Logo
Logo

‘कांग्रेस-एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ’


252
Shares

इलाम । कोशी प्रदेशका अर्थमन्त्री राम रानाले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको र सङ्घमा पनि अवस्था सोहीअनुसार रहेको धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्योदय नगर कमिटी इलामको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेस–एमाले मिलेपछि देश स्थिरतातर्फ उन्मुख भएको बताएका हुन् ।

उनले भने, ‘विगतमा स्थिर सरकार नहुँदा देशमा विकास निर्माणले गति लिन सकेन । दुई ठूला पार्टीबीच सत्ता सहकार्य भएपछि अब यो सरकार र गठबन्धनलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन ।’

देशमा साना दलहरूले विचारको राजनीति नगर्दा समस्या भइरहेको रानाको आरोप लगाए । ‘भाषा, धर्म, जातिका नाममा दल बनाएर एउटा समूहलाई सामाजिक सद्भाव भड्काउन लगाउने काम हुन थाल्यो । मोलमोलाइ र किनबेचको स्थिति देखियो । मुलुक त्यसरी बन्दैन भनेर दुई ठूला दल मिल्न बाध्य भएको हौँ । अब सोहीअनुसार काम गरेर प्रमाणित गर्न आवश्यक छ’, उनले भने ।

कार्यक्रममा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको आसा पूरा गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धिको यात्रामा रहेको र नेपाली कांग्रेसजस्तो पुरानो दलसँगको सहकार्यले काम गर्न थप सहज भएको उनको भनाइ थियो ।

एमाले इलामका अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरु, प्रदेश कमिटी सदस्य देवेन्द्र विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । दुर्गादेवी भट्टराई नेतृत्वको नगर कमिटी विघटन गरी आज नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको सचिव पारस राईले बताए ।

प्रतिक्रिया दिनुहोस्