Logo
Logo

मतदानको १० वर्षपछि पनि अधिकांश स्कटहरू स्वतन्त्रताको विरोधमा


315
Shares

एजेन्सी । पछिल्लो स्वतन्त्रता जनमत सङ्ग्रहको १० वर्षपछि मङ्गलबार प्रकाशित नयाँ सर्वेक्षणअनुसार अधिकांश स्कटहरू संयुक्त अधिराज्यको हिस्सा बनिरहन पुनः मतदान गर्नेछन् ।

सन् २०१४ सेप्टेम्बर १८ मा भएको मतदानमा ‘स्कटल्यान्ड स्वतन्त्र मुलुक हुनुपर्छ ?’ भन्ने प्रश्नमा करिब ५५ प्रतिशतले ‘हुन्न’ भन्ने जवाफ दिएका थिए भने ४५ प्रतिशतले ‘हुनुपर्छ’ भनेका थिए ।

एक दशकपछि सर्वेक्षणकर्ता युगभ (YouGov) ले समान विभाजनको खुलासा गरेको छ । सर्वेक्षणमा ५६ प्रतिशतले यथास्थितिमा रहनका लागि मतदान गर्ने र ४४ प्रतिशतले स्कटल्यान्ड एक्लै जानेमा समर्थन गर्ने बताएका छन् ।

स्वतन्त्रता समर्थक स्कटिश नेसनल पार्टी (एसएनपी) सन् २००७ मा एडिनबर्गमा सत्तालाई तल्लो स्तरमा प्रत्यायोजित गरिएको संसद्मा आएदेखि यो मुद्दा स्कटिश राजनीतिमा हावी भएको छ ।

सन् २०१४ को परिणामलाई एसएनपीको लामो समयदेखि चलिरहेको केन्द्रीय नीतिका लागि झट्काका रूपमा हेरिएको छ । लन्डनमा सरकारले यो मुद्दा एक पुस्ताका लागि सुल्झिएको आकलन गरेको थियो ।

तर मात्र दुई वर्षपछि बेलायतको युरोपेली सङ्घ (इयु) छाड्ने पक्षमा राष्ट्रव्यापी मतदानले बहसलाई पुनः सुरु गरेको छ । किनकी स्कटहरूको बहुमतले उक्त कदमको विरोध गरेको थियो ।

तत्कालीन इयु समर्थक एसएनपी नेता तथा एडिनबर्गमा प्रथम मन्त्री (स्कटल्यान्ड सरकार प्रमुख) निकोला स्टर्जनले ब्रेक्सिटले बेलायत युनियनका शर्तहरू परिवर्तन गरेको तर्क दिँदै अर्को मतदानका लागि दबाब दिए ।

आंशिकरूपमा स्टर्जनको लोकप्रियता र बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनको कोरोना भाइरस महामारीसँगको मुकाबिलामा भएको आलोचनाका कारण स्वतन्त्रताका लागि अधिक समर्थनको सङ्केत दिने सर्वेक्षण सन् २०२० देखि अगाडि बढ्यो ।

तर सन् २०२२ मा बेलायतको सर्वोच्च अदालतले बेलायत सरकारको अनुमतिबिना गैरबाध्यकारी सल्लाहकार जनमत सङ्ग्रह आयोजना गर्न रोक लगाएपछि उक्त मुद्दा सेलाएको छ ।

हाल जोन स्वाइनीको नेतृत्वमा रहेको एसएनपी प्रशासनले पनि स्वास्थ्य र शिक्षाजस्ता दैनिक मुद्दाहरूको मूल्यमा स्वतन्त्रतालाई अगाडि बढाएकामा सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।

भविष्यमा कुनै पनि जनमत सङ्ग्रहमा कसरी मतदान गर्ने भन्ने प्रश्नको जवाफमा ‘थाहा छैन’ भन्ने आठ प्रतिशत स्कटले ‘दुवै पक्षका लागि लचकतापूर्ण’ अवस्था दिएको युगभ (YouGov) ले बताएको छ ।

एक हजार ६३ मानिसमाथि गरिएको सर्वेक्षणमा युवा मतदाताले स्वतन्त्रताको समर्थन गर्ने अधिक सम्भावना देखिएको छ भने वृद्ध मतदाताहरूले निरन्तर संयुक्त अधिराज्यलाई प्राथमिकता दिएका छन् ।

बहुमत (५१ प्रतिशत) ले स्वतन्त्रतालाई पछिल्लो दशकमा धेरै ध्यान दिइएको बताएका छन् भने अधिकांश (७० प्रतिशत) ले आगामी १२ महिनामा अर्को मतदान नचाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्