Logo
Logo

असोज २ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘मुक्कुमलुङ’ मञ्चन हुँदै


3.3k
Shares

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक मञ्चन हुने भएको छ ।

प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेकोे मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् भने स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ रहेका छन् ।

नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, युवाहाङ राई, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय रहने भएको छ ।

यसैगरी उक्त नाटकको संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासंग्रह डोलीभर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छ ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्