Logo
Logo

डिआइजी आचार्यलाई मधेशको कमाण्ड


1.8k
Shares

काठमाडौं । नेपाल प्रहरीका डिआईजी लालमणि आचार्य सँधै कमाण्ड पाउने एक भाग्यमानी प्रहरी अधिकृत हुन् । कांग्रेससँग निकट रहेका उनलाई धनुषाका विमलेन्द्र निधि दाहिना हुँदा भाग्यमानी अधिकृतका रुपमा दर्ज भएका छन् ।

प्रहरीभित्रै समकक्षीहरूले उनको शारीरिक बनोट तथा सरुवाको अवस्थालाई नियालेर ‘मालदार’ प्रहरी अधिकृत भनेर जिस्काउने गरेका छन् । पछिल्लो पटक मधेश प्रदेशको कमाण्ड दिइएपछि विरोध भएको छ । प्रहरीभित्र कमजोर कमाण्ड भएकालाई गृहमन्त्री रमेश लेखकले निधिको दबाबमा मधेस पठाएको भन्दै विरोध सुरु भएको हो । ‘उनी पटक पटक मालदार ठाउँको कमाण्ड पाउने प्रहरी अधिकृतका रुपमा परिचित छन्, यसपटक पनि उनलाई मधेश प्रदेश दिएर त्यहाँको तस्करीलाई मलजल गरिएको छ’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने ।

मधेश प्रदेशमा रहेका डिआइजी यज्ञविनोद पोखरेललाई तस्करहरूसँग पैसा असुल गरेको आरोप लागेपछि उनको ठाउँमा आचार्यलाई पठाएको हो । गृहमन्त्री लेखकले आचार्यलाई मधेस प्रदेशको कमाण्ड दिएर पठाएका थिए ।

जबकि, त्यसभन्दा अगाडि उनै आचार्य कर्णाली प्रदेशमा रहँदा कमजोर कार्यसम्पादन भएको भन्दै उनी तानिएका थिए । उनलाई अहिले मधेश प्रदेशको जिम्मेवारी दिएपछि प्रश्न उठेको हो । गत पुसमा कर्णाली पुगेका उनी केही महिनामै फिर्ता भएका थिए ।

त्यसबेला उनलाई त्यहाँबाट ल्याएर नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सरुवा गरिएकोमा अहिले मधेश प्रदेश पठाइएको हो । डिआइजी आचार्यले लगातार तीन कमाण्ड पाएका छन् । प्रहरी नियमावली अनुसार पनि यसरी एकै व्यक्तिलाई तीन कमाण्ड दिन मिल्दैन । खासगरी मधेशमा ठूलो तस्करीको सञ्जाल छ । उनलाई मधेश पठाउनुअघिका डिआईजी पनि सोही तस्करीकै कारण तानिएका हुन् । आचार्य यसअघि पनि मधेश प्रदेश बसेका थिए । उनी धनुषाको प्रमुख भएर समेत बसिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँको मुद्धा शाखामा रहेका बेला देखिनै उनलाई चिन्ने जान्नेहरु मिलाएर काम गर्न जान्ने अधिकृतका रुपमा लिन्छन् । खासै चर्चामा आउन नचाहने तर मालदार ठाउँभने नछाड्ने अधिकृतको परिचय बनाएका आचार्यलाई लामो समयदेखि कांग्रेसका नेता कार्यकर्ताहरुले साथ दिदै आएका छन् ।

प्रहरी प्रधानकार्यालय यसपटक आचार्यलाई मधेश प्रदेश पठाउन चाहेको थिएन । नयाँ डिआइजीहरु मध्ये कोही एकलाई पठाउन चाहेको भएपनि आचार्यलाई रोक्न सकेन । ‘विमलेन्द्र निधिको दबाबलाई गृहमन्त्रीले थेग्न सकेनन’, स्रोतले भन्यो ।

यसैगरी अर्का डिआइजी अर्जुन चन्द ठकुरीले आफ्नो राजशी ठाँट देखाएका छन् । कर्णाली प्रदेशका प्रमुखसमेत रहेका डिआईजी अर्जुन चन्द ठकुरीले मदिराले लठ्एिर राजसी उपद्रो मच्चाएका हुन् । विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन् ।

स्रोतका अनुसार उनले कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए । त्यसपछि उनी कार्यालयबाटै भागेका थिए । कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए। त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई प्रदेश कार्यालय फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्