Logo
Logo

हङकङमा तेह्रथुमे ढाका बुटिकको फेसन शो : ‘सेक्मुरी युन्छो’ हुँदै


315
Shares

काठमाडौं । तेह्रथुमे ढाका बुटिक र ढाका पहिरन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले हङकङमा फेसन शो हुने भएको छ । हङकङको व्यस्त सहर जोर्डनमा यही आउँदो ५ अक्टुबर (शनिबार) ‘सेक्मुरी युन्छो’ शीर्षकमा भव्य फेसन शो आयोजना हुने भएको हो ।

याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा हङकङको जोर्डनस्थित ब्लू ओसन रेष्टुरेण्ट एण्ड बारमा हुने ‘सेक्मुरी युन्छो’मा तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङले तयार पारेका करिब चार दर्जन सिर्जनशील ढाका पहिरनहरु प्रस्तुत गरिने भएको छ ।

ललितपरको तिखेदेवलमा रहेको तेह्रथुमे ढाका बुटिकको सोलो प्रस्तुती रहने उक्त फेसन शोका लागि युगल पोमू र माया खापुङले कोरियोग्राफी गर्दैछन् । ‘सेक्मुरी युन्छो’ फेसन शोका लागि सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमका निर्देशक एवं कोरियोग्राफर यगुलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा तेह्रथुमे ढाका ब्ुटिकको विभिन्न आकर्षक पहिरनमा डेढ दर्जन मोडलहरु प्रस्तुत हुने भएका छन् ।

फेसन शोका लागि तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरुले एक महिनाभन्दा बढी समय लगाएर चार दर्जन पहिरन तयार गरेकी छन् । फेसन शोका लागि नेपाली टिपकल, कल्चरल, मोर्डन र क्याजुअल पहिरनहरु तयार पारिएको डिजाइनर निरुले बताइन् ।

तेह्रथुमे ढाका बुटिक नेपाली सेलिब्रेटीदेखि सर्वसाधारणसम्म लोकप्रिय छ । नेपाली टिपिकल एवं कल्चरल पहिरनका लागि छुट्टै ब्राण्ड बनेको तेह्रथुमे ढाका बुटिकले अन्तराष्ट्रिय स्तरमा पहिलोपटक फेसन शो गर्न लागेको हो ।

तेह्रथुमे ढाका र ढाकाबाट बनेको पहिरनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले फेसन शो गर्न लागेको कार्यक्रमका संयोजक हेमराज अन्छङबोले बताए ।

उनले भने, ‘याक्थुङ कला, संस्कृतिसँगै लिम्बू कल्चर पहिरनको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक याक्थुङ आर्टिस्ट सोसोइटीले फेसन शोसँगै सांगीतिक कार्यक्रम गर्न लागेको हो । याक्थुङ कला संस्कृति र याक्थुङ उत्पादनहरु अन्तर्राष्टिय मञ्चबाट परिचय गराउने उद्देश्यले नै कार्यक्रमको नाम नै सेक्मुरी युन्छो राखिएको हो ।’ कार्यक्रमलाई सभ्य र भव्य बनाउन तयारी भइरहेको उनले बताए ।

‘सेक्मुरी युन्छो’ फेसन शो तथा सांस्कृति कार्यक्रमलाई सफल बनाउनका लागि आयोजक कमिटिी नै बनाइएको छ । जसमा कार्यक्रम संयोजक हेमराज अन्छङबो र श्याम इङनाम रहेका छन् भने कार्यक्रम निर्देशक युगल पोमु रहेका छन् । फेसन शोको कोरियोग्राफी पनि युगलले नै गर्दैछन् । कोरियोग्राफी युगललाई माया खापुङले साथ दिएकी छन् ।

त्यस्तै, कार्यक्रमको सह–निर्देशक कलाकार समेत रहेका मौसम इम्बुङ (फुलेन्देको बाउ) रहेका छन् भने समीर तुम्बाहाम्फे, हिम सिंगक, नन्दा चाङसु र रमेश सिंगक बजार व्यवस्थापक (मार्केटिङ) रहेका छन् ।

यस्तै, यस कार्यक्रमका लागि माया खापुङ, लिलिश कन्दङ, सुमन वनेम र मुनता काम्बाङले पब्लिक रिलेशनको जिम्मेवारी वहन गरेर कार्यक्रमलाई सफल बनाउन लागिपरेका छन् । बरधोज ओख्राबु र पृथ्वी इङनामको व्यवस्थापन रहेको ‘सेक्मुरी युन्छो’ फेसन शोका लागि ट्रफि र सर्टिफिकेटको जिम्मेवारी पनि मौसमले नै लिएका छन् ।

निरु र कलाकारहरु ३ अक्टुबरमा हङकङ जाने

कार्यक्रमका लागि तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङलगायत कार्यक्रम होस्ट सेसेमी लिम्बू, गायिका अन्नु चौधरी र विकास लिम्बू ३ अक्टुबरमा हङकङ जाँदैछन् । फेसन शोका लागि पहिरनहरु तयार भइसकेको जनाउँदै निरुले भनिन्, ‘५ अक्टुबरमा हुने कार्यक्रमका लागि हामी ३ तारिखमा हङकङ जाँदैछौँ । ४ तारिखमा एक दिन आराम गर्ने र ५ तारिखको साँझ कार्यक्रम रहेको छ ।’

कार्यक्रममा नेपालबाट जाने कलाकारका अलाव हङकङमै रहेका गायिका सीता सिंगक, यादेन शेर्मा लगायतका कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्