Logo
Logo

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध


0
Shares

एजेन्सी । युक्रेनले शुक्रबार रुसी मुलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि “खतरा” रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

युक्रेन र रुस दुबैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी कियभले दिएको छ ।

‘राष्ट्रिय सुरक्षा र रक्षा परिषदले सरकारी विभाग, सैन्य संरचना र महत्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोग प्रतिबन्धित गर्ने निर्णय गर्यो’, सुरक्षा परिषद्ले फेसबुकमा एक विज्ञप्तिमा भन्यो, ‘यो राष्ट्रिय सुरक्षाको कुरा हो ।’

युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा सहित अन्य सुचना प्राप्त गर्नसक्ने आशङ्का व्यक्त गरे । ‘यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन, यो राष्ट्रिय सुरक्षाको कुरा हो’, उनले भने ।

एकजना उच्च पदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताएका छन् । टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सुचना लिक गर्नसक्ने स्रोतले जनाएको छ ।

‘नागरिकहरुले भने यसको प्रयोग गर्न सक्नेछन, कुनै प्रतिबन्ध छैन’, स्रोतले बताएको छ । टेलिग्रामका संस्थापक दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्