Logo
Logo

देशदेखि विदेशसम्म ओलीको विरोध


1.7k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न देशका राष्ट्रप्रमुखहरूको भेटघाटमा व्यस्त छन् ।

न्यूयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेश, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार सेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह लगायतसँग साइडलाइन वार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीको विभिन्न राष्ट्रप्रमुखहरूसँगको साइडलाइन भेटवार्तासँगै आइतबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रवासी नेपालीहरूको तर्फबाट स्वागतको कार्यक्रम तय गरिएको थियो ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, जनसम्पर्क समिति अमेरिका, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, मधेसी एशोसिएसन इन अमेरिका, गैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टर लगायत नेपाली समुदायको आयोजनामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम भने सुरक्षा संवेदनशीलताको कारण जनाउँदै स्थगित गरिएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सूचना नै जारी गरी सुरक्षा संवेदनशीलताको कारण कार्यक्रम स्थगित गरिएको जानकारी गराएको छ । स्वागत समारोह स्थलको सुरक्षा संवेदनशिलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखेर अन्तिम समयमा आएर कार्यक्रम स्थगन गरिएको थियो ।

खासगरी न्यूयोर्कमा अवस्थित नेपाली समुदायले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत गर्ने तयारी गर्दै गर्दा नेपालीहरूको असन्तुष्टि पनि उत्तिकै थियो । त्यसैले स्वागतकै क्रममा प्रधानमन्त्री ओलीको विरोध र अपहेलना हुने खालका गतिविधि हुन सक्ने देखिएपछि एकाएक कार्यक्रम स्थगित गरियो ।

तर कार्यक्रम स्थगित गरिएको भनी सूचना जारी गर्नुअघि नै प्रधानमन्त्री ओलीमाथि दुर्व्यवहार भएको भनी सनसनी फैलिएको थियो । त्यसो त पछिल्लो समय प्रधानमन्त्री ओलीको जताततै विरोध हुन थालेको छ । असोज तीन गते संविधान दिवसको अवसरमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीकै अगाडि काठमाडौं महानगरका मेयर बालेन शाहको पक्षमा हुटिङ चल्यो ।

दरबारमार्गमा आयोजित कन्सर्टमा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल र पत्नी राधिका शाक्यसहित सहभागी भएका थिए । क्याप, जिन्स पाइन्ट र ट्र्याकमा पुगेका प्रधानमन्त्री ओलीले सहभागीहरूलाई कन्सर्टको मनोरञ्जन लिन आग्रह गरे । स्टेजमा उक्लिएर उनले संविधान दिवसको शुभकामना पनि दिए । त्यसक्रममा मेयर बालेनका समर्थकहरूले ‘बालेन, बालेन’ भन्दै हुटिङ गरे ।

पछिल्लो समय जात्रा तथा विशेष समारोहमा बालेनका समर्थकहरूले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरू पुगेका बेला उनीहरुको विरुद्ध नाराबाजी गर्ने गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध पनि हुटिङ भएको थियो । गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो । त्यहाँ युवाहरूले सङ्गठित रूपमै ओली र देउवाको विरोधमा हुटिङ र नारा जुलुस गरेका थिए ।

अहिले राजनीतिक दल र तिनका नेताको कारण आम नागरिकमा चरम वितृष्णा छ । नागरिकले हरेक स्थानमा निराशा पोखिरहेका छन् । नागरिकको जल्दोबल्दो विषयमा दल र नेताहरू जिम्मेवार नबन्दा जनता आक्रोशित बनेका छन् । तर, सत्तामा बसेकाहरूले अझै पनि नागरिकको निराशा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्ने चासो दिएको छैन । त्यसैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अमरेशकुमार सिंहसम्मले जनतामा आक्रोश र निराशाको आगो बढ्दै गएको बताएका छन् ।

तर, प्रधानमन्त्री ओलीको बुझाइ भने परिचालित रुपमा आफूविरुद्ध नाराबाजी हुने गरेको भन्ने छ । राज्यको प्रकृति सरकार र जनतालाई जोड्ने हो । कुनै विरोध र असन्तुष्टि आउनेबित्तिकै अन्तर्राष्ट्रिय तत्त्व र घुसपैठ भनिदिँदा समस्या पहिचानमा चुकिन्छ । नागरिकले असन्तुष्टि देखाउनु सचेत हुने मौका पनि हो । तर, नेताहरू आफू सुध्रिनुको साटो समाजमा अराजकता बढ्दै गएको अभिव्यक्ति दिने गरेका छन् । नेताहरूको यस्तो अभिव्यक्ति उनीहरूकै लागि घातक बन्दै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्