Logo
Logo

ओली र रवि प्रवृत्ति देशको लागि घातक


882
Shares

आज असोज ८ गते, २०८१ साल । नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भनिएकी आरजु राणा नेपालको परराष्ट्रमन्त्रीका रूपमा अमेरिकाको न्यूयोर्कमा चन्द्र–सूर्य अंकित झन्डा हल्लाएर कालो मर्सिडिजमा हुँइकिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने कतिबेला पक्राउ परिएला भनेर काठमाडौंमा त्राहिमाम् छन् । प्रहरीले कर्यापझ्याप पार्ला भनेर देश–विदेशमा भएका घण्टेहरूलाई तयार रहन उर्दी जारी गरिरहेका छन् ।

असार १५ गते २०८१ साल । आजभन्दा ठीक ८० दिन पहिलाको कुरा हो । त्यो दिन रवि लामिछाने नेपालको उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा काठमाडौंमा झन्डा हल्लाउँदै सरकारी गाडीमा हुइँकिइरहेका थिए । तर, त्यही दिन भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न प्रहरी आरजु राणालाई पछ्याइरहेको थियो । बच्नका लागि उनी ओलीनिवास बालकोट पुगेकी थिइन् । श्रीमान् शेरबहादुर देउवालाई लिएर त्यहाँ पुगेकी आरजुले भनिन्, ‘कांग्रेस तपाईंको शर्तमा प्रधानमन्त्रीसहित सबै दिन तयार छ, प्रचण्ड सरकार हटाएर एमाले–कांग्रेस सरकार बनाउनुप¥यो ।’

प्रचण्डले संसदको यही कार्यकालमा प्रधानमन्त्री हुन नदिने लगभग तय भएका ओली छटपटिइरहेका थिए । गिरिबन्धु टी स्टेट जग्गा प्रकरणको मुख पनि उनीतिरै बाइरहेको थियो । यही बेला यस्तो प्रस्ताव ओलीका लागि खुदो पल्टेजस्तै भयो । ओली तुरुन्तै आरजुको प्रस्तावमा सहमत भए । त्यसपछि आरजुले आफ्नो पछि लागिरहेको प्रहरीलाई फर्काउन प्रधानमन्त्री प्रचण्डलाई भन्न लगाइन् ।

ओलीले आफ्नो समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई तुरुन्तै फोन गरेर ‘आरजुलाई समात्नु हुँदैन’ भने । गृहमन्त्री रविले आरजुलाई पक्राउ गर्न पठाएको कुरा प्रधानमन्त्री प्रचण्डलाई थाहै दिएका थिएनन् । प्रचण्डले आफूलाई थाहा नभएको बताउँदै तुरुन्तै रविलाई फोन गरेर आरजुलाई पक्राउ नगर्न भने । त्यसपछि आरजुलाई पछ्याइरहेको प्रहरी टोली बुढानिलकण्ठको विच बाटोबाटै फर्कियो । यसरी आरजु पक्राउ पर्नबाट जोगिइन । त्यसो त उनलाई पक्राउ आदेश दिएको सूचना प्रहरीबाटै चुहिएको थियो ।

एमाले–कांग्रेस गठबन्धनको सरकार बनाउने तय गरेर देउवा र ओली छुट्टिएपछि सत्ता परिवर्तन हुन लागेको समाचार सार्वजनिक भयो । प्रचण्डले अर्को दिन ओलीलाई सोध्दा उनले भने, ‘त्यस्तो केही हैन । हामी नर्क गए पनि सँगै जाने, स्वर्ग भए पनि सँगै जाने हो ।’ यसरी ओलीले प्रचण्डलाई थाङ्नामा सुताएको अर्को दिन असार १७ गते एमाले–कांग्रेस गठबन्धनको सरकार बन्ने घोषणा भयो ।

त्यसपछिका ८० दिनमा नेपालको सत्ता राजनीतिमा भएको राजनीतिक घटनाक्रम सबैका सामु छर्लङ्गै छ । त्यस क्रममा भएको चुरो कुरो माओवादी र रास्वपा सरकारबाट बाहिरिनु हो । त्यो भनेकै प्रचण्डको प्रधानमन्त्रीत्व र रविको गृहमन्त्रीत्व सकिदा रविका दुःखका दिन सुरु हुनु हो ।

