Logo
Logo

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


315
Shares

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाशीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभिन्न पाँच सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड रूपैयाँ गएको देखिएको छ ।

त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो । पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो । जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत प्रांगण पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्