता पूजागर्ने चलन छ तर अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा–आराधना गरि मनाउने गरिन्छ । छठ व्रत बसी सूर्यको आराधना गर्ने चलन छ ।
छठमा सूर्यदेव र षष्ठी देवी दुबैको पूजा छठ पूजाको व्रतमा सूर्य देवताको पूजा आराधना गरिन्छ, जुन प्रत्यक्ष देखिन्छ र समस्त प्राणीहरुको जीवनको आधार पनि हो । सूर्यको साथै षष्ठी देवी अथवा छठ माताको पनि पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुको साथै उनीहरुलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन् ।
यस अवसरमा सूयदेवका श्रीमतीहरु उषा र प्रत्युषालाई पनि अर्घ दिएर प्रसन्न बनाउने चलन छ । छठ व्रतमा सूर्यदेव र षष्ठी देवी दुबैको पूजा संग–संगै गरिन्छ । त्यसैले छठ माताको पुजा आफैंमा विशेष रहेको छ ।
सूर्यसंग त सबै परिचित नै छन, तर छठ कुन देवी हुन भन्ने पनि धेरैको मनमा कौतुहलता हुन सक्छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा प्रमुख अंशलाई देवसेना भनिन्छ । प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । षष्ठी देवीलाई ब्रम्हाको मानसपुत्री पनि भनिन्छ । पुराणहरुमा यी देवीको एउटा नाम काल्यायनी पनि हो । यी देवीको पूजा नवरात्रिमा षष्ठी तिथिमा गरिन्छ । षष्ठी देवीलाई नै स्थानीय बोलीको आधारमा छठ माता भनिएको हो, जसले निःसन्तानहरुलाई सन्तान दिन्छिन् ।
छठ माताको पूजाको इतिहास यस प्रकार छ :
प्रथम मनु स्वायम्भुवका पुत्र राजा प्रियव्रतका कुनै सन्तान थिएनन्, जसका कारण उनी दुःखी थिए । महर्षि कश्यपले राजालाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए । राजाले यज्ञ गराए, यज्ञपछि महारानी मालिनीले एउटा पुत्रलाई जन्म दिइन् । तर त्यो शिशु मृत जन्मेका थिए । राजाको दुःख देखेर एउटा दिव्य देवी प्रकट भइन् । उनले ती मृत बालकलाई जीवित गरिदिइन् । देवीको त्यस्तो कृपाले राजा धेरै खुशी भएर उनले षष्ठी देवीको स्तुति गरे। यहि समयदेखि छठ माताको पूजाको शुरुवात भयो ।
शास्त्रमा भगवान सूर्यलाई गुरु पनि भनिन्छ । पवन पुत्र हनुमानले सूर्यसंग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय प्राप्त गरेका थिए ।
श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग लागेको थियो । त्यस समयमा उनले सूर्यको उपासना गरेर यो रोगबाट मुक्ति पाएका थिए । सूर्यको पूजा वैदिककाल भन्दा पनि पहिलेबाट भएको पाइएको छ ।
त्यस्ता प्रमुख देवी–देवताहरुमा सूर्यको स्थान रहेको छ, जसको पूजा सबैभन्दा पहिला गर्ने विधान रहेको छ । पञ्चदेवमा गणेश, दुर्गा, शिव, विष्णुका साथमा सूर्य पनि पर्छन् ।
भगवान सूर्यले आफ्ना भक्तहरुलाई आयु, आरोग्य, धन–धान्य, सन्तान, तेज, कान्ति, यश, वैभव र सौभाग्य प्रदान गर्छन् । उनले सबैलाई चेतना पनि प्रदान गर्छन् । सूर्यको उपासना गर्नाले मनुष्यलाई सम्पुर्ण रोगहरुबाट छुटकारा प्राप्त हुन्छ ।
सूर्यलाई ब्रह्माको तेज पनि भनिन्छ । सूर्यले धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्नुको साथै सम्पुर्ण संसारको रक्षा पनि गर्छन् ।
सूर्यको पूजा गर्दा जलको अर्घ दिइन्छ । पवित्र नदीहरुको जलले सूर्यलाई अर्घ दिने र नुहाउनुको विशेष महत्व रहेको पाइन्छ । सूर्य पूजामा जसरी सूर्यको प्रकाश एकनास यो धर्तीमा पर्छ । उहाँको कृपा र उपकार पनि एकनास रहन्छ भन्ने चलन छ, त्यही भएर यो पूजाप्रति समाजको हरेक वर्ग र जातिमा गहिरो श्रद्धा पाइने गरेको छ ।
