Logo
Logo

चीन भ्रमणमा रहेका रास्वपाका नेता र सांसदहरु आज फर्कँदै


630
Shares

काठमाडौं । चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहितका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा नेताहरु आज फर्कंदैछन् ।

पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो । जोशी आइतबार पक्राउ परेका थिए ।

चीन भ्रमणमा रहेका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ आजै फर्कन लागेको रास्वपा सचिवालयले जनाएको छ ।

चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका थिए । भ्रमण तालिका १० दिनको रहेको पनि भ्रमण छोट्याएर उनी नेपाल फर्कन लागेका हुन् ।

सहकारी बचत अपचलन, दुरुपयोग, ठगी सम्बन्धनमा छानबिन गर्न गठित संसदीय समितिले रास्वपा सभापति लामिछानलेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनीसँगै कारबाही सिफारिस भएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार दिउँसो पक्राउ परेका थिए । त्यसपछि तरंगित बनेको रास्वपाले आइतबार नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो ।

भेला भएका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताएका थिए । पार्टी पदाधिकारीहरूसँग छलफलपछि राति १० बजेतिर नेता–कार्यकर्तालाई सम्बोधन गर्न थालेका सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘मैले बुझेअनुसार अहिलेसम्म मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर ढुक्क हुने स्थिति छैन । सरकार ट्रायल गर्न खोजिरहेको छ। अनुसन्धानको कुन कसीमा उभिनुपर्छ, कहाँ सघाउनुपर्छ म तयार छु, तर एउटा मानिसलाई जसरी निरन्तर लखेट्ने र खेद्ने काम भइरहेको छ, त्यसको प्रतिवाद हुन्छ ।’

उनले केही वर्षअघि पनि मध्यरात बुट बजारेर पक्राउ गरिएको स्मरण गर्दै त्यति बेलादेखि आफूलाई अन्यायमा पारिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्