Logo
Logo

लाइसेन्स भएपनि हातहतियार सार्वजनिक स्थलमा बोकेर हिँड्न रोक


315
Shares

काठमाडौं । सरकारले इजाजत प्राप्त हातहतियार सार्वजनिक स्थलमा बोकेर हिँड्न रोक लगाएको छ ।

गृह मन्त्रालयले संसद् भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा लाइसेन्स प्राप्त हतियार बोकेर हिँड्न रोक लगाएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड २०८० चैतमा सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र गोलीगठ्ठासहित पक्राउ परेपछि सरकारले देशभर इजाजतप्राप्त हतियारको लगत र खोजबिनमा जुटेको थियो । त्यसपछि इजाजत हतियार प्रयोगसम्बन्धी मापदण्ड बनाउँदै गृह मन्त्रालयले दर्ता हतियार घरबाहिर लिएर हिँड्न नपाउने सूचना भदौ ३१ मा राजपत्रमा निकालेको हो ।

‘नेपाल सरकारले हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतप्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्रप्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने र इजाजतप्राप्त हतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजत लिएको कार्यालयमा इजाजत नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक सरकारी कार्यालयहरू, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानुनले निषेध गरेका अन्य क्षेत्रमा समेत लैजान निषेध गरेकोले यो सूचना प्रकाशित गरिएको छ’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ मा ‘कुनै निश्चित ठाउँमा हातहतियार, खरखजाना राख्न मनाही’ गरिने उल्लेख छ । उक्त दफामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको ठाउँमा तोकिएको कुनै किसिमको हातहतियार वा खरखजाना कुनै व्यक्तिले पनि राख्न नपाउने’ उल्लेख छ । सरकारले तोकिएका सर्त र बन्देजको अधीनमा रहने गरी तोकिएका क्षमताका हतियार राख्न सम्बन्धित व्यक्तिलाई लाइसेन्स दिन सक्ने प्रबन्ध छ । उक्त ऐनको दफा ३ ले ‘तोप, मेसिन गन र लाइसेन्स नभई हात हतियार, खरखजाना बनाउन, आफूसाथ राख्न वा अन्य स्थानमा राख्न वा राख्न लगाउन एक रूपबाट अर्को रूपमा परिणत गर्न र बिक्री गर्नसमेत मनाही’ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्