Logo
Logo

ओलीका प्रिय पात्र दुर्गा प्रसाईँ कसरी बने ‘प्रधान शत्रु’ ? 


567
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ कुनै समय प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र थिए । तर, आइतबार पक्राउ परेपछि उनै प्रसाईँले एक थोपो रगत रहेसम्म ओलीसँग लड्ने अभिव्यक्ति दिए । 

प्रसाईँलाई पक्राउ गर्न निजी निवास भक्तपुर पुगेको प्रहरीसँग उनले भने– ‘पक्रे जस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

प्रसाईँले ओलीलाई ‘हत्या आरोपमा जेल बसेको व्यक्ति भन्नेदेखि विदेशमा लगानी गरेको’ जस्तो आरोप सार्वजनिक रूपमै लगाउँदै आएका छन् । तर, तीनै प्रसाईँ डेढ वर्ष अघिसम्म ओलीका प्रिय पात्र थिए । 

एउटा व्यापारी दुर्गा प्रसाईँलाई राजनीतिक ‘हैसियत’ दिन ओलीले एमालेका केन्द्रीय पदाधिकारीदेखि झापा जिल्ला कमिटीका नेताहरूको आग्रह समेत लत्त्याएका थिए । नेताहरूसँगको उठबसबाट चिनिएका व्यापारी दुर्गा प्रसाईँलाई राजनीतिक रङ्गमा भने १५–१९ असोज २०७८ मा ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनमा देखिएको थियो । 

चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दुर्गा प्रसाईँ वैधानिक रूपमै प्रतिनिधि भए । झापाको कुनै कमिटीले प्रतिनिधि बन्न नदिएपछि अध्यक्ष ओलीसम्म पुगेका प्रसाईँलाई केन्द्रीय कमिटीबाटै मनोनीत गरियो । एमालेको केन्द्रीय सदस्य बनेपछि नै प्रसाईँले राजनीतिक स्पेस पाएका थिए । 

प्रसाईँ केन्द्रीय सदस्य मनोनीत गरिएकोमा अधिकांश पदाधिकारी सन्तुष्ट थिएनन् । तर कसैले पार्टी बैठकमा प्रतिकार गर्न सकेनन् ।  सार्वजनिक रुपमा चाहिँ दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट ओलीको चर्को आलोचना भएको थियो । 

तर प्रसाईँप्रति ओलीको माया यतिमै टुंगिएन । २ पुस २०७८ मा बसेको केन्द्रीय कमिटी बैठकबाट प्रसाईँ एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख बने । यसरी रातारात एमालेमा राजनीतिक हैसियत बनाइरहेका दुर्गा प्रसाईँ संघीय सांसद बन्नेतिर लागे । प्रसाईँको चाहना झापा–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने थियो । 

तर झापा–५ राप्रपाको मत लिन यो क्षेत्र राजेन्द्र लिङदेनलाई छोड्नुपर्ने ओलीको बाध्यता र झापाका नेताहरूले पनि प्रसाईँलाई उम्मेदवार बनाउन नमानेपछि उनको चाहना पुरा भएन । यद्यपि झापा–३ बाट दुर्गा प्रसाईँको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस पनि भयो । 

झापा–३ मा नमिलेपछि प्रसाईँले अर्को क्षेत्र (झापा–२) भए पनि उम्मेदवार बन्न चाहे । तर त्यहाँ देवराज घिमिरेको (अहिलेका सभामुख) बलियो दाबी थियो । जिन्दगीभर साथ दिने घिमिरेको दाबी हुँदा अग्नि खरेलले (झापा–१) समेत क्षेत्र फेर्नुपरेको थियो ।

