Logo
Logo
श्रीलंकामा राष्ट्रपति निर्वाचन

वामपन्थी उम्मेदवार अुनराको अग्रता, जितअगावै बधाई


630
Shares

काठमाडौं । श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकले अग्रता लिएका छन् । सुरुमा हुलाकबाट पठाइएका मतपत्रहरूको गणना गरेर शनिबार मतदानका क्रममा खसाइएका मतपत्रहरूको गणना गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि गएरातिदेखि कर्फ्यु लगाइएको छ । त्यसलाई आइतवारसम्म कायम राखिएको छ । उक्त निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसंग्रहका रूपमा हेरिएको थियो ।

अन्तराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारले सर्वोच्च पदका लागि दाबी गरेका थिए ।

यसैबीच जित हासिल गर्नुअगावै दिशनायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिंह र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका छन् । विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल एक्समा प्रारम्भिक परिणामले दिशनायकको प्रस्ट जीतको संकेत दिएको बताएका छन् ।

‘राष्ट्रपति रनिल विक्रमसिङ्घको पक्षमा जोडदार ढङ्गले अभियानमा म सहभागी भए तर श्रीलङ्काका नागरिकहरूले निर्णय गरिसकेका छन्’ उनले लेखेका छन्, ‘म अरुना कुमारा दिशानायकलाई उनीहरूले दिएको जनादेशको पूर्ण सम्मान गर्छु ।’

कोलम्बोबाट संसद्मा प्रतिनिधित्व गर्ने उनले आफूहरूले जोडतोडले अभियान चलाएको तर अब अनुरा कुमारा दिशनायक राष्ट्रपति बन्ने प्रस्ट भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् । कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन सफल नभएको खण्डमा अर्को चरणको गणनाबाट मतदाताको दोस्रो र तेस्रो रोजाइ समावेश गरिनेछ ।

को हुन् अनुरा ?

राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा ५५ वर्षका अनुरा श्रीलंकाका पहिलो मार्क्सवादी सरकार प्रमुख बन्नेछन् । सन् २००० बाट उनी निरन्तर सांसद रहँदै आएका थिए । श्रीलङ्काको न्याश्नल पिपुल्स पावर गठबन्धनका उनी नेता हुन्, जसमा मार्क्सवादप्रति झुकाव राख्ने उनको दल जभीपी आबद्ध छ ।

उनको दलले परम्परागत रूपमै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्