Logo
Logo

‘संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित’


252
Shares

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सङ्घीय, समानुपातिक, धर्मनिरपेक्ष र समावेशी विशेषता बोकेको नेपालको संविधान कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र नेपाली जनता एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘संविधानमा उल्लेख गरिएका कुरा सबै कार्यान्वयन भएका छैनन् भन्नु अहिले नै उपयुक्त नहोला ।’ प्रदेश प्रमुख जोशीले यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र जनताको अवस्था बदलिने जिकिर गरे ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान लेख्दा कालो अक्षर भएपनि जनताको रगतबाट लेखिएको संविधान भएको उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कमी कमजोरी मात्र नभई विकल्प खोज्ने छुट रहेको उनले जनाए । यद्यपि यसको कार्यान्वयनमा तीन तहका सरकारको आपसी समन्वय हुनुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान नेपाली जनताको हकअधिकारका सर्वाङ्गीण क्षेत्रको दस्तावेज रहेको बताए । उनका अनुसार ऐतिहासिक उपलब्धिको रक्षा संविधानको परिपालनाबाट मात्र हुन्छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले संविधानमा व्यवस्था गरिएका हकअधिकार लागु हुन सकेमात्र मुलुकको समृद्धि र विकास हुने बताए । ‘करिब तीन दर्जन हाराहारीमा मौलिक हक छन् र ती सबैको कानुन बनेको छैन’ उनले भने, ‘एकल तथा साझा सूचीका अधिकारअनुसार जान कञ्जुस्याई गर्दा संविधान र सङ्घीयता कार्यान्वयनमा चुनौति थपिएको छ ।’

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकसहित नागरिकको हित हुने बताए । अहिलेको अवस्थाबाट माथी उठेर सबै तह, निकाय अर्थात क्षेत्रले आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गरे सुशासन कायम हुने एवं संविधानअनुसार अपेक्षित गन्तव्यमा पुग्न सकिने प्रमुख सचिव पौडेलको भनाइ थियो । –रासस

प्रतिक्रिया दिनुहोस्