कतैपनि उम्मेदवार बन्न नपाएर रुष्ट प्रसाईँले आमचुनावको तीन महिनाभित्रै (१ फागुन २०७९ मा) पूर्वराजा ज्ञानेन्द्रसहित उनको परिवार सहभागी गराएर सार्वजनिक कार्यक्रमकै आयोजना गरे । यसको १२ दिनपछि एमाले केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट हटायो । एमालेले हटाएपछि हिन्दुवादी संघसंस्था र वित्तीय संस्थाको चर्को ब्याजमा परेका ऋणीहरूलाई लिएर प्रसाईँ राजा फर्काउने भन्दै हिँडिरहेका छन् ।

०७४ को चुनाव अगाडि आफ्नै निवासमा ओली र प्रचण्डलाई सँगै राखेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि दुर्गा प्रसाईँ आवृत्तमा चिनिए । चुनावी अभियानमा ओलीलाई हेलिकोप्टर चढाएर ठाउँ ठाउँ पु¥याउने, भीड जम्मा गराइदिने उनै दुर्गा प्रसाईं थिए । अहिले उनै दुर्गा प्रसाईं एमालेका ‘प्रधान शत्रु’ भएका छन् ।

सबैभन्दा स्मरणीय कुरा के हो भने दुर्गा प्रसाईं एमालेबाटै पालितपोषित व्यवसायी हुन् । पार्टीमा हुँदासम्म एमालेले आर्थिक पाटोबाट उनलाई दुहुनसम्म दुहेको हो । अध्यक्ष केपी ओलीले प्रसाईंसँग कुम जोडेर मञ्चमा बस्ने गरेका थिए । 

त्यो चुनावपछि एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओली–प्रचण्डको व्यापारिक साँठगाँठको चर्चा चल्दा प्रसाईँलाई धेरैले चिने । तर नेकपाको एकता ७ पुस २०७७ मा पुगेर टुङ्गियो । 

त्यही बेला प्रसाईँले प्रचण्ड छोडेर प्रधानमन्त्री रहेका ओली रोजे । ‘हजुरबा’ सम्बोधन गर्दै त्यसबेला प्रसाईँले ओलीलाई महेन्द्रपछिको नेता भनेर समेत प्रशंसा गर्थे ।

सार्वजनिक कार्यक्रमहरूमा उनी ओलीलाई ‘हजुरबुवा’को नाता लगाउँछन् । उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट मानिन्थे । अहिले उनै प्रसाईँ राजावादी भएका छन् । र, ओलीविरुद्ध खनिने गरेका छन् । एमाले कार्यकर्ताले कालोमोसो दलिएपछि प्रसाईँ ओलीप्रति उग्र बनेका थिए । 

एक वर्षअघि काठमाडौंमा एकै स्थानमा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र प्रसाईँले आन्दोलन गर्ने घोषणा गरेपछि दुई पक्ष आमनेसामने हुने अवस्था बनेको थियो । तर स्थानीय प्रशासनले दुवै पक्षका लागि फरकफरक स्थान तोकिदियो । बल्खुमा दुई पक्षबीच ढुङ्गा हानाहान समेत भयो । 

दुर्गा प्रसाईं कुनै दूधले धोइएका महामानव होइनन् । उनको पृष्ठभूमि सङ्लो पनि छैन । घरी माओवादी, घरी एमाले हुँदै अहिले राजावादी बनेका प्रसाईं एक मौकापरस्त वाचाल अभियन्ता हुन् । उनीसँग कुनै राजनीतिक चरित्र छैन । बोलीमा अनुशासन छैन । अपुष्ट र कतिपय काल्पनिक कुरा गरेर जनतालाई भ्रमित गरिरहेका हुन्छन् ।

एमालेको दुःख यही हो । दुर्गा प्रसाईँ आफ्नै बोलीले विवादमा थिए र उनको प्रदर्शन सरकारको टाउको दुखाइ बन्नुपर्थ्यो । तर, बीचमा एमाले आयो एक प्रकारले सत्ताको रक्षाकवचका रूपमा । अनि सत्ताविरोधी जनमतजति अहिले एमालेको विरुद्धमा प्रस्टै खनिएको छ ।

प्रतिक्रिया दिनुहोस्