स्वभावतः सहकारी प्रकरणले नाटकीय रूपमा अर्को मोड लियो । रविले साम, दाम, दण्ड, भेद लगाएर दबाएको नेपाल प्रहरीको टाउको उठ्यो । त्यसका लागि वर्तमान सरकारको लगनगाँठो कस्ने मूल पात्र आरजु र उनका जोजोम्यान गृहमन्त्री रमेश लेखक ज्यान फालेर लागे । उनीहरूका लागि पनि यो एक किसिमको प्रतिष्ठाको लडाइ नै थियो ।

यही बीचमा सहकारी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन आयो । रवि र रास्वपाले जतिसुकै क्लिन चिट भने पनि त्यो मुतको न्यानो मात्र थियो । रविले सुरुदेखि नै मिडियाको जोड बलमा अनेक गर्न नहुने काम गरेका छन् । सहकारी प्रकरणकै कुरा गर्दा पनि ग्यालेक्सी टेलिभिजनमा हुँदा उनले जे जे गरे, त्यतिबला उनी अमेरिकी नागरिक थिए, अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर नेपाल पसेका थिए ।

सर्वोच्च अदालतले उनको उम्मेदवारी रद्द गरेर पुनः नेपाली नागरिकता लिएपछि मात्र पुनः चुनावी यात्रा वैध बनाएको पृष्ठभूमि त्यसैको दसी प्रमाण हो । यी सबै कानुनतः पटक्कै गर्न नमिल्ने हुन् । रविलाई यो सबै थाहा छ । उनी कानुनी छिद्र खोजेर अनि रास्वपाको २१ सांसदको मसल प्रयोग गरेर बच्दै आएका कमजोर कडी मात्र हुन् ।

अझ अगाडि बढ्ने हो भने त उनी दोहोरो राहदानी प्रयोगमा कुनै पनि बेला जेल जान सक्ने घाँटीमाथि स्यांगी झुन्ड्याइएका पात्र हुन् । सरकारको बहुमत पु¥याउन रास्वपाको २१ सांसद चाहिएकाले प्रचण्डले त्यो मुद्दा चलाउन नपर्ने भनेर रविको जेल यात्रा जोगाइदिएका थिए । सरकार अविच्छिन्न र निरन्तर हुन्छ । त्यसैले ओलीले महान्यायाधिवक्तालाई भनेर त्यो मुद्दा चलाउने बित्तिकै रवि कुनै पनि बेला जेल जानुपर्ने हुन्छ ।

संसारमा सबैले सबैलाई ढाँटे पनि आफूले आफैँलाई ढाँट्न सकिँदैन । रवि पनि यही संसारमा अत्यन्तै विवादास्पद विगत भएका एक सामान्य व्यक्ति हुन् । त्यसैले पनि उनले अरू सामान्य मानिस जति पनि आफूलाई ढाँट्न सक्दैनन् । उनले ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसाले रजगज गरेकै हुन् । रास्वपा भन्ने आजको पार्टीको सेरोगेट कोख ग्यालेक्सी टेलिभिजन नै हो । त्यही कोखबाटै रास्वपाका बहुमत नेता जन्मेका छन् । अर्को सत्य, ग्यालेक्सीमा रविले रजगज गरेको पैसा सूर्य दर्शनलगायतका सहकारीमा पैसा जम्मा गर्ने गरिब नेपालीको नीलो पसिनाको कमाइ नै हो । ढिलोचाँडोको कुरा मात्र हो, त्यो पैसाले रविलाई पोल्छ ।

रविको विवादास्पद पृष्ठभूमिले उनको पतन निश्चित छ । उनी बचेको भनेको एमाले–कांग्रेस नमिल्दा सरकार बनाउन चाहिने बहुमत संख्याको जोहोले मात्र हो । अब एमाले र कांग्रेस नै मिलेर सरकार बनाइ सके पछि उनको त्यो म्याजिक सांसद संख्याको जादु पनि असान्दर्भिक भैसकेको छ । एक किसिमले भन्ने हो भने बाँदरको पुच्छर लौरो न हतियार जस्तै भैसकेको छ ।

