युनिभर्सिटीले यसपालिको घुमघाममा फुचौ, स्यामन र युयुशान लाने कुराले मन खुसी भयो । यसपालिको भ्रमणमा जाने विद्यार्थीको संख्या ठूलै थियो । यो भ्रमण मेरो निम्ति अलि फरक खालकै भयो । ट्रेन चढ्ने बेला आफ्नो वरिपरी यात्रुहरूलाई नियालेँ । सबै जसो नै आफ्नो भन्दा गोरो छालाका थिए । युरोप, अमेरिकाका त पक्का गोरा भैगए, एशियालीमा पनि मबाहेक जापानी र चिनियाँ थिए– सबै नै गोरा । सबभन्दा गाढा रङ्ग त मेरै ।
अफ्रिकी, अरबीहरू कोही थिएनन् । त्यसैले पनि आफूलाई विशेष नै ठानेँ । ‘तेस्रो विश्व’बाट पनि म एक्लै नै थिएँ । युनिभर्सिटीका प्रायः साथीहरूसँग म मिल्ने नै थिएँ । मलाई पनि प्राय सबैले मन पराउने नै गर्थे । हिजोसम्म नचिनेका अर्कै कक्षाका विद्यार्थीहरूसँग पनि घुलमिल हुन खोजेँ ।
त्यो बेला अहिलेजस्तो चिनियाँहरू पर्यटकका रूपमा हुलका हुल विदेश घुम्न जान थालिसकेका थिएनन् । एक त अहिलेजस्तो धनी भइसकेका थिएनन् । अर्को कुरा भर्खरै मात्र खुला भएको चीनबाट निस्कन अझै गाह्रै थियो होला ।
त्यो बेला पश्चिमा देशका बारेमा चिनियाँहरूले मनमा कोरेका चित्र अलि बढी नै रङ्गिन हुन्थ्यो र विदेश जान पाए के–के न हुन्थ्यो भन्ने सोँच धेरैमा थियो । त्यसैले कोही कोही चिनियाँ शिक्षकहरू समेत गोरा छालाको पछि लाग्थे । मौका पाउना साथ विदेश कसरी जान सकिन्छ भनेर कुरा गर्थे ।
विद्यार्थीहरुमध्ये एक जर्मन केटा थिए– आफ्नो चिनियाँ नाम माओ चसि राखेका । झट्ट सुन्दा अध्यक्ष माओ भने जस्तो सुनिने । त्यति धेरै विद्यार्थीका बीचमा उनी विशेष लाग्थे– सहयोगी, चलाख र सक्रिय पनि । ती चिनियाँहरूलाई पनि उनी झिँजो नमानि सल्लाह दिन्थे । अरु गोरा विद्यार्थी त यस्ता प्रश्नबाट दिक्क भएर जवाफ दिनै छोडिसकेका थिएँ ।
म बुद्धको देशबाट गएको भनेर ती जर्मन माओ चसि बुद्ध र बौद्धधर्मको बारेमा निकै चासो राखेर कुराकानी गर्थे । कुनै बेला नेपाल पुग्ने रहर पनि सुनाउँथे । त्यो बेलासम्म दुई जर्मनी बीचको बर्लिनको पर्खाल अझै भत्किसकेको थिएन । उनी पश्चिम जर्मनीका थिए ।
मैले सोधेकी थिएँ– तिम्रो देशमा बिचमा किन पर्खाल ? त्यो पर्खाल भत्काउन असम्भव कुरा हो भन्थे । पछि त त्यो पनि आखिरमा भत्किएरै छोड्यो । नित्य भन्ने कुरै के छ र ? बर्लिनको पर्खाल भत्किएपछि उनलाई धेरै सम्झेकी थिएँ ।
यो भ्रमणमा मैले विभिन्न देशका साथीहरू बनाएकी थिएँ । अझ समुद्र नभएको देशकी म त्यहाँ पुगेर समुद्रलाई नै साथी बनाउन पाएजस्तो गरि रमाएकी थिएँ । स्यामनमा हुँदा पानीजहाजको अनुभव पनि भयो– जीवनमै पहिलो चोटी । रातभरी समुद्रसँग कुरा गर्दै बिताएँ ।
जहाजभित्र हाम्रो कोठा आठ बेडको रहेछ । ६ वटा देशका विद्यार्थीहरू सँगै परेका थियौँ । बेड नं ४३, ४४ मा दुईजना जापानी केटी थिए । उनीहरू मिल्ने साथी पनि रहेछन् । आफ्नै स्वभावका भएकाले अरुसँग उनीहरूको खासै हेलमेल थिएन, आफैमा खुसी थिए । बरु अलि सस्तोमा प¥यो भनेर प्रशासनका शिक्षकहरूसँग असन्तुष्टि देखाइरहेका थिए ।
