त्यही उमेर आनन्दमय थियो
सिन्का–सिन्का जोडेर
घर आँगन बनाएको
पिपलका पातहरु पट्याउँदै
एक थाक राखेको ।
अनि, स–साना भाँडा–कुटीमा
माम पकाएर
भविष्यको परिपक्वतालाई
आभाष गरेको
अनि, आनन्दित हुँदै
साथी–संगी सँग
‘चि मुसी चि मुसाले खायो धान’
भन्दै एक–अर्काको हातमाथि
हात राख्दै खेल्दै
दिन बित्थ्यो ।
अनि साँझ परेपछि
डोरी, खो–खो अनि अन्ताक्षरी खेल्थियौँ
आज कहाँ हराए ?
ति साथीसंगीहरु कहाँ गए ?
आज न त त्यो आभाष छ
न त्यो आनन्द छ
न त्यो भाडा–कुटीको मामले पुग्छ
न त्यो पिपलको पातले
केही किन्न मिल्छ ।
झलस्स आँखा अघि
घुमि रहन्छ ।
सपना हो कि विपना
बाबा–आमा,
फेरि त्यही बालापनमा फर्किन मन छ
ए, समय पर्खी न
एकचोटि पछि फर्किन मिल्दैन ?
मिल्छ भने फर्काइ देऊ
मेरा हरेक खुशीहरु ।
त्यही पिपलको पातमा रमाउन मन छ ।
त्यही साथीसंगी सँग रमाउन मन छ
यहाँ मानिसको स्तर जोखिने
पिपलको पातहरु
ति पिपलको पातहरुलाई डाँडामा बसेर
बताससँगै उडाउन मन छ ।
ति भोकाएकोहरुले बटुल्ने गरि
जसका अघि सबै आदर्शहरु फिका भए ।
ए, समय
मेरा सबै आभाषहरु अनि आनन्दमय पलहरु
फर्काइ देउ ।
बाबा, किन कहिले सिकाउन भएन कि
पिपलको पातै तिम्रो सम्मान, सत्कार हुनेछ ।
सधैं सत्य, अहिंसा, इमानदारी
र लगनशीलताको पाठहरु पढे ।
खै, आज त मात्रै पिपलका पातहरु
भन्दा बाहिर केही देख्दिन ।
ए, समय
फर्काइ देउ मेरा ति अनमोल क्षणहरु !
–तारा तामाङ ‘सुनाखरी’
भिमेश्वर नगरपालिका, दोलखा