Logo
Logo
समाचार टिप्पणी

हरिबोल कि प्रचण्ड बोल ?


882
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वमा रहेको करिब चार दशक पुग्न लाग्दा समेत पार्टीमा अझै आफूलाई निर्विकल्प साबित गर्ने हरसम्भव प्रयत्न गरेका छन् । उनले आफ्ना विरोधीलाई किनारा लगाएर आफ्नो नेतृत्व जोगाउन नेताहरूलाई विभाजित गर्दै एक अर्काविरुद्ध प्रयोग गर्ने नयाँ रणनीति तय गरेका छन् । जसले गर्दा प्रचण्ड कमजोर बन्दै गएका छन् ।

प्रचण्डकै कारण बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, मोहन वैद्य, रामबहादुर थापा ‘बादल’हरू प्रचण्डलाई छाडेर बाहिरिएका छन् । प्रचण्ड जति पटक प्रधानमन्त्री भए पनि पार्टी भने ओरालो लाग्दै गएको छ । पार्टी ओरालो लाग्नुमा प्रचण्डको परिवारमोह र सत्तामोह बढी जिम्मेवार छ । अस्थिर स्वभावका कारण जति धोका खाए पनि धोकाबाट उनले पाठ सिकेका छैनन् ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र आफू अप्ठेरोमा पर्दै जान थालेपछि आगामी नेतृत्वका लागि भागीयताको आधारमा नयाँ मापदण्ड तय गरेका छन् । उनले नेताहरूलाई पूर्व र पश्चिमको आधारमा भेद छुटाउँदै एक भेगका नेतालाई उपयोग गरेर अर्काविरुद्ध प्रयोग गर्दै एकआपसमा अन्तरविरोध सिर्जना गर्न थालेको आरोप उनीमाथि लाग्दै आएको छ ।

अध्यक्ष प्रचण्डले विगतमा आफ्नो नेतृत्वमा सञ्चालित जनयुद्धमा पनि नेपालको पश्चिम क्षेत्र हाबी भएको र त्यहीबाट अधिकांश नेताहरूको उदय भएकाले अब पूर्वले नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई उक्साउन थालेका छन् । उनले उपमहासचिव गजुरेलसँग अब पार्टीको नेतृत्वमा पश्चिम हाबी हुने अवस्था देखिएकाले पूर्वका नेताहरू सचेत भएर त्यसलाई रोक्न उचित कदम चाल्न सुझाएको माओवादी स्रोतले बताएको छ ।

प्रचण्डले गत साउनमा बसेको माओवादी स्थायी समिति बैठक अगावै गजुरेलसँग भेटेर अब पूर्वी भेगका नेताहरू अघि बढ्नुपर्ने बताउँदै आफूलाई सहज हुने लिखित प्रस्ताव बैठकमा पेस गर्न आग्रह गरेका थिए । प्रचण्डको आग्रह बमोजिमको प्रस्ताव समेटेर पदाधिकारी बैठकमा पेस गरेको लिखित धारणामा गजुरेलले पार्टी कमजोर हुनुका विभिन्न कारणहरू मध्ये उनले शान्ति प्रक्रिया पछि पूर्व र सहरी क्षेत्रलाई पार्टीले उपेक्षा गरेको गुनासो राखेका थिए । त्यसो त ग्रामीण भेगमै पनि माओवादी कमजोर बन्दै गएको छ । लोभीपापी कार्यकर्ता ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ भनेजस्तै छन् । सिद्धान्त, विचार भुत्ते बन्दै गएको छ ।

उनले जनयुद्धकालमा पश्चिम क्षेत्रले उल्लेख्य भूमिका खेलेपनि शान्ति प्रक्रिया पछि भने पश्चिमलाई मात्रै महत्व दिइएको र पूर्वलाई बेवास्ता गर्नु पार्टी कमजोर हुनुको एक प्रमुख कारण रहेको उल्लेख गरेका छन् । उनको लिखित प्रस्तावमा पार्टी कमजोर हुनुको कारणहरूमा सहरी क्षेत्रलाई बेवास्ता गर्नु र एमालेसँग एकता गर्नु पनि पछिल्लो समय सांगठनिक दुरावस्थाको अर्को प्रमुख कारण रहेको लिखित रूपमै बताएका छन् ।

