Logo
Logo

भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नभन्दा वाणिज्य मन्त्रालयका सचिव लखेटिए


1.1k
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका नीतिगत भ्रष्टाचारमा साथ नदिने भएपछि वाणिज्यतर्फका सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको (खेदिएको) छ । उनी जुन निकायमा बस्दा पनि हक्की स्वभावका र भ्रष्टाचारका विरोधी भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीकै विशेष चासोमा उनलाई खेदिएको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलमा १० प्रतिशत इथानोल (ऊखुमिलबाट उत्पादन हुने) मिसावट गर्ने चलखेलमा साथ नदिने भएपछि प्रधानमन्त्री ओलीले नै उनलाई हटाएर भर्खरै सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई वाणिज्य मन्त्रालयमा ल्याइएको छ । बुर्लाकोटी १ महिनाअघि २०८१ साउन १४ मा वाणिज्य मन्त्रालयमा सरुवा भएका थिए । वाणिज्यमा सरुवा भएको एक महिनामै भदौ २७ गते उनलाई तथ्यांक कार्यालयमा लखेटिएको छ ।

मेरियट होटलका मालिक शशिकान्त अग्रवालहरूले पेट्रोल र डिजेलमा मिसाउनका लागि आवश्यक पर्ने इथानोल नेपालकै ऊखु मिलबाट उत्पादन गरी दिनेगरी ओलीलाई सहमत गराएका छन् । नेपालका उखु उद्योगबाट त्यति धेरै परिमाणमा इथानोल उत्पादन हुनै नसक्ने र शशीकान्तहरूले जसरी भारतबाट तस्करीको चिनी ल्याउने र नेपालमा उत्पादित भनेर बिक्री गर्दैआएका छन्, इथानोल पनि त्यसैगरी तस्करीबाट ल्याउने र निगमलाई बिक्री गर्ने डिजाइन थाहा पाएपछि बुर्लाकोटीले त्यसमा साथ नदिने अडान राखेका थिए । त्यसैले उनी त्यहाँबाट खेदिए ।

बालुवाटारका विश्वासपात्र शशीकान्त अग्रवालहरूको डिजाइनमा साथ नदिएपछि बुर्लाकोटीलाई १ महिनामै सरुवा गरी कार्कीलाई ल्याइएको छ । शशीकान्तहरूको योजनाअनुसार उनीहरूसँग इथानोल खरिद गर्नेगरी आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट सहमत भइसकेका छन् । पद सुरक्षित गर्न उनले शशीकान्तहरूको योजनामा साथ दिने भएपछि बाधक बनेका सचिव बुर्लाकोटीलाई उनीहरूले सरुवा गराएको स्रोतले बताएको छ ।

मेरियट होटलका मालिक शशिकान्त अग्रवालहरूले पेट्रोल र डिजेलमा मिसाउनका लागि आवश्यक पर्ने इथानोल नेपालकै ऊखु मिलबाट उत्पादन गरी दिनेगरी ओलीलाई सहमत गराएका छन् । नेपालका उखु उद्योगबाट त्यति धेरै परिमाणमा इथानोल उत्पादन हुनै नसक्ने र शशीकान्तहरूले जसरी भारतबाट तस्करीको चिनी ल्याउने र नेपालमा उत्पादित भनेर बिक्री गर्दैआएका छन्, इथानोल पनि त्यसैगरी तस्करीबाट ल्याउने र निगमलाई बिक्री गर्ने डिजाइन थाहा पाएपछि बुर्लाकोटीले त्यसमा साथ नदिने अडान राखेका थिए । त्यसैले उनी त्यहाँबाट खेदिए ।

आयल निगमले पेट्रोल र डिजेलमा मिसाउने इथानोल खरिद गर्ने निर्णय गराउनासाथ त्यसमा अर्बौंको चलखेल हुनेछ । नेपालका अधिकांश चिनी मिलमा शशीकान्त अग्रवालको लगानी छ । र, ती चिनी मिल सबै भारतीय सीमा क्षेत्रनजिक छन् । ती चिनी मिलमा रातभर भारतबाट तस्करीको चिनी ल्याउने र नेपालका उद्योगबाट उत्पादित भनेर बोरामा प्याक गरी बिक्री गर्ने गोरखधन्दा विगत १५ वर्षदेखि चल्दैआएको छ ।

२०७४ अघि त तस्करीको चिनी नेपालबाट उत्पादित भनेर बिक्री गर्ने र भ्याट मात्रै अर्बौं फिर्ता लिने गरिएको थियो । स्वतन्त्र अडिट गर्ने हो भने नेपालका चिनी उद्योगबाट उत्पादित चिनीले बजारको आधा माग पनि धान्न सक्दैन । तर, तस्करीको चिनी ल्याएर नेपालबाट उत्पादित भन्दै बिक्री गर्ने क्रम रोकिन सकेको छैन ।

