Logo
Logo

स्वास्थ्यमा विवादास्पदलाई मालदार विभाग


378
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका उच्च अधिकारीहरूको व्यापक जिम्मेवारी हेरफेर गर्दै विवादास्पद कर्मचारीलाई मालदार ठाउँमा पठाएका छन् ।

स्वास्थ्य पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीहरूको व्यापक जिम्मेवारी हेरफेर गरेर कोरोना संक्रमणकालमा खरिद प्रकरणमा मुछिएकालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिएका छन् ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटालाई लगिएको छ । डा. देवकोटा कोरोना संक्रमणको बेला खरिद प्रकरणमा मुछिएका थिए ।

सो विभागमा यसअघि महानिर्देशक डा. संगीता मिश्रा थिइन् । उनलाई मन्त्रालयमा ल्याइएको छ । अतिरिक्त सचिव डा. देवकोटालाई मन्त्रालयबाट विभागको महानिर्देशकमा लगिएको हो । त्यसअघि उनी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव भएका थिए ।

उपचारात्मक महाशाखाको जिम्मेवारीमा डा. सुधा देवकोटालाई ल्याइएको छ । सुधा पनि कोशीमा हुँदा खरिद प्रकरणमा मुछिएकी थिइन् । कोशीमा भएको सिटी स्क्यान मेसिनको खरिद सेटिङमा उनी मुछिएकी थिइन् । कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब ८ करोडमा खरिद गर्न लागेको सिटी स्क्यान मेसिन डा. देवकोटासहितको मिलोमतोमा अगाडि बढेको देखिएको थियो ।

यसअघि उक्त महाशाखा प्रमुख रहेका डा. अनुप बाँस्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सरुवा गरिएको छ । स्वास्थ्य तालिम केन्द्रमा यसोदा अर्याललाई लगिएको छ । डा. अनुप भट्टचनलाई सार्क क्षयरोग केन्द्रमा पठाइएको छ ।

केन्द्रीय कारागार अस्पतालका निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालय ल्याइएको छ । केन्द्रीय कारागार अस्पतालमा सार्क क्षयरोग केन्द्रमा रहेकी डा. मनिषा रावललाई पठाइएको छ ।

विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगिएको छ । यसअघि उक्त ठाउँमा रहेका डा. श्रवण थापाको ट्रमा सेन्टरमा सरुवा भएको छ । मन्त्री पौडेलले वीरगन्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दासलाई पठाएका छन् । डा. दास यसअघि मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखामा थिए । उनको ठाउँमा डा. भीमप्रसाद सापकोटालाई ल्याइएको छ ।

निजी अस्पतालको म्यानेजर र कर्मचारी सरुवामा अहिलेका निमित्त मेसु डा. एनामुल हक विवादित बनेका थिए । डा. हक विवादित बनेपछि मन्त्री पौडेल वीरगन्जमा नयाँ मेसु पठाउनुपर्ने दबाबमा थिए । यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. सरोज शर्माले पाएका छन् । यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा डा. मदन उपाध्याय थिए । डा. उपाध्यायलाई वीर अस्पताल लगिएको छ ।

यसैगरी, कोशी अस्पतालको प्रमुख डा. रुणा झालाई लगिएको छ । यसअघि उक्त अस्पतालको मेसुमा डा. रविनराज सिंह रहेका थिए । गजेन्द्रनारायण अस्पतालको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । भेरी अस्पतालको मेसुमा डा. निराजन सुवेदीलाई नियुक्त गरिएको छ । यसअघि उक्त अस्पतालको मेसु डा. प्रकाश थापा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्