सोही प्रस्तावमा उपमहासचिव गजुरेलले पार्टीको वर्तमान दुरावस्थाको कारक सबै पदाधिकारी भएकाले सम्पूर्णले राजीनामा दिएर नैतिक जिम्मेवारी लिनुपर्ने मतसमेत व्यक्त गरेका थिए । यद्यपि उनी पार्टीको मूल नेतृत्वमा करिब ३६ वर्षदेखि निरन्तर रहेका प्रचण्डले नैतिक जिम्मेवारी लिनुपर्ने विषयमा भने मौन रहेका थिए ।

पार्टी नेतृत्वलाई पार्टी क्षयीकरणको कुनै पनि दोषारोपण नगरेरै अन्य पदाधिकारीलाई मात्रै नैतिक जिम्मेवारी लिन सुझाउनुले अध्यक्ष प्रचण्डकै सहमतिमा उक्त लिखित प्रस्ताव गजुरेलबाट पेस गरिएको प्रस्टै हुने एक माओवादी नेता बताउँछन् । ती नेताका अनुसार गजुरेलको स्वभावजन्य कमजोरीका कारण प्रचण्डले पटक पटक उपयोग गर्दै आएको र उनी भने त्यसमै विश्वस्त भएरै धोका खाँदै आएका छन् ।

यता प्रचण्डको दाउ भने गजुरेललाई एकपटक पुनः प्रयोग गरी आफूविरोधीलाई किनारा लगाउने र आफूमाथि देखा परेको पार्टीभित्रको तत्कालीन संकट टार्न उक्साइएको हुनसक्ने माओवादी वृत्तमा आकलन गरिएको छ ।

पूर्वमा अन्य क्षेत्रको तुलनामा सांगठनिक अवस्था बलियो रहेकाले सिन्धुलीलाई माओवादी भित्र ‘पूर्वको रोल्पा’ भनेर समेत परिचित छ । त्यहीका स्थायी बासिन्दा रहेका गजुरेललाई प्रचण्डले नेतृत्वमा अघि सार्ने आश्वासन दिँदै उपयोग गर्न थालेका छन् । प्रचण्डले पश्चिमका नेताहरूको भावी नेतृत्वमा दाबेदारी र आफूलाई पछिल्लो समय दिन थालेको चुनौतीको प्रतिरोध गर्न गजुरेललाई अघि सारेको बताइन्छ ।

तर, उपमहासचिव गजुरेलले भने सहरी र पूर्वी क्षेत्रमा सांगठनिकरुपमा पार्टी कमजोर हुनुको कारण मात्रै पदाधिकारी बैठकमा पेस गरेको जनाउँदै कसैबाट प्रयोग नभएको बताउँछन् । उनले आफ्नै अनुभवका आधारमा संगठन कमजोर हुनुका कारण पहिल्याएर आफ्नै स्वविवेकमा नै त्यो प्रस्ताव पेस गरिएको प्रस्ट्याए ।

उनले भने, ‘कसैको उक्साहट र आग्रहमा होइन मेरो आफ्नो अनुभूति र पार्टीको दुरावस्थाको कारण पहिल्याएको हुँ । यो कसैप्रति आग्रह, पूर्वाग्रह र कसैको मिलेमतोमा ल्याइएको होइन ।’ प्रचण्डले नेतृत्वको आश्वासनमा आफूलाई उक्साएको भन्ने आरोप निराधार रहेको उनले जिकिर गरे ।

माओवादी जनयुद्धको उद्गम थलो र त्यस अवधिभर प्रमुख भूमिका पश्चिम क्षेत्रको रहेको हुँदा त्यहाँबाट अधिकांश नेताहरू सहभागी भएका थिए । जनयुद्धले राष्ट्रव्यापी आकार लिँदै गर्दा उनीहरू स्वतः राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए । माओवादीमा गजुरेलसहितका ६ उपमहासचिवमध्ये अहिले तीनजना पश्चिमकै रहेका छन् ।

अहिले त्यही पश्चिमी क्षेत्रकै तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाको रुपमा रहेको रुकुमका पार्टी उपमहासचिव जनार्दन शर्माले आफ्नो ३६ वर्षे नेतृत्वमाथि चुनौती दिन थालेपछि त्यसलाई रोक्न प्रचण्डले भागीयताको कार्ड फ्याँकेको माओवादी स्रोत बताउँछ ।