स्रोतका अनुसार, वाणिज्य विभागले भारतले दिने भनेको १९ हजार मेट्रिकटन चिनी ल्याउनसमेत शशीकान्तहरूले नै रोक्न सफल भएका छन् । चिनी ल्याउनका लागि आवेदन दिएका कम्पनीहरूले एलसी खोल्नसमेत चासो नदिएकाले शशीकान्तहरूले उक्त चिनी ल्याउन रोकेको आशंकालाई पुष्टि गरेको छ ।

चाडबाडमा हुँदै आएको चिनी अभाव रोक्नका लागि भारत सरकारले दिएको १९ हजार मेट्रिकटन चिनी आयातका लागि प्रक्रिया अगाडि बढाइएको थियो ।

उद्योगीले ल्याउन नसक्ने भएपछि मन्त्रालयले वाणिज्य विभागमार्फत ट्रेडिङ कम्पनीहरूलाई चिनी आयातका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

सोही निर्देशन बमोजिम विभागले ७३ वटा फर्महरूलाई सूचीकृत गरेको र त्यसमध्ये फस्ट कम फष्ट सर्भिस अन्तर्गत सुरु दर्ता भएका ७ वटा कम्पनीलाई एक साताको समय दिएर चिनी आयातको अनुमति दिएको थियो ।

यसरी अनुमति पाउनेहरूमा मयुरी ट्रेडलिंक भक्तपुर, प्रणाम ट्रेडर्स विराटनगर, शिवाय इन्टरनेशनल विराटनगर, विशाल ट्रेडलिंक काठमाडौँ, प्रणाम इन्टरनेशनल विराटनगर, सिजन इन्टनरनेशन बालाजु र शिवशंकर ट्रेड कन्सर्न मित्रपार्क छन् ।

उनीहरूलाई गएको साउन ३१ गते चिनी आयातका लागि ७ दिनभित्र प्रक्रिया सुरु गर्न विभागले नै सूचना जारी गरेको थियो । तर त्यो म्यादभित्र चिनी आयातको प्रक्रिया थाल्नु त कता हो कता ? विभागलाई डीजी पौडेललाई रिझाएर उनीहरूले भदौ १५ गतेसम्म म्यादथप गर्न सफल भए ।

भदौ ७ गतेसम्म आयातको प्रक्रिया नथाल्ने ती ७ वटा फर्ममाथि कारबाही गर्ने सूचना जारी गरेको विभागले उल्टै उनीहरूको म्याद थपेर पुरस्कृत गर्ने काम गरेको थियो ।

७ वटा फर्मले चिनी नल्याएमा बाँकी ८ देखि ७३ सम्मका इच्छुक फर्महरूलाई चिनी आयातका लागि अनुमति दिने प्रक्रिया अगाडि बढाउनुपर्ने विभागले झन्डै १ महिनादेखि चलखेलका आधारमा आयातको प्रक्रिया नै नथाल्ने ७ कम्पनीलाई पुरस्कृत गरी अगाडि बढ्यो ।

भारतले सेप्टेम्बर ३० सम्म चिनी आयातका लागि नेपाललाई कोटा दिएको हो, तर सेप्टेम्बर दोस्रो हप्तासम्म प्रक्रिया नै सुरु हुनसकेको छैन । स्रोतका अनुसार ७ फर्मको नाजायज प्रलोभनमा परेर विभागका महानिर्देशक पौडेल कोटाको चिनी नल्याउने षडयन्त्रमा लागेको आरोप छ ।

नेपालका चिनी उद्योगी शशीकान्तको प्रभावमा तस्करीको चिनी निर्धक्क ल्याएर कालोबजारी हुन दिने र उद्योगीहरूले सिजनमा समेत गोदाममा लुकाउँदै चिनीलाई चाडबाडको मुखमा मूल्यबृद्धि गरी बिक्री गर्न छुट दिने विभागको नेतृत्वको तयारी रहेको बुझिएको छ ।

त्यसो त, प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग मन्त्री दामोदर भण्डारी दशैँको मुखमा भारत तस्करी हुने सुपारी, केराउ र पोस्तादानाको आयात खुल्ला गर्ने खेलमा लागेका छन् । विगतमा ओली प्रधानमन्त्री र लेखराज भट्ट उद्योगमन्त्री हुँदा अरबौंको सुपारी, केराउ र पोस्तादानाको आयात प्रधानमन्त्री ओलीका पूर्व आर्थिक सल्लाहकार मोतिलाल दुगडहरुले गरेका थिए । त्यसपछि बन्द भएको सुपारी, केराउ र पोस्तादानाको आयात खुल्ला गर्ने चलखेल भएको छ । त्यसमा पनि बुर्लाकोटी बाधक भएपछि उनको सरुवा भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्