कार्तिक शुक्ल चतुर्थीबाट छठको व्रतको थालनी हुन्छ । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादको रुपमा ग्रहण गर्छन् । वास्तवमा यो तीन दिनसम्म छठ पूजाको लागि शारीरिक र मानसिक तयारी हो । तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । यो दिन व्रतालुसँगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् । चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ ।
उमाशंकर यादवजी, बारा जिल्लाबाट भन्नु हुन्छ, ‘छठ भनेको आस्थाको महापर्व हो यो पर्वमा सुर्यको उपासनाको पर्व पनि भनिन्छ,यो पर्व मा व्रतालु हरुले आफ्नो परिवारकोसुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गर्दछन् । यो पर्व मा मेरो पुरा आस्था छ र अहिलेसम्ममा मेरो परिवारको आस्था अनुसार सोचेको पुरा भएको छ । मैले मेरो साथीहरुको लागि गरेको प्रार्थना पुरा बहेको छ त्यस कारण मलाइ छठ प्रति पूर्ण विश्वास छ ।’
उभौली/ उधौली
नेपालका किरात समुदायहरुले मनाउने एक ठूलो चाड हो बाली लगाउने बेला, उभौली र बाली उठाउने बेलामा उधौली भूमि पूजा गरि मनाउने र साकेला नाच्ने, आफन्तजानहरुसँग भेटघाट गर्ने, सँगै खानपिन गर्ने चलन । यसलाई साकेला पर्व भनिन्छ । ऋतु परिवर्तनको संकेत दिने यो पर्व बैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाउने चलन छ । उभौली पर्वमा पनि भूमि पूजा अर्थात धर्तीको पूजा गरिन्छ ।
उभौली किरातहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हो । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैवी प्रकोप तथा प्राकृतिक विपत्तिहरू नआउन् भनि पुजा गरिन्छ, यस चाडमा सुनुवार र राईहरू साकेला, सखेवा शिली नाच्छन् भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन् । किरातीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
उधौली चाड नेपालका साथै संसारभरी छरिएर बसोवास गर्ने भुमिपुत्र मुलवासी किरात समुदायले विशेष सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।
खेत, बारीमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुल्क पूर्णिमाको दिनको यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।
किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । यस्तै उधौली, उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।
‘सबै आफन्तजनहरु जम्मा भएर पूजा गर्ने स्थलमा जाने चलन छ, अनि आफ्नो धामीकोमा थुन्सेमा रोटी, छ्याङ्ग, रक्सी र उसिनेको मकै बोकेर जाने चलन छ । त्यसपछि धामीसँगै पूजा स्थलतिर लाग्ने । ठुलो चौर, रुखको फेदमा पूजा गर्न गरिन्छ । धामीले पितृहरुलाई सम्झेर नाम भनेर पूजा गर्ने चलन छ ।
कुखुराको पोथी मुखबाट चिरेर काट्ने र त्यसको रगतले पूजा स्थललाइ घेरा बनाउने आफ्नो–आफ्नो घरबाट ल्याएको प्रसाद पितृहरुको नाममा छ्यांग, रक्सी, रोटीहरु उसिने मकै, आफ्नो पितृहरुलाई सम्झेर धामीले पितृहरुलाई सम्झेर नाम भनेर पूजा गर्ने चलन छ । त्यसपछि सबै साकेला नाच्ने चलन छ’ सोलुका सौमाया राईको भनाइ छ, ‘यो पर्व खालिङ्ग राईहरुमा यसरी मनाउने चलन छ ।’
जनै पुर्णिमा
