Logo
Logo

श्रीलंकाले वामपन्थी नेतालाई राष्ट्रपति किन रोज्यो ?


315
Shares

काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले पहिलोपटक वामपन्थी राष्ट्रपति पाएको छ । श्रीलंकाको निर्वाचन इतिहासमा पहिलोपटक भएको दोस्रो चरणको मतगणनाबाट वामपन्थी नेता अनुरा कुमार दिसानायके राष्ट्रपति निर्वाचित भएका छन् ।

पहिलो वामपन्थी राष्ट्रपति दिसानायकेले सोमबार बिहानै पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । अनुरालाई मतदाताले भ्रष्टाचार विरोधी कदम उठाउने र प्रशासन मजबुत बनाउने बाचाका भरमा मतदान गरेको बताइन्छ । यसबाहेक उनले श्रीलंकालाई आर्थिक संकटबाट निकाल्ने पनि बाचा गरेका छन् ।

यस पटक श्रीलंकाको राष्ट्रपतीय निर्वाचन धेरै हिसाबले रोचक मात्र भएन, ऐतिहासिक पनि बन्न पुग्यो । विश्लेषकहरूका अनुसार यो निर्वाचन सन् १९८२ पछिको सबभन्दा रोचक राष्ट्रपतीय निर्वाचन हो ।

अहिलेसम्मका निर्वाचनमा पहिलो चरणको मतगणनाबाटै राष्ट्रपति निर्वाचित हुने गरेकोमा यसपटक त्यसो भएन । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत माथि) ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना गर्नुप¥यो ।

श्रीलंकाली निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत मत (५६ लाख ३४ हजार) ल्याएकोमा उनका निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत (४३ लाख ६३ हजार) ल्याएका थिए । रनिल विक्रमासिंघे १७.२७ मतसहित तेस्रो स्थानमा थिए। पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा थिए। उनी प्रतिस्पर्धामा निकै पछाडि परे ।

विक्रमासिंघे शीर्ष दुईमा पर्न नसकेपछि पहिलो चरणबाटै बाहिरिएका थिए । त्यसपछि दोस्रो चरणमा भएको मतगणनापछि दिसानायकेलाई बहुमत प्राप्त भएको हो । पहिलो र दोस्रो चरण गरेर उनले जम्मा ५७ लाख ४० हजार १७९ मत ल्याउँदा प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत प्राप्त गरे ।

सन् २०२२ मा श्रीलंकामा विद्रोह भएको थियो । आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा भएको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले राष्ट्रपति पद त्याग्नु परेको थियो । उक्त घटनापछि श्रीलंकामा पहिलोपटक चुनाव भएको हो ।

सन् २०२२ को प्रदर्शनमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमै प्रवेश गरेका थिए । राष्ट्रपति अनुरोको दल जनता विमुक्ति पेरामुरा यस अगाडि कहिल्यै पनि सत्ताको नेतृत्व सम्हाल्ने ठाउँमा पुगेको छैन ।

सन् २०२२ मा श्रीलंका आर्थिक संकट हुँदा अनुराका भाषण श्रीलंकामा निकै चर्चित भएको थियो । ५५ वर्षका दिसानायके श्रीलंकामा मजदुरको आवाज उठाउने मुख्य नेता मानिन्छन् । चुनावी अभियानका क्रममा उनले श्रीलंकामा व्याप्त भ्रष्टाचार समाप्त पार्ने घोषणा गरेका थिए ।

जितपछि दिसानायकेले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सदियौँदेखि हामीले जुन सपना देखेका थियौँ, त्यो आज सत्य सावित भयो । यो उपलब्धि कुनै एक व्यक्तिको कामको मात्र नभई तपाईं हजारौँको सामूहिक प्रयासको नतिजा हो । यो सपना एउटा नयाँ सुरुआतबाट मात्र साकार हुन सक्छ ।’

दिसानायकेको दल लामो समयदेखि राज्यले कडा हस्तक्षेप गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिमा केही कडा व्यवस्था ल्याउनुपर्ने पक्षमा छ । दिसानायकेले सन् २०२२ को संकटपछि निरन्तर परिवर्तनको पक्षमा वकालत गर्दै आएका थिए । त्यसका साथै उनले देशको अर्थतन्त्रलाई लयमा ल्याउन कृषि र सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् ।

२०२२ को राजनीतिक र आर्थिक संकटपछि राष्ट्रपति छानिएका दिसानायकेका अगाडि श्रीलंकाको अर्थ व्यवस्थालाई बलियो बनाउनु र लाखौँ मानिसलाई गरिबीको खाडलबाट मुक्त गर्नुपर्ने चुनौती छ ।

यही आर्थिक संकटका कारण सन् २०२२ मा श्रीलंकामा विद्रोह भएको थियो । त्यतिबेला श्रीलंकाको डलर सञ्चिति लगभग समाप्त भएको थियो । यही कारण श्रीलंका आर्थिक संकटमा परेको थियो । श्रीलंकाको सार्वजनिक ऋण ८३ अर्ब डलर पुगेको थियो भने ७० प्रतिशतसम्म मुद्रास्फिती बढेको थियो ।

यो संकटले मानिसलाई हातमुख जोर्न समेत मुस्किल बनाएको थियो । श्रीलंकाका नवौँ राष्ट्रपति दिसानायकेले राजनीतिज्ञप्रति जनताको विश्वास फर्काउन आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

दिसानायकेको पार्टी जेभीपी चीननिकट मानिन्छ  । पार्टीका संस्थापक रोहाणा विजेविराले १९८० को दशकमा भारतलाई ‘श्रीलंकाको दुश्मन’को रूपमा चित्रण गरेका थिए  । १९८७ मा श्रीलंका र भारतबीच भएको सम्झौतालाई जेभीपीले विरोध गर्दै आएको छ । श्रीलंकामा जेभीपीको भारतविरोधी र चीननिकट छवि रहेको भए पनि दिसानायकेले भारत र चीन दुवैसँगै सन्तुलित र सौहार्दपूर्ण सम्बन्ध चाहेको बताउँदै आएका छन् ।

विगत तीन दशकमा श्रीलंकाका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरे पनि यसलाई पूरा गर्न असफल भएका छन् । दिसानायकेले पनि राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाएका थिए ।

उनको पार्टी जेभीपीसँग संसदमा जम्मा तीन सिट मात्र छ । तर, उनी ‘नेसनल पिपुल्स पावर’(एनपीपी) गठबन्धनका नेता हुन् । उनले आफू निर्वाचित भए ४५ दिनभित्र संसद विघटन गर्ने वाचा गरेका थिए । यही वाचाअनुसार राष्ट्रपति निर्वाचित भएका दिसानायकेले वाचाअनुसार नै संसद् विघटन गर्न र देशलाई राष्ट्रपतीयबाट संसदीय प्रणालीमा लैजान सक्छन् कि सक्दैनन्, उनका अगाडिका दिन यसले पनि निर्धारण गर्ने छ।

प्रतिक्रिया दिनुहोस्