Logo
Logo

प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा


378
Shares

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज हेटौँडामा आयोजित विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितमा हुनेगरी काम अघि बढाइएको बताए ।

युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरेर प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्दै उहाँले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताए ।

‘खेलकुद राष्ट्रको गहना मात्र होइन यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ’, मुख्यमन्त्री लामाले भने, ‘यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ ।’

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद र खेलाडीले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रदेश सरकारले कार्यविधि तयार गरेर खेलाडीलाई सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने योजना रहेको बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पलेशालाई सम्मान

बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्नुभएका पलेशा गोवर्धनलाई आज नगद सहित सम्मान गरेको छ ।

संविधान दिवस २०८१ को अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले संयुक्त रुपमा गोवर्धनलाई नगद रु १० लाख सहित सम्मान गरे ।

सो कार्यक्रममा १९औँ एसियाली खेलकुद प्रतियोगितामा करातेमा नेपाललाई रजत पदक दिलाउनुभएका एरिका गुरुङलाई नगद रु पाँच लाख, पेरिस पारा ओलम्पिकमा कास्य पदक बिजेता पेलाशाका प्रशिक्षक कविराज नेगीलाई नगद रु दुई लाख तथा एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठलाई नगद रु एक लाखसहित सम्मान गरेको छ ।

त्यस्तै मुख्यमन्त्री लामाले नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश समिति र नेपाल कराते महासङ्ंघ बागमती प्रदेश समितिलाई नगद रु एक/एक लाख प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्