हिन्दु धार्मिक शास्त्र अनुसार हरेक बर्ष साउन महिनाको शुक्ल पूर्णिमा तिथिको दिन मनाउने हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्निमा नयाँ जनै धारण गर्ने तथा विधीवत रक्षाबन्धन र ऋषितर्पण गरी धुमधामका साथ मनाउने पर्व हो, विधीवत ऋषि तर्पण गरी वैदिकविधि पूर्वक मंत्रित नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई जनभाषामा जनैपूर्णिमा भनिएको छ ।
जनै पूर्णिमा तथा रक्षाबन्धनका दिनले विभिन्न धार्मिक एबं पौराणिक प्रसङ्गहरु सम्झाई राखेको हुन्छ । भविश्यपुराणमा उल्लेख्य भए अनुसार सत्य युगमा बारम्बार युध्दमा दानव राज दानवेन्द्र महाबली हारेर देवराज इन्द्र समेत लखेटिएका समस्त देवगणलाई सुरक्षा हेतु गुरु वृहस्पतिले रक्षा विधान तयार पारी बाँधेको मंत्रित रक्षा सूत्रका कारण नै देवराज इन्द्र विजयी भएका थिए भन्ने पौराणिक कथनबाट अभिप्रेरित रक्षाबन्धनको परम्परा हिन्दुहरुको लागि आजसम्म मानिदै आएको छ ।
त्यसैगरी, श्रीमद भागवद महापुरणमा वर्णन भए अनुसार जप, तप र तपस्याबाट भगवान बिष्णुलाई आफुसँग बस्न बाध्य तुल्याउन सक्ने दानवराज बली लाई बिष्णु भगवान नफर्किएर चिन्तित माता लक्ष्मीले चतुर्याई का साथ रक्षा बन्धन बाँधेर आफ्नो भाइ बनाई दानावराजको कब्जाबाट बिष्णु भगवानलाई मुक्त गरेको दिन साउन शुक्ल पूर्णिमाकै दिन हो ।
अर्को कथनअनुसार यमदूत ले आफ्नी बहिनी यमुनासँग राखी बाँध्ने क्रममा जस जसले यसदिन पवित्रताको राखी बाँध्छन्, ति सबै यमदुतका सजाय र भयबाट मुक्त हुन्छन् भनी दिएको बचनअनुरुप राखी बाँध्ने प्रचलन आएको भन्ने किंवदन्ती छ । यस दिन सबैजना जनै लगाउन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यसदिन सबैले ब्राह्मण पुरोहित तथा भान्जाहरुसँग रक्षा बन्धन बाध्न लगाउने चलन छ ।
ब्रह्माण्डहरुले गाउँघरमा सबैतिर गई सबै मानिसलाई रक्षा बन्धन बाँधेर टिका लगाई दिने गर्दछन् । जनै पूर्णिमा अर्थात रक्षा बन्धनको पावन दिनमा नेपाल लगायत भारतमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र स्वथ्य सफल जीवनको कामना गरी अनेक थरिका कलात्मक राखी बाँधी आफ्ना दाजु भाइबाट आफ्नो रक्षाको वचन लिने गर्दछन् ।
काठमाडौँको नेवार समुदायमा गुन्हुपुन्ही भनि मनाइने चलन छ । आफ्नो विभिन्न किसिमका स्वरबाट वर्षा र खेतीको बारे कृषकलाई जानकारी दिने भयागुताले गठेमंगलका दिन नरभक्षी घण्टासुर लाई बाटो भुलाई खाल्डोमा जाकिदिएकाले नेवार समुदायका मानिस जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन भ्यागुताको पूजा गर्ने र उसलाई खेतमा लगेर खाना खुवाउने चलन रहेको छ ।
विशेषगरी यस दिन नेवार समुदाय मा नौ थरी गेडा गुड़ी मिसाई भिजाएर टुसा उम्रे पछि क्वाँटी बनाई खाने र आफन्तलाई खुवाउने चलन छ । यसरी बनाएको क्वाटी खानाले पेट सफा हुने र बर्षाका कारण चिसो भएको शरीरबाट सर्दी बाट जोगाउने भन्ने विश्वास गरिन्छ ।
जनै पुर्णिमा र पाँचपोखरी तथा जटापोखरी :
दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. १ श्यामामा अवस्थित जटापोखरी वा पाँचपोखरी घ्वाङ्ग खोलाको सिर अर्थात मुहान मूल हो समुन्द्री तह बाट लगभग ४ हजार भन्दा बढी उचाइमा रहेको छ । ‘सडक न भए पनि गोरेटो बाटोको निर्माण, पूजारी बस्ने व्यवस्था भए अति राम्रो’ जिरी नगरपालिका वडा नं. ६ को अध्यक्ष मरिचबहादुर खडकाले बताउँछन् । खोला, झरना, र खोल्सीले भरिपूर्ण भएको सुन्दर प्राकृतिक उपहारले सबैलाई मनमोहक बनाउँछ ।