माओवादीमा दोस्रो पुस्ताका नेताहरूमा अर्का पश्चिमको तत्कालीन आधार इलाका रोल्पाकै उपमहासचिव वर्षमान पुन पनि पार्टी नेतृत्वका लागि सम्भावित उदयमान नेताहरुमध्ये एक हुन् । अर्का शक्ति बस्नेत पनि माओवादीको तत्कालीन आधार इलाकाकै रुपमा रहेको पश्चिम जाजरकोटकै हुन् ।

यी उपमहासचिवत्रय मध्ये पार्टीभित्र पुन र शर्मा एक अर्काका प्रतिस्पर्धी मानिन्छन् । तर बस्नेतले भने पार्टीमा यी दुवैको तुलनामा आफ्नो प्रभाव कायम गर्न सकेका छैनन् । पुन र शर्माको दाबी पछि प्रचण्डले आठौं महाधिवेशन सम्पन्न गरेको लामो समयसम्म पनि महासचिव चयन गर्न सकेका थिएनन् । अन्ततः यी दुवै प्रतिस्पर्धीलाई पन्छाउँदै प्रचण्डले तेस्रो व्यक्ति देव गुरु ङलाई महासचिव चयन गरेका थिए ।

यी उपमहासचिवद्वयमध्ये शर्माले घोषित रूपमै नेतृत्वको विकल्पका बारेमा पार्टीभित्रै आफ्नो मत दर्ज गरिसकेका छन् भने अर्का पुन चाहिँ प्रचण्डकै पक्षमा उभिँदै तत्काल उनको विकल्प खोज्न नहुने पक्षमा देखिएका छन् । यी नेताद्वय भेगीयरुपमा पश्चिम क्षेत्रबाटै प्रतिनिधित्व गर्ने माओवादी नेतृत्वका सम्भावित दाबेदार हुन् ।

उपमहासचिव शर्माले गत स्थायी समिति बैठकमा प्रचण्डको २०४३ सालदेखिको अभिछिन्न नेतृत्व यात्रामा चुनौती दिँदै आगामी नेतृत्व चयनका लागि तीन विधिसहितको नयाँ विकल्प पेस गरेका थिए । १३ पृष्ठ लामो ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ विषयक लिखित प्रस्तावमा उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण या आगामी महाधिवेशनमार्फत लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गरिनुपर्ने प्रस्ताव पेस गरेका थिए ।

उनको प्रस्ताव पछि आफूलाई नेतृत्वमा असुरक्षित महशुस गरेका प्रचण्डले उक्त स्थायी समिति बैठक लगत्तै जारी गरेको परिपत्रमा शर्माको प्रस्तावलाई कुनै स्थान दिएका थिएनन् । आफू र महासचिव गुरुङको संयुक्त हस्ताक्षरित परिपत्रमा उल्टै पार्टी बैठकमा छलफल गरिएका विषय मिडियाकरण गरिनु पार्टी हित विपरीतको कार्य भन्दै शर्मालाई सचेत गराइएको थियो ।

यद्यपि पछिल्लो समय उपमहासचिव शर्माले पार्टीमा नयाँ नेतृत्व चयन गर्न सुझाइएको तीन विकल्पसहितको प्रस्तावले चौतर्फी दबाब बढाए पछि प्रचण्ड त्यसलाई पनि परिपत्रमा समेट्न बाध्य भएका छन् । यस अघिको परिपत्रलाई केही दिन अघि परिमार्जन गर्दै शर्माको लिखित प्रस्तावमा उठाइएका विषयलाई समेटेर पुनःपरिपत्र जारी गरिएको छ ।

यसका अलावा प्रचण्डले शर्माको प्रस्तावको पक्षधर र विरोधी पहिल्याएर आगामी रणनीति तय गर्न स्थायी समिति बैठक पछि बोलाइनुपर्ने पार्टीको केन्द्रीय समिति बैठक नबोलाएर प्रदेश स्तरमा परामर्श बैठक बोलाएका थिए । अहिले सोही परामर्श बैठकका क्रममा उनीसहितका पदाधिकारीहरु देश दौडाहामा निस्किएका छन् ।

यही बैठकमा देशभरका नेताहरूको शर्माको प्रस्तावप्रतिको धारणा बुझेर उनीहरूले दिएको सुझाएको आधारमा आगामी केन्द्रीय समिति बैठकको रणनीति तय गर्ने प्रचण्डको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्