Logo
Logo

लकडाउन : निःशुल्क भोजन बन्द भएपछि भोकै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ जेठ । लकडाउन जारी रहँदा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क भोजनस्थल बन्द गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई समस्या पर्न थालेको छ ।
पशुपति क्षेत्रको सुमार्गी भवन, खुलामञ्च, स्थानीय तहका केन्द्रलगायत विभिन्न स्थानमा निःशुल्क स्थानीय सरकारको समन्वयमा विभिन्न संघसंस्थाले श्रमिक एवं विपन्न वर्गलाई भोजन गराउँदै आएका थिए । सुमार्गी भवनको भोजनस्थल बिहीबार बन्द गरिएपछि पशुपति क्षेत्रका सयौँ मानिस खान नपाइएको गुनासो गर्न थालेको बाल सारथी संस्थाकी अध्यक्ष माला खरेलले जानकारी दिएकी छन् ।
निःशुल्क भोजनस्थलमा धेरै मानिस जम्मा हुन थालेपछि प्रशासनले नै बन्द गरी वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको थियो । पशुपति क्षेत्रमा निःशुल्क भोजन गर्नेलाई बाल सारथीले राहत वितरण गर्न थालेको उनले बताए ।
प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र उनकी श्रीमती विमला मानन्धरको सहयोगमा श्रमिक एवं विपन्न वर्गका मानिसलाई राहत दिइएको हो । अन्य संघसंस्था एवं दाताले दिएको सहयोग वडा कार्यालयको समन्वयमा वितरण गरिएको अध्यक्ष खरेलले बताए ।
हालसम्म एक हजार श्रमिक, विपन्न एवं पशुपति क्षेत्रमा दाताको आशमा बस्नेलाई बाल सारथीले राहत वितरण गरेको छ । उपत्यकाका अन्य स्थानमा भने वैशाख २६ गतेदेखि नै निःशुल्क भोजन बन्द गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाका नौ वटै वडामा सञ्चालन गरिएको निःशुल्क भोजन बन्द भएपछि श्रमिक, विपन्न वर्गलाई के गर्ने भन्ने विषयमा छलफल चलाएको छ ।
नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले रोजगारसहितको राहत दिने विषयमा गृहकार्य गरिरहेका बेला उपत्यका बाहिरबाट भित्रनेका कारण कोरोनाको संक्रमण फैलिएपछि असहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्