काठमाडौं । नेपाली सेनाको कमाण्ड परिवर्तन भएपछि अघिल्लो सेनापतिले गरेका कतिपय निर्णयहरू उल्टिन थालेका छन् । तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले गरेका निर्णयलाई अशोकराज सिग्देलले उल्टाएका छन् ।
नेपाली सेनाले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकार(मिलाड) पदमा उम्मेदवारी नदिन भएको निर्णयमा सिग्देलले उम्मेदवारी दिनका लागि उपरथिलाई अनुमति दिएका छन् । यो निर्णयले राष्ट्र संघमा नेपाली सेनाको उच्च तहमा पुग्ने संभावना बढेको छ ।
सैनिक उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सो पदमा उम्मेदवारी दिने निर्णय भएको हो । आफूसँग योग्य अधिकृतहरू हुँदाहुँदै पनि नेपाली सेनाले संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा उम्मेदवारी नदिने निर्णय गरेकोमा सेनाको माथिल्लो तह असन्तुष्ट थियो ।
सैनिक नेतृत्वमा परिवर्तनसँगै सो निर्णय पनि उल्टिएको सैनिक उच्च स्रोतले जनाएको छ । सो पदमा जर्नेल प्रेमध्वज अधिकारीलाई दाबी गर्न अनुमति दिएको स्रोतले जनाएको छ । निवर्तमान प्रधानसेनापति शर्माले नेपाललाई उम्मेदवारीको अवसर र सम्भावित नियुक्तिको अवसरलाई लत्याउँदै तत्काल सेनामा तीनतारे जर्नेल पर्याप्त नभएको भन्दै सो पदमा नेपाललाई दिइएको उम्मेदवारी मनोनयनको अवसर नलिने अर्थात् सो पदमा नेपालले दाबी नगर्ने निर्णय गरेका थिए ।
यसले योग्यतम जर्नेलहरूको क्षमतामाथि प्रश्न उठेको मात्रै होइन कि युएन संरचनामा संसारकै शक्तिशाली सैनिक पदमध्ये एक मानिएको सैनिक सल्लाहकारको सो पदमा नेपालले दावेदारी प्रस्तुत गर्नबाट बञ्चित भएको थियो ।
प्रधानमन्त्री ओलीले सेनापति शर्माको सो निर्णय तत्काल पुनर्विचार गरी सक्षम जर्नेललाई सो पदमा दावेदारी पेश गर्न कामु रहेको बखत हालका सेनापति सिग्देलसँग बेग्लै परामर्श गरी दुबै जनाको निर्णयमा नेपाली सेनाले सो पदमा दावेदारी पेश गर्ने भएको हो ।
नेपालले यति ठूलो पदमा अवसर पाउँदा छिमेकी मुलुक असन्तुष्ट भएको र उसकै दवावमा दावेदारी पेश नगर्ने निर्णयमा पुरानो नेतृत्व पुगेको थियो तर यस्तो निर्णय धेरै समय टिक्न सकेन । युएनको शान्ति सैनिक मिसनमा नेपालको सहभागिता विश्वमै नम्बर एक मुलुकका रुपमा रहेको बेला सल्लाहकारको विशेष भूमिका रहन्छ ।