वाचाल रविलाई यो कुरा थाहा नहुने कुरै भएन । तर पनि अझै उनी आफ्नो वक्तृत्व कला र ‘कल्ट–लिडर’ बनिसकेको तथाकथित व्यक्तित्वलाई प्रयोग गरेर आफूलाई बचाउने असफल प्रयास गरिरहेका छन् । ग्यालेक्सी टेलिभिजनका पार्टनर छविलाई पक्राउ गरेपछि रवि आफ्नो पालो आएको भनेर अत्तालिएका छन् । यही क्रममा उनले चीन भ्रमणमा रहेको पार्टीको प्रतिनिधि मण्डललाई फिर्ता बोलाइसकेका छन् । उपत्यकामा रहेका नेता तथा पार्टी कार्यकर्तालाई घण्टी घरमा बोलाएर भिड्नका लागि उकासिसकेका छन् । रविले कुनै बेला संगीन आरोपमा फसेका आशाराम बापुले आफूलाई बचाउन गरेजस्ते चटक घण्टी घरमा गरेका थिए ।

रविले फेरि एक पटक रास्वपा भनेको रवि हो र रवि भनेको राजनीतिक नेता नभएर ‘कल्ट–लिडर’ हो भन्ने प्रमाणित गरेका छन् । उनले नागरिकता विवादमा सांसद खोसिदा होस् वा सहकारी प्रकरणमा जेल जान बनिरहेको पृष्ठभूमिमा सिंगो रास्वपालाई नै आफ्नो अपराध छेक्ने ढाल बनाए । यो पार्टीका अधिकांश नेताहरू पढेका हुन् वा परेका सबै उनले बजाएको चुट्कीको भरमा उनलाई जोगाउन फालिम लाग्छन् । पढेका भनिएका स्वर्णिम र सुमिनाले सहकारीमा क्लिन चिट दिदै ताली बजाइरहेको दृश्यले त्यही पुष्टि ग¥यो । उनीहरू आफ्नो व्यक्तित्व थाहै नपाई लिलिपुट बनाए । यसले गर्दा पढेका स्वर्णिम–सुनिमा र नपढेका रविमा के फरक भन्ने किसिमको प्रश्न उठिरहेको छ ।

रविका कर्तुतहरू उजागर भएर नांगेझार भइरहेको यतिबेला रास्वपा ‘अरूले गर्न हुने, रविले गर्न नहुने ? भन्ने प्रश्न गर्ने अवस्थामा पुग्यो । यो आफैँमा अत्यन्त कमजोर प्रतिरक्षा हो । सत्य के हो भने रविले गरोस् वा छविले; खराब काम खराब नै हो । गैरकानुनी काम जसले गरे पनि गैरकानूनी हो र त्यसका लागि ऊ दण्डनीय हुनै पर्छ । फेरि अर्को सत्य के पनि हो भने अरू नालायक भए भनेर रविले आफूलाई लायक नेता छान्न भनेका थिए । पुराना दल खराब भए भनेर नयाँ रास्वपाको विकल्प खोज्न भनेका थिए । जनताले पनि अर्को खराब पात्र चाहिएकाले रवि र दल चाहिएकाले रास्वपा थपेका थिएनन् ।

हो, पुरानाहरू खराब थिए र छन् । आरजुको व्यक्तित्व एक बिचौलियाकै हो । ओलीको व्यक्तित्व नीतिगत भ्रष्टाचारीकै हो । उनीहरू चोखा छैनन् । २०४७ सालपछिको व्यवस्थामा यो वा त्यो नाममा सत्ताको नजिक रहेका यिनीहरूका हात अनेकौँ कुकर्म र भ्रष्टाचारका गार्भेजमा चोबिएका छन् । अहिले कांग्रेस–एमाले गठबन्धन पनि देशको आवश्यकता हैन, भुटानी शरणार्थी प्रकरणमा आरजुलाई र गिरीबन्धु टी स्टेट प्रकरणमा ओलीलाई जोगाउने प्रपञ्च नै हो । प्रचण्ड सरकार नगएको भए आरजु जेलमा र ओली त्यही बाटोमा अलि पर पुगिसकेका हुन्थे । ओली र आरजु आआफ्ना पार्टीका कमजोर कडी हुन् । उनीहरू समाधान हैनन्, देशका लागि समस्या हुन् ।