बेड ४५ को माथिल्लो डेकमा माओ चसि नै थिए । त्यसको मुनि ४६मा एउटा चिनियाँ अमेरिकन मोटे केटा थिए । उनी आफूलाई पक्का अमेरिकन ठान्थे । तर, अनुहारले भने पक्का चाइनिज नै देखिन्थे । मोटो र हलचल त्यति नगर्ने भएकोले साथीहरू पिग्गी भनेर जिस्क्याउँथे । उनका बाबु क्यान्टनका रहेछन् ।
एउटा नक्कली सुनको सिक्री लगाएको पनि देखेँ– घुमघामकै क्रममा किनेजस्तो लाग्यो । दिउँसो खानेबेला संयोगले म उहीसँग परेको थिएँ । कुराकानीमा खासै चासो देखाएनन् । पैसा सकिएर हो कि, ‘डाइट कन्ट्रोल’ गर्न हो थोरै मात्र खाए ।
‘स्यामन महंगो ठाउँ हो, ठगहरू पनि धेरै हुन्छन्, होस गर्नु है किनमेल गर्ने बेला !’ भनेर शिक्षकहरूले नै सचेत गराएका थिए । उनीहरूले भन्दाभन्दै पनि दुईपल्ट त म ठगाईमा परिहालेँ । एकठाउँमा लुगा किन्न मन लागेर किनिहालेँ, भरे त पुरानो लुगालाई नयाँ बनाएको रहेछ । त्यो देख्ना साथ फिर्ता गर्न खोजेको झगडा पो गर्न खोज्यो पसलेले ।
शिक्षकहरू समेत मलाई मद्दत गर्न गइदिए र पसलेलाई थर्काउन ‘हेर, यिनी त भारतकी नागरिक हुन्, लेखक पनि हुन् । भारतीय पत्रिकामा लेखिन् भने हाम्रो देशको बेइज्जत हुन्छ…’सम्म भने । तर, ती ठगलाई के मतलब !
त्यस्तै, अर्को ठाउँमा ५० युआन पर्ने एउटा चीज किनेर सय युआन दिएकी थिएँ, ५०युआन त फिर्तै गरेन । फिर्ता पैसा माग्दा– ‘तिमीले ५० युआन् नै दिएको हो’ भनेर जिद्दी गरिरह्यो । अझ अरु वरिपरीका व्यापारीहरूले पनि उसकै साथ दिए ।
भर्खरै खुला बजारको अभ्यास गर्न थालेकोले होला, त्यो बेला यस्ता विकृति धेरै थिए । त्यहाँ त माग्नेहरूको हूल पनि देखेँ । दुई ठाउँबाट नमीठो अनुभव लिइसकेपछि अब भने शिक्षकहरूले भनेअनुसार सतर्क हुन थालेकी थिएँ । घुमघामले पाठ पनि सिकाइरहेको हुन्छ, तर कुनै बेला भने पाठको मूल्य अलि महङ्गै पनि पर्दोरहेछ ।
दिनभरीको भोगाईले गर्दा रातलाई यसैपनि खजाना पुगिसकेको थियो मलाई । मेरो निद्रा उसै त पातलो, त्यो राति त झनै अनेक घटना घटे । मसँगै ४२ नम्बरमा अमेरिकी डेना थिइन् । ज्यादै सोझी थिइन् उनी । आफ्ना आमाबाबुले भर्खरै डिभोर्स गरेको खबरले ज्यादै तनावमा थिइन् । छिनछिनमा आफ्नो घरको कुरा गर्दै रुन खोज्थिन् । एउटी बहिनीको असाध्यै चिन्ता थियो उनलाई ।
अर्को बेडमा जर्मन इभा र उनको माथिको डेकमा फ्रेन्च केटी सिसिल थिइन् । उनीहरू आ–आफ्नै स्वभाव अनुसारका गफ गर्दै थिए । भिन्दाभिन्दै भाषा, संस्कृति र स्वभावलाई हेर्दै, सुन्दै निदाउन खोजेँ । तर, निद्रा परेन । अनि जहाजकै सानो झ्यालको प्वालबाट राति समुद्र कस्तो देखिन्छ होला भनी हेरिरहेँ बच्चाले जस्तै ।
समुद्र नभएको देशकी म पहिलोपटक समुद्र भेट्दा, समुद्रसँग रात कटाउन उत्साहित थिएँ । तर, संयोग कस्तो प¥यो भने ठिक त्यही बेला, समुद्रकै कारण– अझ भनूँ मेरो देशको आफ्नो समुद्र नभएका कारण, लामै समयसम्म निद्रा हर्ने घटना मेरो देशमा घटिरहेको रहेछ ।
राती जहाजको प्रसारणबाट आइरहेको समाचारमा ‘निपोर्अ’ भनेको सुनेँ । चिनियाँहरू नेपाललाई निपोर्अ भन्छन् । ध्यान दिएर सुनेको त नेपालमा भारतले नाकाबन्दी गरेको समाचार रहेछ । त्यो रात मात्र होइन, त्यसपछिका धेरै रात काट्न गाह्रो भयो मलाई ।