Logo
Logo

प्रज्ञामा ‘अछामी साहित्यको वर्तमान अवस्था’बारे विमर्श


315
Shares

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १४औँ शृँखला अन्तर्गत यसपाली ‘अछामी साहित्यको वर्तमान अवस्था’बारे विमर्श गरिएको छ । कार्यक्रमको प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै शाहीले अछामी साहित्यको परिचय, नेपाली भाषासँगको बोधगम्यता, ऐतिहासिक, राजनीतिक र सामाजिक मान्यता, अनुसन्धान, नाम र मूल स्थानिक, क्रिया र विशेषणका बिच सङ्गति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राखेका थिए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा–प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताए । अछामी भाषा र साहित्यको बारेमा डा.हर्कबहादुर शाहीले महत्त्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेको मा कुलपति राईले चर्चा गरेका थिए ।

नेपालमा जेजति भाषाहरू छन्, ती सबै नेपाली सम्पदा भएकाले यसको संरक्षणमा लागिपर्ने बताए । उनले नेपालमा गणतन्त्र स्थापना भएपछि प्रत्येक जातजातिका भाषाभाषी सूचीकरण भएकोमा खुसी व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागमार्फत भाषा अभियानमा रहेको बताए । उनले त्यही अभियानले नै मातृभाषाबिच सहकार्य भइरहेको बताए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले अछामी भाषा र साहित्यको थप अनुसन्धान गर्न जोड दिए ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै आज डा.हर्कबहादुर शाहीले प्रस्तुत गरेको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले ठुलो प्रभाव पार्ने बताए ।

यस्तै, प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रवार खालिङ भाषा साहित्य बारे बहस हुने बताएका थिए । उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा.सोम धिमाल, शिवप्रसाद जोशी, भूपध्वज, यासेली र शाक्य सुरेनले आआफ्नो जिज्ञासा राखेका थिए ।

कलाकार हिरन राईले ‘बिनायो र पात’ बजाएर रैथाने बाजाको धुन प्रस्तुत गरेको कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी, जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्