Logo
Logo

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित


504
Shares

काठमाडौं । दृष्टि मिडियाका अध्यक्ष एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८१’बाट सम्मानित भएका छन् । 

बुधबार (आज) एक समारोहबिच करेन्ट मिडिया एन्ड रिसर्चका अध्यक्ष प्रदीपा गौतमले श्रेष्ठलाई नगद रु. एक लाखसहित सम्मान गरेका हुन् । श्रेष्ठसहित गेहेन्द्रमान अमात्य र रघु घिमिरे पनि सम्मानित भएका छन् । 

२०३८ सालमा नेपाल पोस्टको सहयोग साथ प्रकाशित ‘मायालु’ पत्रिका श्रेष्ठको नाममा दर्ता भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन र नेपाल पोस्टलाई निरन्तरता दिन उक्त पत्रिका श्रेष्ठले सहयोद्धाको रुपमा देवेन्द्र गौतमलाई प्रकाशन गर्न दिएका थिए । 

नेपाल पोस्टको सहयोगमा प्रकाशित मायालु पत्रिका २०३८ सालको ‘गाईजात्रा’ अंक तत्कालीन पञ्चायती शासकहरूले प्रतिबन्ध लगाएर गौतम र श्रेष्ठलाई राज्यविरुद्धको अभियोग लगाइएको थियो । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा नेपाल पोस्टको ठूलो योगदान थियो । 

नेपाल पोस्ट पत्रिकामाथि पटक–पटक प्रतिबन्ध लगाएपछि नेपाल पोस्टको सहयोगसाथ धेरै पत्रिकाहरू निरन्तर प्रकाशित भए । नेपाल पोस्टका सम्पादक गौतम जेल परेपनि ‘नेपाल पोस्ट’ले निरन्तर संघर्ष गर्‍यो । पत्रकारिताकै सिलसिलामा गौतम धेरै पटक जेल परे, मण्डलेहरूको आक्रमणबाट घाइते भए तर पनि आफ्नो आस्था र निष्ठालाई गौतमले डग्न दिएनन् । 

आजको कार्यक्रममा श्रेष्ठले प्राप्त गरेका रु. एक लाख रुपैयाँ इटहरीका पत्रकार पिवी दियालीलाई स्वास्थ्योपचार खर्चका लागि दिने घोषणा गरेका छन् । 

इहटरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक दियालीले हालै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका छन् । उपचारको क्रममा वीर अस्पतालमै रहनुभएका दियाली समाजवादी प्रेस संगठनका संस्थापक छन् । 

प्रतिक्रिया दिनुहोस्