यो सिक्काको अर्को पाटो हो । तर, उनीहरूलाई कानूनी दायरामा ल्याउन सकिएको वा दिइएको छैन । आज पनि उनीहरूसँग देशको संसदमा झन्डै दुई तिहाइ बहुमत छ । त्यो बहुमत नेपाली जनताले नै दिएका हुन् । हो, २०७९को चुनावमा नेपाली जनता जनार्दन भएनन् । तर, त्यसो भनेर उनीहरूको आवधिक मतलाई त्यो अवधिका लागि अस्वीकार गर्ने हैसियत लोकतन्त्रमा कसैलाई छैन । रवि जुन जनमतले चौथो ठूलो दलको नेता भए त्यही जनमतले आरजुका पति र ओली पनि क्रमशः पहिलो र दोस्रो ठूलो दलका नेता भएका हुन् । त्यसैले आफ्नो मत चाहिँ जनमत र उनीहरूको मतचाहिँ भुस भन्न मिल्दैन । त्यही जनमत प्रतिनिधित्व भएको संसदीय समितिले सहकारी प्रकरणमा रविको कैफियत भेटाएको हो । त्यो कैफियत नभएको पनि हैन,भएकै हो ।

यो स्तम्भकार ओली र रवि पात्र र प्रवृत्तिका हिसाबले एकै ड्याङ्का मुला ठान्छ । रविलाई पूर्वउपप्रधान तथा गृहमन्त्री बनाउन ओलीकै निर्णायक योगदान छ । तर, त्यो व्यक्तित्व ओलीले रविको फाइदाका लागि बनाइदिएका हैनन्, आफ्नै फाइदाका लागि बनाइदिएका हुन् । एक किसिमले भन्ने हो भने ओलीले रविलाई सिरू घाँस खुवाएर टाट्नामा बाँधेका खसी जस्तै हुन् । सूर्य थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनाइएको पनि त्यही रणनीतिको हिस्सा थियो । तर, त्यो सबै के का लागि थियो भन्ने रविले दसैँको मुखमा मात्र थाहा पाए ।

ग्यालेक्सी पार्टनर छवि पक्राउपछि छटपटिएका रविले ट्विटेका छन्, ‘न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि…’ । यो स्तम्भ लेखिरहेको बेला त्यो भोलि आएको छैन । तर, ओलीलाई पात्र र प्रवृत्तिका रूपमा नजिकबाट बुझेको एक अक्षरकर्मीका रूपमा के भन्न सक्छु भने त्यो भोलि ओलीका लागि भन्दा पनि रविका लागि नै कष्टप्रद भएर आउनेछ ।
किन ? यसको उत्तर प्रस्ट छ, रविका खुट्टा अनेक किर्ते र कुकृत्यको भासमा छन् । उनको जीवन नै अनेकौँ गैरकानूनी कामको श्रृङ्खला हो । इखालु ओलीलाई कुन अंगमा हान्यो भने रवि ढल्छन् भन्ने राम्ररी थाहा छ । धेरै गरिरहनै पर्दैन, ओलीले न्युयोर्कबाट महान्यायाधिवक्तालाई फोन गरेर दोहोरो राहदानीको फाइल खोल्न लगाउने बित्तिकै रविको जेलको बाटो खुल्छ, ओलीले सहकारीतिर आँखा सन्काउनै पर्दैन ।

समग्रमा समस्याहरूको अँध्यारो सुरूङतिर धकेलिएको नेपाली राजनीति अरू जटिल हुदैछ । यसलाई थप जटिल बनाउन कुनै समय हल बाँधेर नारिएका रवि र ओली यतिबेला आमनेसामने भएका छन् । यिनीहरू पात्र मात्र हैनन्, प्रवृत्ति हुन् र कुनै पनि अर्थमा नेपालका लागि समाधान हैनन्, समस्या हुन् । रवि जेल नपुगुञ्जेल नेपाली राजनीतिका आगामी केही दिनहरू रवि भर्सेस ओली हुने सम्भावना बढ्दो छ । रवि जेल पुगेका दिन रास्वपा भन्ने घण्टीको रालो पनि झर्नेछ । त्यसपछि उनका भक्तहरू पनि जुम्राले लास छोडेरै घण्टी छोडेर चमर बजाउन थाल्नेछन् । नेपालको स्वार्थ केन्द्रित राजनीतिमा त्यो पहिलो दृश्य हैन, यस्ता दृश्यहरू धेरै पटक मञ्चन भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्