हिन्दु र बौद्धधर्मावलम्बीहरुको धार्मिक आस्था र विश्वासको प्रतीक पनि रहेको पाइन्छ र धार्मिक संगमस्थल पनि रहेको पाइयो । पौराणिक किंवदन्ती अनुसार ४ हजार ५ सय १४ मिटरको उचाइमा रहेको पाँचपोखरी, माता पार्वतीले पाँचवटा पाँचकुने कुण्ड बनाएर तपस्या गरेको ठाउँ हो भन्ने गरिँदो रहेछ । यस्तै ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरीलाई महादेवको जटा भएको स्थानको रूपमा लिने गरिएको रहेछ । पाँचपोखरीबाट निस्किएको पानी जटापोखरी झर्छ । जटापोखरीको पानी घ्वाङ खोलामा हुँदै र खिम्ति खोलामा मिल्न आइ पुग्छ ।
प्रत्येक वर्षको जनै पूर्णिमाका दिन पाँचपोखरी तथा जटापोखरीमा भव्य मेला लाग्छ । मेलामा दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु तथा अन्य जिल्ला तथा भारतबाट समेत दर्शनार्थीहरु ठुलो सङ्ख्यामा आउने गरेका पाइन्छ ।
जनै पूर्णिमा र गोसाइँकुण्ड :
प्रसिद्ध पर्यटकीय एवं धार्मिक तिर्थस्थल गोसाइँकुण्ड, समुद्री सतहदेखि ४३८० मिटरको उचाइमा रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र, रसुवा जिल्लामा अवस्थित छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ ।
यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । विभिन्न मार्गमार्फत गोसाइँकुण्ड पुग्न सकिन्छ ।
प्राकृति पूजा किन आवश्यक ?
समग्रमा विश्लेषण गर्दा कुण्ड ,पोखरी पूजा गर्नु भनेको नै प्रकृतिपूजा हो । खोला, नाला, भुमि, आकाश, वायु, बोविरुवा, पानी, बर्खा, सूर्य, पशुपन्छी तथा जनावरहरुलाई विभिन्न शक्तिको रुपमा आस्था राखेर पूजा गरेको पाइन्छ । यी सबैको पछि प्रकृति पूजा र वैज्ञानिक तथ्य पाइन्छ, जसले पृथ्वी, जलवायु, तापक्रमलाई सन्तुलन गरिरहेको हुन्छ ।
प्रकृतिपूजा मानव जीवनमा प्रत्यक्ष जोडिएको हुँदा हामीले लिने सास, अक्सीजन बोटबिरुवाबाट प्राप्त हुन्छ । हामीले फ्याल्ने कार्बन डाइ–अक्साइड बोट बिरुवाहरुले लिन्छ र शुद्धीकरण गर्छ । अनि हामीलाई सफा वायु प्रदान गर्छ । मानव जीवनमा उपयोग हुने औषधी यही प्रकृतिमा पर्याप्त मात्रामा पाइन्छ ।
जस्तै हिमाली भागमा पाइने यार्सागुम्बादेखि शिलाजित अनि अरु आयुर्वेदिक औषधिहरु जसले हाम्रो शरीरमा प्रतिरक्षा शक्ति बढाउँछ । प्रकृति मानव अनुकूल छ, जबकि अहिलेको आधुनिकवादले मासिएको प्रकृति र विकासले विनास निम्त्याई रहेको छ । प्रकृतिलाई सम्मान, संरक्षण अनि माया चाहिन्छ अनि मात्रै हामी त्यसको सुन्दर छहारीमा हुर्कन सक्छौँ । प्राकृतिक विपदबाट पनि जोगिन र जोगाउन सक्छौँ ।
प्राकृतिक विनासका धेरै वटा रुपहरु छन् । जस्तै बाढीपहिरो बढ्दो तापक्रम, पानीको मुहानहरु सुक्नु, हिमपहिरो, ओजन तहहरुको घट्दै जानु, जलवायु परिवर्तन हुनु, बोट विरुवाहरु मासिदै जानु, कृषिमा उपजनी नहुनु, अन्नबालीमा रोग लाग्नु इत्यादि ।
यस्तै विपदहरु, प्रकृति रुष्ट भएको अवस्थामा आउने हो यसकारण प्रकृतिलाई सम्मान, संरक्षण गर्नुपर्छ । हामी सबैको हित हुने छ र मानव जगत लगायत सिंगो वातावरणलाई सुखद, शुद्ध र स्वस्थ बनाउने छ । हामी नेपालीहरु प्रकृतिले भरपूर, आनन्दित बनाउने ठाउमा छौँ, गर्व गर्न सक्छौँ । तर प्रकृतिको महत्व र वैज्ञानिक तथ्यहरु बुझ्न र संरक्षण गर्न आवश्यक छ ।
(लेखक प्राध्यापक हुनुहुन्छ)