Logo
Logo

चिकित्सक हत्यामा विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त


1.6k
Shares

एजेन्सी । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकिस्तकको रगतले लतपतिएको शव फेला परेपछि महिला विरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।

उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरे ।

बैठकपछि उनले पत्रकारहरूसँग भने, ‘हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौँ ।’ जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइने छ ।

मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हडतालले आपत्कालीन सञ्चालन प्रभावित भएको बताए ।

तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नु परेको छ ।

‘हामी केही विन्दुमा सहमत भएका छौँ तर असहमति कायमै छ’, महतोले भने । पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौँ प्रदर्शनकारीले सहरको सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए ।

हत्याको क्रुरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो ।

आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार हत्यासँग गर्न थालिएको छ ।

दिल्ली घटना प्रमुख राजनीतिक मुद्दा बन्यो र निर्वाचनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को सफलतामा एक कारकका रूपमा हेरियो ।

भाजपा मुलुकभरमा सत्तारूढ पार्टी हो तर पश्चिम बङ्गाल राज्य सरकारको नेतृत्व अखिल भारतीय तृणमूल काङ्ग्रेससँग छ ।

प्रतिक्रिया दिनुहोस्