Logo
Logo

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : देउवा


756
Shares

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् । उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए ।

‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ’, देउवाले भने । उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे ।

उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए ।

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर-मर्का बुझ्नुपर्दछ’, सभापति देउवाले भने ।

सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए । ‘नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु’, उनले भने । हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ’, उनले थपे ।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याए । उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘यो ठूलो गौरवको विषय हो ।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपीपुत्र डा. शशांक कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।’ उनले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धीलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्तअनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरीब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाईएको बताए । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बिपी कोइराला कमकालीन राजनीतमा ‘क्रान्तिकारी’ बहुआयामिक नेता भएको उल्लेख गर्दै उनले विचार आदर्श कहिल्यै नमर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्